अर्जेन्टिनाको टिमलाई भेट्न चाहन्छन् डिएगो म्याराडोना

अर्जेन्टिनाका लेडेण्ड डिएगो म्याराडोनाले विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलअघि अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन् ।

अर्जेन्टिनाले आउँदो मंगलबार समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । क्रोएसियासँग ३–० ले पराजित भएपछि दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई अन्तिम १६ मा पुग्ने सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ ।

टिमको पछिल्लो प्रदर्शनबाट निकै रिसाएका तथा अक्रोशमा रहेका म्याराडोनाले अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडिओ तापिएको आलोचना गरेका छन् ।

क्रोएसियासँगको हारपछि अर्जेन्टिनी फुटबलले धेरै मुल्य चुकाउनु पर्ने अवस्था आएको उनले बताएका छन् । सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा म्यराडोनाले गोल्डेन बल जितेका थिए ।

म्याराडोनाले आफू प्रशिक्षक जर्ज साम्पाओलीको टिमका खेलाडीलाई भेट्न इच्छुक रहेको बताएका छन् । उनले आफ्नो साथमा आफ्ना पुराना साथी खेलाडीलाई पनि लैजाने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजन तेलेसुरसँगको अन्तर्वार्ताको क्रममा म्याराडोनाले भने, ‘हामी हाम्रो सम्मान बचाउने अभियानमा छौँ ।’

उनले अघि भने, ‘म निकै उदास र निराश छु, किनकी अर्जेन्टिनाको जर्सी लगाएको कोही पनि क्रोएसियाबाट त्यसरी पराजित भएको देख्न सक्ने अवस्थामा हुँदैन । त्यो हार जर्मनी, ब्राजिल, नेदरल्याण्डस वा स्पेनबाट थिएन ।’

एएफएको कमजोरीका कारण यस्तो भएको उनको भनाई छ ।

असार ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्