विश्वकप २०१८ : अन्तिम १६ समिकरण

कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत सोमबारदेखि समूह चरणका अन्तिम खेल सुरु हुँदै छन् । ८ समूहमा रहेका ३२ देशमध्ये १६ देशले अघिल्लो चरणमा स्थान पक्का गर्ने छन् ।

त्यसमध्ये समूह चरणका दुई खेल सकिँदासम्म ६ देशले अन्तिम १६ को यात्रा तय गरेका छन् । अझै १० सिट खाली छ र भयो अन्तिम चरणको खेलले टुंगो लगाउने छ ।

अंक फरक पर्‍यो भने त समूहको विजेता वा उपविजेता चयनका लागि समस्या हुने छैन र अघिल्लो चरण पुग्ने टिमको पनि टुंगो सजिलै लाग्ने छ ।

तर अंक बराबर भएको अवस्थामा भने अघिल्लो चरण पुग्नका लागि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले विभिन्न आधारहरु तय गरेको छ ।

१) गोल अन्तर
२) गरेको गोल संख्या

यसरी पनि छुट्याउन सकिएन भने…

३) समूह चरणमा भएका खेलमा सम्बन्धित टिमसँगको खेलमा धेरै अंक बटुलेको टिम (जस्तै : ए र बी टिम अघिल्लो चरण प्रवेशका लागि प्रतिस्पर्धामा छन् भने उनीहरुले एकअर्कासँगको खेलमा बटुलेको अंक)

४) सम्बन्धित टिमसँगको खेलमा रहेको गोलअन्तर (जस्तै : ए र बी टिम अघिल्लो चरण प्रवेशका लागि प्रतिस्पर्धामा छन् भने उनीहरुले एकअर्कासँगको खेलमा रहेको गोल अन्तर)

५) समूह चरणका सबै खेलमा गरेको गोल संख्या

यसको आधारमा पनि छुट्याउन सकिएन भने…

६) समूह चरणका खेलमा टिमको फेयर प्ले, अर्थात समूह चरणका खेलमा पहेँलो वा रातो कार्ड कम पाएको टिम
यसरी पनि नभएमा

७) फिफाको आयोजक कमिटिले ड्र गर्नेछ ।

समूह ए


यो समूहबाट आयोजक रुस र उरुग्वेले अन्तिम १६ मा स्थान बनाएका छन् । अब उरुग्वेसँगको खेलमा हारबाट जोगिएमा रुस समूह विजेता बन्ने छ । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।

समूह बी


यो समूहमा अवस्था केही फरक छ ।

मोरक्कोसँगको खेलमा बराबरी गरेमा पनि स्पेन अघिल्लो चरण जानेछ । तर स्पेन हारेमा पनि उसको सम्भावना छ । त्यसका लागि पोर्चुगल इरानसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ वा यो खेलमा कम गोलको बराबरी भएमा स्पेन मोरक्कोसँग एक गोल अन्तरले मात्रै पराजित भएको हुन पर्छ अघिल्लो चरण प्रवेशका लागि ।

पोर्चुगलको कुरा गर्दा इरानसँगको खेलमा बराबरी गरेमा पनि उ अघिल्लो चरण जाने छ । यदी स्पेन र पोर्चुगल दुवै पराजित भए भने बढी गोल अन्तरले पराजित हुने टिम बाहिरिने छ । यदी दुवै टिम विजयी भए भने बढी गोल अन्तरले विजयी हुने टिम समूह विजेता बन्ने छ ।

यो समूहको शीर्ष दुईमा रहेका टिमको अंक, गरेको गोल र गोल अन्तर समान छ । अन्तिम खेल पछि पनि यस्तै रह्यो भने फेयर प्लेका आधारमा समूह विजेता छानिने छ । यसरी हेर्दा अहिलेसम्म स्पेनले एउटा तथा पोर्चुगलले दुईवटा पहेँलो कार्ड पाएका छन् ।

इरानले पोर्चुगलसँगको खेल जितेमा उसले अघिल्लो चरणमा स्थान बनाउने छ र स्पेनले मोरक्कोमाथि जित ननिकालेमा उ समूह विजेता पनि बन्न सक्नेछ ।

समूह सी


यो समूहबाट फ्रान्सले अघिल्लो चरणमा स्थान बनाएको छ । डेनमार्कसँगको खेलमा एक अंक मात्रै बटुलेमा पनि उ समूह विजेता बन्नेछ ।

फ्रान्ससँगको खेलमा बराबरी र अस्ट्रेलियाले पेरुलाई हराउन नसकेमा डेनमार्क अघिल्लो चरण पुग्नेछ । फ्रान्सलाई हराउन सकेमा भने डेनमार्क समूह विजेता बन्नेछ ।

अस्ट्रेलियाको सम्भावनाका लागि उसले पेरुलाई हराउनु पर्नेछ र गोल अन्तर पनि डेनमार्कको भन्दा बढी हुनु पर्नेछ ।

समूह डी


यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ र आइसल्याण्डसँगको खेलमा बराबरी गरेमा उ समूह विजेता बन्नेछ ।

अर्जेन्टिनामाथि जित निकालेमा नाइजेरिया छनौट हुनेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई नहराएको अवस्थामा नाइजेरियाका लागि अर्जेन्टिनासँगको खेलमा बराबरी पनि काफी हुनेछ ।

अर्जेन्टिना र नाइजेरियाको खेल बराबरी भएको अवस्थामा आइसल्याण्डको सम्भावना रहन्छ । त्यसका लागि क्रोएसियालाई दुई गोल अन्तरले हराउनु पर्नेछ र नाइजेरियाले भन्दा एक गोल बढी गर्नु पर्नेछ ।

अर्जेन्टिनाको सम्भावनाका लागि नाइजेरियालाई हराउनु पर्नेछ । यस्तै आइसल्याण्डले क्रोएसियालाई हराउनु हुनेछैन । आइसल्याण्डले क्रोएसियालाई हराएको अवस्थामा पनि अर्जेन्टिनाको सम्भावना रहन्छ ।

तर त्यसका लागि आइसल्याण्डले जितेको भन्दा दुई गोल बढीले अर्जेन्टिनाले नाइजेरियालाई हराउनु पर्नेछ । यस्तोमा बराबरी भएमा फेयर प्लेका आधारमा निर्णय हुनेछ । अर्जेन्टिनाले तीन पहेँलो कार्ड पाएको छ भने आइसल्याण्डले एउटा पनि पाएको छैन ।

समूह ई


अन्तिम १६ मा स्थान बनाउनका लागि सर्बियासँगको खेलमा ब्राजिललाई बराबरी काफी हुन्छ ।

ब्राजिल र स्वीट्जरल्याण्ड दुवैले खेल जितेमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । ब्राजिलले तीन तथा स्वीट्जरल्याण्डले चार पहेँलो कार्ड पाएका छन् । ब्राजिल सर्बियासँग तथा स्वीट्जरल्याण्ड कोस्टारिकासँग परातिज भएमा दोस्रो स्थानको निर्णय पनि यही प्रक्रियाबाट हुनेछ ।

कोस्टारियकासँगको खेलमा कम्तिमा बराबरी वा सर्बिया ब्राजिलसँग पराजित भएमा स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुग्ने छ ।

यदी स्वीट्जरल्याण्ड एक गोलले पराजित भएमा र सर्बियाले बराबरी गरेमा गोल गरेका आधारमा दोस्रो स्थानको टुंगो लाग्नेछ । दुवै टिमको गोल पनि बराबरी भएमा स्वीट्जरल्याण्ड अघि जानेछ किनकी उसले सर्बियालाई हराएको छ ।

समूह एफ


स्वीडेनसँगको खेलमा बराबरी गरेमा मात्रै पनि मेक्सिको अन्तिम १६ मा समूह विजेताको रुपमा जानेछ । जर्मनी दक्षिण कोरियासँग पराजित भएमा भने उ आफ्नै खेलका आधारमा अघिल्लो चरण पुग्नेछ ।

स्वीडेनका लागि भने जर्मनीको भन्दा राम्रो नतिजा अघिल्लो चरण प्रवेशका लागि सार्थक बन्नेछ । यदी मेसिक्कोलाई हराएमा र जर्मनीले दक्षिण कोरियासँगको खेलमा निकालेको भन्दा राम्रो नतिजा निकालेमा स्वीडेन समूह विजेता बन्नेछ ।

दक्षिण कोरियासँगको खेलमा दुई वा त्यो भन्दा बढी गोलका आधारमा जितेमा वा स्वीडेनले मेक्सिकोसँगको खेलमा निकालेको भन्दा राम्रो नतिजा निकालेमा जर्मनी अघिल्लो चरण पुग्नेछ ।

जर्मनी र स्वीडेन दुवैले बराबरी खेलेमा बढी गोल गर्ने टिम अघि जाने छन् । दुवैले बराबर गोल गरेमा भने जर्मनी अघि जानेछ किनकी उसले स्वीडेनलाई हराएको छ ।

दक्षिण कोरियाको सम्भावनाका लागि भने उसले जर्मनीलाई हराउनु पर्नेछ र स्वीडेन मेक्सिकोसँग पराजित हुनु पर्नेछ, त्यो पनि दक्षिण कोरियाको जित भन्दा बढी गोल अन्तरले ।

समूह जी


यो समूहबाट इंग्ल्याण्ड र बेल्जियम छनौट भइसकेका छन् । अब दुवै टिम समूह विजेता बन्नका लागि संघर्षमा छन् । दुवैको गोल अन्तर बराबर छ ।

अन्तिम खेलमा इंग्ल्याण्ड र बेल्जियम बराबरीमा रोकिएमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । इंग्ल्याण्डले दुई तथा बेल्जियमले तीन पहेँलो कार्ड पाएका छन् ।

यदी अन्तिम खेलपछि दुवैको कार्ड संख्या बराबरी भएमा ड्रका आधारमा समूह विजेताको टुंगो लाग्नेछ । यो समूहबाट पानामा र ट्युनिसिया भने बाहिरिने पक्का भएको छ ।

समूह एच


जापान र सेनेगललाई अघिल्लो चरण प्रवेशका लागि बराबरी मात्रै काफी छ । जापानले पोल्इाण्ड तथा सेनेगलले कोलम्बियासँग खेल्दैछन् ।
कोलम्बियाका लागि सेनेगलसँगको खेलमा जित आवश्यक छ ।

कोलम्बियाले जितेको अवस्थामा जापान सेनेगल भन्दा कम गोल अन्तरले पराजित भएको हुनुपर्छ अघिल्लो चरण प्रवेशका लागि ।

असार ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्