हरिवंश आचार्यको आत्मकथाबाट साभार

एसएलसीमा फेल भएपछि…

फाइल फोटो

पद्‍मोदय हाइस्कुलको रजत जयन्ती समारोह मेरा लागि ठूलो उपलब्धि भयो। मैले साथीहरुको अगाडि गर्ने छिमेकीको नक्कल। जनावरको नक्‍कल। रंगमञ्‍चमा देखाउन हुने रहेछ भन्‍ने थाहा पाएँ। अब मेरा कोठे क्रियाकलाप रंगमञ्‍चमा प्रस्तुत हुन थालेँ। एक्कैपटक सयौँ दर्शकमाझ प्रस्तुत गर्न थालेँ। त्‍यसबखत नेवारी समुदायले टोल टोलमा मञ्‍च बनाउन सांस्कृतिक कार्यक्रम ‘दबू प्‍याख’ देखाउँथेँ। म ‘दबू प्‍याख’ देखाउने ठाउँ खोजी खोजी जान्‍थेँ।

मेरो पनि कार्यक्रम राखिदेऊ न भन्‍थे। छिमेकीका श्रीमान र श्रीमतीका आवाज, सरहरुले पढाउँदाखेरिको हाउभाउ, विभिन्‍न जनावरहरुको आवाज सुनाउँथे। मान्छेहरु मरिमरि हाँस्थे। पहिलेपहिले मेरो प्रस्तुति राखिदेऊ भन्‍नु पर्थ्यो। पछि पछि त मान्छेहरुले मलाई बोलाउन थाले।

विज्ञापन

गायक जयनन्द लामा, नृत्यकार खेलबहादुर लामा र कृषण लामा पनि पद्मोदय स्कुलमा भर्ना हुन आए। यी तीनै जना साथी भर्खर भैरव नृत्य दलबाट सांस्कृतिक कार्यक्रम युरोपमा देखाएर फर्किएका थिए। युरोपबाट फर्किएका साथीहरुको अनुहार सफा र सेतो अनि तेजिलो भएको थियो।

मैले उनीहरुसँगको संगत बढाएँ। मलाई पनि तिमीहरुको संस्थामा नाच्‍न राखिदेऊ न भनेँ। मलाई उनीहरुले नृत्यकार भैरवबहादुर थापासँग यो मान्छे हँसाउन जान्‍ने रहेछ भनेर भनिदिए।

भैरवबहादुर थापाले भन्‍नुभयो, ‘यो यस्तो दुब्लो छ। टिङ्ग्रिङ्ग परेको। यो कसरी नाच्छ? यस्तोलाई त हँसाउन लगाउनु पर्छ। मलाई झाँक्री नाचमा बिरामीको रोल दिए। पद्मसंभव नाचमा लाभा फुक्‍ने काम पनि दिए। हामी जनकपुर धर्मशालामा करीब एक महिना बस्यौँ। त्‍यही धर्मशालाको चौरमा जस्ताले घेरिएको रंगमञ्‍च बनाइएको थियो। त्‍यहाँ हरेक साँझ नेपाली सांस्कृतिक प्रदर्शन गरिन्थ्यो।

हामी त्‍यही भोजनालयमा पाँच रुपैयाँमा आधा पेट खसीको मासु र भात खान्थ्यौँ। भात थप्दा चोक्टा होइन, मासुको झोल मात्र थप्न पाइन्थ्यो। दुब्लो भए पनि मेरो आहार धेरै थियो। हामीले खसीको मासुको झोल थप्दै भात खाँदा केही दिनपछि साहुजीले भने, ‘तपाईँहरुलाई अब म भात खुवाउन सक्दिनँ। घाटा लाग्छ। पेड सिस्टममा मात्र खाना खुवाउन सक्छु।’

धर्मशालाको भाडा र बिहानबेलुकाको भात खाने पैसाको टिकट पनि बिक्री हुँदैनथ्‍यो। पैसा थुप्रो तिर्नु भएपछि हामी राति नै बस रिजर्भ गरेर राजविराजतिर भाग्‍यौँ। जनकपुर भोजनालयका साहुजी त हामी भागेको थाहा पाएर हामीभन्दा पहिला नै पैसा लिन राजविराज पुगिसकेका रहेछन्। भात खाको पैसा नतिरेको भनेर हामीलाई बेस्कन करायो। त्‍यतिबेला एकजना मधेसी मुलका अञ्‍चलाधीशले हाम्रो कुरा सुनेर जनकपुरमा भात खाएको पैसा राजविराजमा तिरिदिए।

भैरवबहादुर थापा नेपाली नृत्यमा समर्पित अतुलनीय व्‍यक्तित्व हुन्। उनले आफ्नो घर बैंकमा धितो राखेर प्लेनको टिकेट किने। नेपाली सांस्कृतिक टोली युरोप लिएर गए। तर आर्थिक उपलब्धि हुन सकेन। उनले बैंकको ऋण तिर्न सकेनन्। नेपालका विभिन्‍न ठाउँमा सांस्कृतिक कार्यक्रम गरेर पैसा उठाएर ऋण तिर्ने सपना पनि पूरा हुन सकेन। उनी आर्थिक अभावमा चुर्लुम्‍म डुबिसकेका थिए।

हामी कार्यक्रम प्रदर्शन गर्दै लहान पुगेका थियौँ। दलितहरुलाई भैरवबहादुर थापाकै साथीहरुले मद्दत गरेका थिए। दलितसँगै आएका एक जना ग्रामीण मधेसी मूलका एक जनाले भने, ‘त्‍यहाँ एकजनासँग नागमणि छ। म त्‍यहाँ पुर्‍याइदिन्छु।’ भैरव बहादुर थापाले जोसिँदै भने, ‘ल त्‍यो गाउँमा जाऊ। नागमणि पाइयो भने त करोडौं रुपैयामा बेच्‍न पाइन्छ।’

रातको बेला झम म पानी परिरहेको थियो। मधेसको लोकल ठर्रा खाएर भैरव बहादुर, दली र म नागमणि सूचना दिने व्यक्तिको पछि लाग्‍यौँ। नागमणि खोज्‍न गएका हामीलाई गोमनले डस्ला भन्‍ने डर पनि भएन। पानीमा छप्ल्‍याङ छुप्लुङ गर्दै डेढ घण्टा हिड्‍यौँ।

भैरवबहादुर थापा भन्‍दै थिए, ‘ल अब हाम्रा दु:खका दिन गए। नागमणि जसरी भए पनि खुस्काउनुपर्छ र करोडौमा बेच्‍नुपर्छ। त्‍यसपछि बैंकको ऋण पनि तिर्छु र एउटा नयाँ घर बनाएर आनन्दले बस्छु। अहिले घर ढल्‍ने अवस्थामा पुगिसक्‍यो।’ मतिर हेर्दै उनले फेरि भने, ‘तिमी जस्ता टुहुराको दिन पनि आउँछ।म तिमीलाई पनि पक्‍कै केही गरिदिन्छु।’

अब मेरो मनमा पनि नागमणि पाइएला भन्‍ने धेरै आशा पलायो। बर्खाको समय रुझ्‍दै, भिज्‍दै हिड्दै जाँदा जुत्ताभित्र पानी पसेर खुट्टा ढाडिइसकेका थिए। बल्लतल्ल एउटा छाप्रे घरमा पुग्‍यौँ। भिजेको जुत्ता फुकाल्‍दै पानी निथोर्दै भित्र पस्यौँ। नागमणिबालाले ढोका लगाएर बाकस खोले।

हाम्रो मुटु ढुकढुक हुन थाल्यो। बाकसभित्रबाट एउटा लुगाको पोको झिके। पोकोभित्र पनि फेरि एउटा सानो पोको रहेछ। त्‍यो पोकोभित्र बिस्कुटको बट्टा रहेछ। त्‍यो कपडाभित्र राखेको नागमणि झिके। मैले नागमणि अँध्‍यारोमा पनि एकदमै टल्किन्छ भन्‍ने सुनेको थिएँ। तर त्‍यो त निलो निलो देखिन्थ्यो। भैरव बहादुरले परैबाट नमस्कार गर्‍यो। दलीले त्‍यो नागमणिलाई हातमा लिए।

ओल्टाइपल्टाइ त्‍यो नागमणिको सूचकलाई दलीले स्थानीय भाषामा मुखै छाडेर गाली गरे। नागमणि भनिएको गेडो त भ्‍यागुताको फुल पो रहेछ। कहाँ नागमणि, कहाँ भ्‍यागुताको फुल? करोडौमा बेचेर बैंकको ऋण तिर्ने र नयाँ घर बनाउने अनि मेरो पनि केही गरिदिने भैरवबहादुरको सपना भ्‍यागुताको फुल भयो। फेरि त्‍यही अँध्‍यारो बाटो हुँदै सबै जना एक शब्‍द नबोली लुरुलुरु फर्कियौ। जाँदाको जोशजाँजर सबै भ्‍यागुताको फुलले खत्तम पारिदियो।

महिनाको एक सय पैँतीस रुपैयाँ तलब आउँथ्‍यो। एक सय रुपैंयाँ दिदीलाई दिन्‍थेँ र २५ रुपैँया पकेट खर्च। खरिदार ओमबहादुर खड्का पनि खुब हँसाउने कुरा गर्थे। भैरव दल सांस्कृतिक नृत्‍य दलबाट सांस्कृतिक कार्यक्रम गर्न दुई महिना जिल्ला गए। विद्यालयमा विदा लिएको थिइन।

दुई महिनापछि आउँदा त जागिरै चट्ट। अहिले पनि एसएलसी (अहिलेको एसईई)लाई फलामे ढोका भनिन्छ। त्यतिखेरको मजस्तो मध्‍यमवर्गको मान्छे एसएलसी पास गर्ने। नाइट अथवा मर्निङ क्लास पढ्‍ने र एउटा खरिदारको जागिर खाने मन थियो। त्‍यतिबेला नेविसंघका अध्‍यक्ष बलबहादुर केसी नक्सालमा बस्थे।

हामी उनलाई दाइ भन्‍दै उनको डेरामा आउने जाने गर्थ्यौँ। बेला बेला पञ्‍चायत विरुद्ध काम गर्दा ढाडमा हानेको पुलिसको लठ्ठीको सुम्लो देखाउँथे। हामीलाई एसएसली पास गराउने उनले धेरै कोसिस गरे। मेरो एसएलसीको सेन्टर दरवार हाइस्कुलमा परेको थियो। उनी अंग्रेजी र गणितको जाँचमा पुलिसको आँखा छल्‍दै हामीलाई चिट दिन हलमै आउँथे। मलाई चिट दिन आउँदा उनलाई पुलिसले ढाडमा लठ्ठीले हान्‍दै लगेको थियो। उनको प्रयास खेर गयो। एसएलसीको रिजल्ट भयो। विज्ञान र गणितले माया मारेछ। चौथो डिभिजन आयो।

एसएलसीमा अनुतीर्ण भएपछि उत्साह पनि जाँदो रहेछ। सबै साथीहरु कलेज जान थाले। आफू चाहि कहाँ जाने दिनभरि? एक दिन घरमै बसिरहेको थिए। साथी सुरेन्द्र पौडेलले भन्‍यो, ‘बैंकक जाने ?’

म अचम्ममा परे। बैंकक जाने कुरा सुनेर मलाई राम्रो नराम्रो केही मतलब थिएन।

मैले कुरा खस्न नपाउँदै भनिहाले, ‘ जाने जाने।’

त्‍यसबखत झिटीकुन्टा भनेर सरकारले नियम विदेश जाने नेपालीलाई तीन तोला सुन, तीन जोर लुगा, छाता, क्‍यामेरा,घडी आदि लिएर आउने छुट दिएको थियो।

त्‍यस्तो व्‍यापार प्राय: मनाङबाट राजधानी आएर बसेकाले गर्थे। उनीहरुलाई मनाङ‌गे भन्‍ने चलन थियो। परारष्ट्र मन्त्रालय गएर पासपोर्ट बनाएर सुरेन्द्र पौडेललाई दिएँ। उसको झोलामा २०/३० वटा पासपोर्ट थिए। उनीहरु थुप्रै मान्छेलाई बैंकक लाने र उनकै नाममा सामान ल्‍याएर बेच्‍ने गर्दथे। साउले नाफा पाउथे। जानेले बैंकक घुम्‍न पाउँथे।

शाही नेपाली वायु सेवा निगमको जेट प्लेन हामीजस्तै केटाहरुले भरिएको थियो। तीमध्‍ये एउटा त मै थिएँ। जेटमा बसेका केटाहरुले प्लेनले मैदान छाड्‍ने बित्तिक्कै ताली बजाए गडगडी। मैले किन ताली पिटेको भनेर सोधेँ।

तिनले भने, ‘जिन्दगीमा जेट चढ्‍न पाइयो भनेर।’ त्‍यसपछि मैले पनि मनमनै ताली पिटे। किनकि मैले पनि जेट चढ्‍ने मौका पाएको थियो। मैले उडिरहेको प्लेनको झ्‍यालबाट हेर्न थालेँ। कसैले देखाएर इन्डिया, इन्डिया भन्थ्यो। कसैले चीन चीन भन्‍थे। कसैले त यो अमेरिका हो पनि भन्थे। म अलिअलि मात्र बुझ्‍दै थिए। हामी भारत हुँदै बंगलादेश, बर्मा हुँदै थाइल्‍याण्डको आकाशमा छिर्दै थियौँ। धेरैले जेटको ट्वाइलेटमा चुकुल लगाउन पनि जानेका थिएनन्।

एउटा कम्मडमा बसेको हुन्‍थ्यो। अर्कोले ढोका खोल्थ्यो र सरी भन्थ्यो। धुमपान छुट थियो त्‍यस बखत। मद्यपान त झन एयरहोसटेस आफैँले खुवाउँथ्यो। कसैले ह्विस्की खाए, कसैले वियर, कसैले वाइन। मैले पनि वियर खाएँ। साउ सोनाम मनाङगे भन्थ्यो, ‘ए धेरै रक्सी नखाऊ। बैंकको एयरपोर्टमा गाह्रो पार्न।’

जेट थाइल्‍याण्डको राजधानी बैंकक ओर्लियो। हामीलाई तल रोटेपिङ खसेजस्तो लाग्‍यो। जिउ सिरिङ्ग भइरहेको थियो। साथीहरु तर्सिएर मुख अँध्‍यारो पारिरहेका थिए। जेटको पाङग्राले थाइल्याण्डको भुइँ छुँदा घ्वाङ्राङ्ग गर्‍यो। सबैको सात्तो गयो। एक दुई जनाले त मुखै छोपेर नराम्रो शब्द पनि बोले। म चाहिँ त्‍यति धेरै तर्सिनँ, किनभने काठमाडौंबाट विराटनगर जाँदा एभ्रो चढिसकेको थिएँ। जेट बैंककको एयरपोर्टमा गुड्न थालेपछि एउटाले ताली पिट्‍यो। अनि सबैले पिट्‍यो। अनि मैले फेरि सोधे, ‘किन ताली पिटेको?’ उही अघि जेट उड्दा ताली पिट्‍नेले भन्यो, ‘ज्‍यान बाँच्‍यो भनेर।’

हाम्रो मनाङगे साउले सबैलाई पासपोर्ट दिँदै भन्‍यो, ‘सबै एकै लाइनमा लाम बस्‍ने। बाहिर निस्केपछि सबै एकै ठाउँमा उभिऊ। आफू खुसी नहिँड।’ अनि सुरेन्द्र पौडेलतिर फर्केर भन्‍यो, ‘ए सुरेन्द्र तिमीले भन तिम्रा सबै साथीहरुलाई।’ सुरेन्द्रले म लगायत सबैलाई अनुशासनका कुराहरु सिकायो। म लगायत सबै ७ दिन बस्यौँ थाइल्‍याण्ड।

बैंककको सडकमा त मोटरसाइकल झिंगाभन्दा धेरै। साइलेन्सर झिकेका मोटरसाइकल कोलाहल मच्‍चाउँदै गुड्थे सडकमा। कति व्‍यस्त जीवन त्‍यहाँको। सानो सय सीसीको मोटरसाइकलमा मारेको बंगुर पछाडिपट्टि सिटमा राखेर बेतोडले कुदाउँथे। लोग्‍ने मान्छे भन्दा स्वास्नी मान्छे बेफुर्सदिला थिए। कोही खाना बेच्‍ने, कोही सामान बेच्‍ने, कोही शरीर बेच्‍ने। हामी बसेको होटलमा पनि केटीहरु स्‍याउँस्याउँती थिए।कतिलाई त लोग्‍नेले नै मोटरसाइकलमा ल्‍याएर त्‍यहाँ छोडेर जान्‍थे पैसा कमाउन। मैले पनि निर्वस्त्र आइमाई पहिलोपटक त्‍यही देखे।

सात दिनमा मनाङगे साउले धेरै ठाउँमा घुमाउन पनि लग्‍यो। एक एक जोर लुगा पनि किनिदियो हामी सबैलाई। मलाई मनाङगे साउ खुब मन पराउँथे। मैले बोलायो कि साउ खुब हाँस्थ्यो। अनि साँझतिर खुसुक्क खाऊ भनेर वियर दिन्थ‍े। काठमाडौं आउने दिन साउले चार वटा कमिज, दुई वटा पाइन्ट लगाऊ भन्‍यो। ज्‍याकेट एक एक वटा लगाउन दियो। लगाए। सबैले हातमा एक एक वटा ज्‍याकेट बोक्‍यौँ।

बैंकको गर्मीमा चार वटा कमिज, ज्‍याकेट र एक वटा ज्‍याकेट हातमा बोक्‍दा हामीले उसिनेको आलु जस्तै भएका थियौँ। बैंकको एयरपोर्टमा आउँदा सबैको जिउमा तीन तोलाको सुनको सिक्री लगाइदियो। मैले जिन्दगीमा सुनको सिक्री र बेरुवा औठी पहिलो चोटी लगाएँ। गज्जबको सिको फाइभ घडी पनि लगाइदियो। दुईचार वटी केटी पनि थिइन् बैंकक जानेमा। उनीहरुले पनि एक्‍कै जनाले पाँच वटा जापानी सारी लगाउन पाए।

मनाङगे साउले काठमाडौंमै भनेको थियो, ‘तिमीहरु घडी, सुन औठी केही पनि नलगाइकन आऊ।’ हामीले बल्ल थाहा पायौँ। उसका घडी र सुन लगाउनलाई त्‍यसो भनेको रहेछ। हाम्रो टाउकोमा एक एक वटा रेबन गगल्स पनि राखिदिए। हामीलाई देखेर एयरपोर्टमा मान्छेहरु छक्क परिरहेका थिए। नेपाल एयरलाइन्सको काठमाडौं आउने जहाजमा बस्नासाथै उसका सुन घडी र चश्‍मा सबै सामान झोलामा हाल्‍यो। र काठमाडौंमा फेरि ओर्लिने बेलामा हामी सबैलाई घडी चश्‍मा सुन लगाइदिए। तीन घण्टा जहाजमा उसका सामान हराउलान् र फुट्लान भनेर उसैले लिएको रहेछ।

हामी त्रिभुवन विमानस्थलमा ओर्लदा मसँगै बैंकक जाने साथीहरुको लवाइ हेर्दा खेतमा साँढे धपाउन राखेको बुख्‍याँचा जस्तै देखिन्थे। म पनि त्‍यस्तै थिएँ, अरुले हेर्दा। त्रिभुवन विमानस्थलमा एक एक वटा प्लास्टिकको झोला पनि दियो। त्‍यसमा एक एक कार्टुन ५५५ चुरोट र एक एक वटा रेड लेवल ह्विस्की पनि थिए। हाम्रो नाममा ल्‍याइएको सामान सिधै ठमेलको एउटा घरमा लगेर गयो।

हामीले लगाएका चारवटा कमीजमा तीन वटा र एउटा पाइन्ट फुकाल्‍न लगायो। मिनी बसमा पस्नासाथै सुन,चश्‍मा र घडी झोलामा राखिसकेको थियो। त्‍यसबखत भारतमा सुन र महँगा लुगाहरु प्रतिबन्ध थियो। भारतीयहरु विदेशी लुगा र सुन किन्‍न नेपाल आउँथे। त्‍यसबाट हंङकङ र बैंकका व्यापारीहरुलाई राम्रै फाइदा हुन्थ्यो।

काठमाडौं आएपछि मनाङगे साउले किनिदिएको नयाँ जिन्सको पाइन्ट र सर्ट लगाएर टोलमा हिँड्दा ए यो भरिया त बैंकक गएर आएको भनेर औँलाले देखाउँथे साथीहरु। एसएलसी फेल भएर बैंकक जाने सात दिनको स्कलरसिप नै थियो त्‍यो मेरो थाइल्‍याण्ड यात्रा। त्‍यसपछि सोनाम मलाई देख्यो कि बेस्कन हाँस्थ्यो र भन्थ्यो, ‘जोकर छ यो हरिवंश।’

तीन महिनापछि फेरि म सोनामसँग बैंकक जाने भएँ। उसले मलाई तिमी पनि पाँच हजारको समान ल्‍याऊ। म तिमीलाई छुट दिन्छु भन्‍यो। म फेरि बैंकक जान लागेको कुरा मेरा नक्‍साले साथीहरुले थाहा पाए। कसैले पाइन्ट ल्‍याइदेऊ भनेर पैसा दिए। कसैले घडी, कसैले चश्‍मा ल्‍याइदेऊ भने। मैले कसैको पनि नाइ भनिनँ। मसँग नौ हजार रुपियाँ थियो। दोस्रो पटक म सोनामसँगै बैंकक गएर कपडा ल्याएँ। सोनामले नै बेचिदियो। मलाई सात हजार नाफा भयो।

(हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’बाट साभार) 

असार ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्