श्रीदेवीलाई मरोपरान्त ‘आइएफए बेस्ट एक्ट्रेस’को अवार्ड

दिल्ली- बलिउड नायिका श्रीदेवीलाई मरणोपरान्त बेस्ट एक्ट्रेसको अवार्ड प्रदान गरिएको छ। १९ औँ अन्तर्राष्ट्रिय भारतीय फिल्म एकाडेमीले श्रीदेवीलाई चलचित्र ‘मोम’को लागि यस वर्षको बेस्ट एक्ट्रेसको अवार्ड प्रदान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उक्त अवार्ड श्रीदेवीका पति बोनी कपूरले लिएका थिए। श्रीदेवीको अवार्ड लिने बेलामा बोनी निक्कै भावुक देखिएका थिए। बोनी भावुक देखिएपछि उसको कान्छा भाइ अनिल कपुर तथा छोरा अर्जुन कपुर हौसला प्रदान गर्न मञ्चमै उक्लिएका थिए।
यसअघि यही फिल्म ‘मोम’का लागि श्रीदेवीलाई नेशनल फिल्म अवार्ड दिइसकिएको छ। दिल्लीमा बोनी र उनकी छोरी जानबी तथा खुशी कपुरले त्यो अवार्ड लिएकी थिइन्। उक्त अवार्ड लिने क्रममा पनि बोनी भावुक बनेका थिए।
नायिका श्रीदेवीको गत २४ फेब्रुअरीमा दुबइको एक होटलको बाथरुममा डुबेर मृत्यु भएको थियो। उनी त्यहाँ आफ्नो परिवारसँग भतिजा मोहितको विवाहमा सहभागी हुन गएकी थिइन्।