प्रतिबन्धबाट जोगिए स्वीट्जरल्याण्डका दुई गोलकर्ता जाका र शाक्विरी

स्वीट्जरल्याण्डका ग्रानेट जाका र जेर्डान शाक्विरी प्रतिबन्धबाट जोगिएका छन् । जाका र शाक्विरीले विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको खेलमा गोल गरेका थिए र त्यसपछि उनीहरुले गरेको सेलिब्रेसन विवादित बनेको थियो ।

शुक्रबार राति भएको खेलमा जाकाले ५२ तथा शाक्विरीले ९० औँ मिनेटमा गोल गरेका थिए । उनीहरुका गोलको मद्दतले स्वीट्जरल्याण्डले सर्बियामाथि २–१ को जित निकालेको थियो ।

उनीहरुले गोलको सेलिब्रेसनको क्रममा आफ्ना दुई हातसँगै ल्याएर डबल–हेडेड इगल बनाएका थिए । यो अल्बानियाको एउटा झण्डासँग मेल खान्छ ।

उनीहरुले राजनीतिक सन्देश दिने र राजनीतिक विरोध जनाउने खालको सेलिब्रेशन गरेको भन्दै फिफाको अनुशासन कमिटिले छानबिन गरेको थियो । तर फिफाले उनीहरुको सेलिब्रेसनले राजनीतिक नियम र अपमानजनक सन्देश नदिएको बताएको हो ।

फिफाको यो निर्णयसँगै जाका र शाक्विरी प्रतिबन्धबाट जोगिएका छन् । फिफाले दोषी ठह¥याएको भए दुवै खेलाडीमाथि दुई खेलको प्रतिबन्ध लाग्ने थियो ।

जाका र शाक्विरीको सांकेतिक सेलिब्रेसनले सर्बियमा रहेका बाल्कान्सहरुमा विवाद निम्त्याएको छ । उनीहरुले कोसोभोको स्वतन्त्रता र जातीय अल्बानियनहरुको अस्तित्व स्वीकार गर्दैनन् । शाक्विरी कोसोभोमा जन्मिएका हुन् ।

जाकाका अभिभावक सर्बियाका अल्बानियन हुन् । जाका बुवा सन् १९६८ मा युगोसलाभियामा भएको विद्यार्थी प्रदर्शनको क्रममा राजनीतिक बन्दी बनेका थिए । जाकाका दाइ ताउलान्त अल्बानियको राष्ट्रिय टिमबाट खेल्छन् ।

सर्बियाको फुटबल एसोसिएनसनले उनीहरु विरुद्ध अपिल गरेको थियो । फिफाले सोमबार जाका र शाक्विरीलाई ७ हजार ६३२ पाउण्ड जरिवाना मात्रै तिराएको छ । फिफाले खेलाडीलाई चेतावनी पनि दिएको छ ।

असार १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्