पोखरा-लेखनाथ महानगरपालिकाको नाम अब ‘पोखरा’ मात्र!

पोखरा लेखनाथ नगरपालिकाको नगर परिषद् बैठक। तस्बिर: देशसञ्चार

पोखरा- पोखरा लेखनाथ महानगरपालिकाबाट लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित भएको छ। मंगलबारको पोखरा लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले लेखनाथ हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको हो। पारित प्रस्तावलाई अव कार्यपालिकाको बैठकले प्रदेश नम्वर चार सरकारलाई लेखनाथ हटाउन सिफारिस गर्ने छ। प्रदेशले संघीय सरकारलाई सिफारिस गर्ने र मन्त्रीपरिषदबाट पास भएपछि राजपत्रमा प्रकाशित भएपछि नाम परिवर्तन हुनेछ।

यसअघि गत वर्ष फागुनमा सम्पन्न दोश्रो नगरसभामा पनि नाम परिमार्जन गर्न प्रस्ताव भएको थियो । लेखनाथ हटाउन प्रस्ताव पेश भएपनि छलफल भने हुन सकेको थिएन । अहिले नाम हटाउने विषयमा महानगर प्रमुख मानबहादुर जिसी र अधिकांश जनप्रतिनिधि सकारात्मक भएपछि प्रस्ताव पेश भएको थियो । महानगरबाट पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित नाम भएकाले अन्य नाम झुन्ड्याएर लामो बनाउन जरुरी नरहेको भन्दै पोखरा महानगर मात्रै राख्ने प्रस्ताव गरिएको हो।

एमालेका सचेतक तथा पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रस्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन जनाएका थिए । लेखनाथ हटाउने प्रस्तावमाथि मंगलबार नगरसभामा ब्यापक छलफल गरि पारित गरेको हो । छलफलमा ४० जना नगर सभाषद्ले लेखनाथ हटाउने प्रस्तावका बारेमा आआफनो विचार राखेका थिए ।

नगर सभाबाट लेखनाथ हटाउने प्रस्ताव पारित भएपछि प्रदेश सरकार मार्फत संघीय सरकारलाई लेखनाथ हटाउनु सिफारिस पठाइने छ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ ।

तेस्रो नगर सभामा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष २०७५/०७६ को लागि रू. ६ अर्ब ५३ करोड ६५ लाख बजेट प्रस्तुत गरेका थिए । बजेट बारे बोल्दै नगर सभाषद्हरुले सवै वडामा समानुपातिक विकास हुनुपर्ने, जनसहभागीताको रकमलाई शुन्य बनाउनुपर्नेमा माग राखेका थिए । पोखरा वडा नम्वर २० का अध्यक्ष सिम गुरुङ, वडा नम्वर २८ का अध्यक्ष निर्मल दियाली र वडा नम्वर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले जनसहभागीता बारे शहरका वडा र नयाँ जोडिएका ग्रामिण वडाको विषयमा फरक नीति बनाउनुपर्नेमा आफ्नो धारणा राखेका थिए।

असार १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्