प्रधानमन्त्री ओलीले नेकपा सांसद र कार्यकर्ताहरुलाई नियमित रुपमा भेट्ने

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ‌ओलीले आफ्नो नियमित भेटघाट कार्यक्रमका अतिरिक्त हरेक शुक्रबार प्रतिनिधिसभा तथा राष्ट्रियसभामा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग भेटघाट गर्ने भएका छन्।

नियमित रुपमा शुक्रबार अपराह्न ३ बजेदेखि ५ बजेसम्म उनीसँग सिंहदरबारमा प्रदेशगत रुपमा सांसदहरुको भेटघाट हुने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता ओलीसँग साप्ताहिक रुपमा क्रमश: साप्ताहिक रुपमा सातवटै प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको भेट हुने नियमित कार्यक्रम तय गरिएको छ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित रुपमा हरेक महिनाको १ र १५ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई भेटघाट गर्ने भएका छन्। ओलीले हरेक महिनाको पहिलो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नेकपाको धुम्बाराहीस्थित कार्यालयमा र १५ गते पेरिसडाँडास्थित कार्यालयमा पार्टी कार्यकर्तालाई भेट्नेछन्।

असार १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्