कम्लरी मुक्ति दिवसमा शोक सभाको आयोजना

कमलरी मुक्त भएको दिनलाई सम्झिँदै नेपालगञ्‍जमा आयोजना गरिएको मुक्ति दिवस कार्यक्रम। तस्बिर-कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्‍ज-सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गर्‍यो। त्यसअघि नै २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा भइसकेको थियो।

जमिन्दार, साहु, महाजनको घरमा अधिया जग्गा कमाउन या साँझ बिहान खानाकै लागि काममा बस्ने गरेका कमलरीलाई २०७० जेठ २४ गते सरकारसँग भएको १० बुँदे सहमतिपछि मुक्तिको घोषणा गरिएको थियो।

कमलरी मुक्तिको घोषणा भएपछि जमिन्दारको घरमा बसेका १२ हजार ८ सय ६९ कमलरीलाई बाहिर निकाल्ने काम थालियो। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा रहेका थारु समुदायका बालिकाहरु कमलरी बसेका थिए।

पूर्व कमलरीहरुले मुक्ति भएको दिन असार १३ गतेलाई रमाइलो दिनको रुपमा लिदै आए। एकअर्कामा खुशी साटासाटसँगै चोखोमिठो खाने गर्न थालियो।
चार वर्षको असार १३ गतेकोजस्तो खुशीयाली बुधबार देखिएन।

मुक्त कमलरीहरु मुक्ति दिवसमा पनि आक्रोशित थिए। सरकारले अझै छुटपुट रहेका कमलरीलाई मुक्त नगरेको, दश बुँदे सहमति पालना नगरेकोमात्रै होइन, कमलरीको निरन्तर मालिकको घरमा हत्या भइरहेपछि मुक्त कमलरीहरु निराश, आक्रोशित भएका हुन् । उनीहरुले बुधबार मुक्ति दिवस नभई शोक दिवस मनाएका छन्।

पाँचै जिल्लामा शोक सभा गरेर मालिकको घरमा हत्या भएका ६ जनालाई क्षतिपूर्ति र हत्यारालाई कारबाही, बेपत्ता मारिएका ६ जनाको खोजी र अझै पनि कमलरी बसेकालाई छिटो उद्धार हुनुपर्ने बताए।

मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय उपाध्यक्ष दिलकुमारी थारुका अनुसार, बर्दियाकी अस्मिता थारु, दाङका सृजना चौधरी, सिमा होजामगर, कैलालीका सरिता चौधरी, उर्मिला राना थारु, मेघी चौधरीको मालिकको घरमै हत्या भएको छ। यीमध्ये सृजना र मेघीले मात्रै दुई लाख पचासहरु क्षतिपूर्ति पाएका छन् । अरुको छानबिन समिति बनेपनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

त्यस्तै, बर्दियाकी आसरानी थारु, तुलारानी थारु, कैलालीकी सूर्या चौधरी र आशा चौधरी तथा दाङकी शर्मिला चौधरी र सीता चौधरीलाई मालिकको घरबाट बेपत्ता पारिएको छ। उपाध्यक्ष थारुले २७ जना कमलरीलाई बेपत्ता पारिएकोमा अरुलाई खोजेर ल्याएको बताइन्।

‘हाम्रो त आज खुशीको दिन हो। सरकारले हामीलाई मुक्तिमात्रै घोषणा गर्‍यो।अरु सहयोग गरेन, उपाध्यक्ष थारुले भनिन्, अहिले पनि कमलरी बसेका छन्। उनीहरुलाई उद्धार गरिएको छैन्। हत्या, बलात्कार र बेपत्ता पार्ने काम रोकिएको छैन।न त छात्राबृत्ति नै समयमा आएको छ।’

नेपालगञ्जको वीपीचोकमा पुगेर शोक सभा गरेका मुक्त कमलरीले हत्या भएका कमलरीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति, बेपत्तालाई खोजविन, अझै कमलरी बसेकाको उद्धार, छात्राबृत्तिलगायत सरकारले उपलब्ध गराउने सेवाहरु छिटो दिन माग गरे।

मुक्त कमलरी विकास मञ्च, बाँकेकी अध्यक्ष सीता थारुले हत्या भएका कमलरीको छानबिन गरी दोषीलाई कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइन्।

कमलरी मुक्ति घोषणाको पाँचौं दिवस मनाइरहदा अझै पाँच जिल्लामा ९७ जना कमलरी रहेका छन्। सबैभन्दा धेरै बर्दियामा ३६, कैलालीमा २८, दाङमा २१, कञ्चनपुमा ७ र बाँकेमा पाँच जना रहेको मञ्चले जनाएको छ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्