सरकारले चिकित्‍सा विधेयकमा हेरफेर गरे जुम्लाबाट अनसन बस्‍ने डा. केसीको चेतावनी

फाइल तस्बिर।

काठमाडौं- मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्‍दै आएका डा. गोविन्द केसीले संसदमा पुगेको चिकित्सा शिक्षा ऐनलाई सरकारले तोडमरोड गरेर विधेयक ल्‍याउन लागेको भन्‍दै असार १५ देखि पुन: सत्‍याग्रहमा बस्‍ने चेतावनी दिएका छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले उक्त विधेयक चिकित्सा शिक्षा सुधार अभियानको मर्मविपरीत रहेको असन्तुष्टि व्‍यक्त गर्दै चेतावनी दिएका हुन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘निःशुल्क पीजीपछिको सेवा अवधि हामीसँग समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुको गर्दर्छौं। त्यसो नगरिएको खण्डमा यही असार १५ गतेदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं।’

यस्तै डा. केसीले बारम्बार सम्झौता भए बमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने काम गरेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ।’

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन सकेको भन्‍दै १५औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने बताएका छन्।

मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा अहिले भइरहेका अनियमितताहरु रोक्नका लागि कानूनी व्यवस्था गर्नका लागि हामीले चलाएको वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्