ब्राजिलसँग सर्बिया, स्विट्जरल्यान्डसँग कोस्टारिका- सुरु भयो खेल

काठमाडौँ- समूह ई अन्तर्गत पहिलो चरणको तेस्रो खेलमा ब्राजिल र सर्बिया तथा स्वीट्जरल्याण्ड र कोस्टारिका नेपाली समयअनुसार पौने बाह्र बजे भिड्न सुरु गरेका छन्।

ब्राजिल र सर्बियाबीचको खेल स्पार्तक रंगशाला, मस्कोमा भइरहेको छ। त्यस्तै, स्वीट्जरल्याण्ड र कोस्टारिकाबिचको खेल निज्हनी नोभगोरोड रंगशालामा भइरहेको छ।

समूह ईको पहिलो खेलमा ब्राजिल र स्वीट्जरल्याण्डले १–१ को बराबरी खेलेका थिए भने दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा स्वीट्जरल्याण्डले सर्बियालाई २–१ ले हराएको थियो।  पहिलो खेलमा सर्बियाले कोस्टारिकामाथि १–० को जित निकालेको थियो।

अन्तिम १६ मा स्थान बनाउन सर्बियासँगको खेलमा ब्राजिललाई बराबरी काफी हुन्छ।

ब्राजिल र स्वीट्जरल्याण्ड दुवैले खेल जितेमा फेयर प्लेका आधारमा समूह विजेताको टुंगो लाग्नेछ। ब्राजिलले तीन तथा स्वीट्जरल्याण्डले चार पहेँलो कार्ड पाएका छन्। ब्राजिल सर्बियासँग तथा स्वीट्जरल्याण्ड कोस्टारिकासँग पराजित भएमा दोस्रो स्थानको निर्णय पनि यही प्रक्रियाबाट हुनेछ।

कोस्टारिकासँगको खेलमा कम्तिमा बराबरी वा सर्बिया ब्राजिलसँग पराजित भएमा स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुग्ने छ।

यदि स्वीट्जरल्याण्ड एक गोलले पराजित भएमा र सर्बियाले बराबरी गरेमा गोल गरेका आधारमा दोस्रो स्थानको टुंगो लाग्नेछ। दुवै टिमको गोल पनि बराबरी भएमा स्वीट्जरल्याण्ड अघि जानेछ किनकी उसले सर्बियालाई हराएको छ।

असार १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्