अंश र वंश धान्‍ने छोरीहरु

विश्‍वका प्रमुख पितृसत्तात्मक देशहरुमध्ये नेपाल पनि एक हो। पितृसत्ता भनेको संरचनात्मक रुपमा पुरुषको नेतृत्व भएको सत्ता हो। घरका घरमूली,  समाजका अगुवा र राष्ट्र्का प्रमुख पुरुष हुनु पितृसत्तात्मक राष्ट्र्का केही गुण हुन्।

नेपालको सन्दर्भमा महिला राष्ट्रपति हुनु भएका कारण नेपालमा महिलाको अवस्था राम्रो छ भन्‍ने हामी मध्ये धेरैलाई लाग्छ। तर हामीले बुझ्नुपर्दछ कि नेपालमा सेरेमोनियल राष्ट्रपतिको ब्यवस्था छ। राष्ट्रपतिको पदीय गरिमा भएपनि देशको नीति निर्माण र निर्णायक भूमिकामा राष्ट्रपतिको भन्दा नेपालका प्रधानमन्त्रीको धेरै कर्तव्‍य तथा अधिकारहरु छन् र आजसम्म नेपालले महिला प्रधानमन्त्री पाएको छैन। आशा गरौं, नेपालले निकट भबिष्यमा महिला प्रधानमन्त्री पनि पाउनेछ।

जब कुनै पनि समाजको संरचना एकात्मक, भन्नाले मातृसत्तात्मक वा पितृसत्तात्मक हुन्छ, त्यस्तो अवस्थामा सत्तामा पहुँच नभएकाहरुका लागि संरचनात्मक लैंगिक विभेद हुन्छ। यसलाई सरल भाषामा भन्दा पुरुषहरुको देशमा महिलाहरुले बाँच्‍नुपर्ने अवस्था हुन्छ। पुरुषहरुको देशमा सम्पूर्ण ब्यबस्था तथा संरचनाहरु पुरुष अनुकूल भएका हुन्छन्, जुन महिलाका लागि अनुकूल नहुने मात्र होइन, महिलाको बृद्धि विकासको लागि प्रतिकूल समेत भएको हुन सक्छ।

त्यसैले पनि धेरै महिलाहरुको मुखबाट जीवन एउटा सम्झौता हो भनेको सुन्न पाइन्छ। जुन ब्यबस्था आफ्नो अनुकूल छैन, सो व्यवस्थामा बाँच्न बाध्य हुनु वास्तबमा सम्झौता नै हो। फलस्वरुप, डायना पर्ल भन्ने लेखकको खोजमूलक लेखमा महिलाका लागि अति प्रतिकूल दश देशहरुमध्ये नेपाल पनि एक पर्दछ भनी उल्लेख गरिएको छ। उहाँले नेपालमा महिलाको शिक्षाको अबस्था र उमेर नपुग्दै हुने बिबाहलाई प्रमुख आधार बनाएर यस्तो बिश्लेषण गरेका छन्। त्यस अलावा मानब विकासको सूचकांकको आधारमा पनि नेपालमा पुरुष भन्दा महिलाको विकास सूचकांक निकै कमजोर छ। विश्वको मानव विकासको सूचकांक हेर्ने हो भने नेपालका पुरुषहरु मध्यम विकासमा पर्दछन् भने महिलाहरु निम्न विकासको सूचकांकमा पर्दछन्। जब यसरी देशमा लैंगिक बिभेद हुन्छ, तब लैंगिक बिभेदलाई निरन्तरता दिने संरचनात्मक ब्यवस्था पनि लागू भएको हुन्छ। नेपालको सन्दर्भमा अंश र बंशको अधिकारबाट महिलालाई बञ्चित गरिनु लैंगिक विभेदको प्रमुख कारण हो।

नेपाल जस्तो पितृसत्तात्मक देशहरुमा अंश र बंश धान्ने जिम्मेवारी, कर्तब्य, र अधिकार प्रमुख रुपमा छोराहरुले पाउँदै आएका छन्। देश विकासको क्रमसँगै नेपालमा महिलाहरुको हक हितमा पनि विकास नभएको भने पक्कै पनि हैन। भर्खरै मात्र लागू भएको एकल महिलाले आमा हुन पाउने अधिकार यसको एक ज्वलन्त उदाहरण हो। यसरी समय परिस्थितिसँगै महिलाहरुको अधिकारमा परिमार्जित हुँदै आएको भए पनि अझै पनि अंश र बंशको कुरामा छोरीहरुलाई निकै पछाडि पारिएको छ। धेरै आमाबुबाहरुले आफ्ना छोरीहरुलाई लोलोपोतो गरेपनि अंश र बंशको हस्तान्तरण चाहिं छोरालाई नै गर्न पाए हुने भन्ने भित्री इच्छा राखेका हुन्छन्।

यस्तो सोच हुनुको मुख्य कारण भनेको हाम्रो सांस्कृतिक र सामाजिक मूल्य मान्यताहरु हुन्। छोरा भएन भने अर्थात छोराले दागबत्ती दिएन वा काजकृया गरेन भने बैतरणी तरिँदैन र मृत्युपछि आत्माले सुख पाउँदैन भन्ने आम धारणाका कारण धेरै जसो आमाबाबाहरु छोराका लागि लालायित हुन्छन्।

छोराको अति चाहना हुने हाम्रो नेपाली समाजमा डा. उपेन्द्र देवकोटाका छोरीहरु मेधा,वसुधा, र मञ्जरीले भर्खरै आफ्नो पिताको अन्त्यष्टिमा खेलेको उल्लेखनीय भूमिकाले अंश र बंश धान्ने छोरीहरुका हकमा एक बलियो आधार स्तम्भ स्थापना गरिदिएका छन्।

छोरीहरुले आफ्ना मातापिताको अन्त्येष्टिमा दागबत्ती दिनु त्यो पहिलो वा नौलो घटना थिएन तर डा.उपेन्द्र देबकोटाको अन्त्येष्टिमा जे देखियो, ती कुराहरु मननीय र सह्रानीय छन्। हुन त मृत्यु आकस्मिक घटना हो, यो बाजा बजाएर आउँदैन। तर, डाक्टर साहेबका लागि मृत्यु बाजा बजाएर आएसरह नै भयो। यस अर्थमा हामी सारा नेपालीहरुले पनि अब डाक्टर साहेब धेरै बाँच्नुहुन्न रे भन्ने जानकारी पायौं। उहांको मृत्यूको पूर्व सूचनाले एक किसिमले सबैजनालाई मानसिक रुपमा तयार पारेको थियो।

पक्कै पनि उहाँ र उहाँको परिवारमा पनि त्यो तयारी थियो होला। मलाई जहाँसम्म लाग्छ, डाक्टर साहेबले पक्कै पनि आफ्नो अन्त्येष्टि के कसरी गर्ने र काजकृया कसरी गर्ने भन्ने बिषयमा आफ्नी श्रीमती, छोरीहरु र परिवारका अन्य सदस्यहरुसँग छलफल गर्नु भएको थियो होला। सामान्यतया हामीले देख्दै आएको अन्त्येष्टिको प्रकृयामा महिलाको अवस्था र भूमिका प्रायगरी रुवाबासी गर्ने, होश नै सम्हाल्न नसक्ने जस्तो आकुल व्‍याकूल अवस्थामा देखिन्थ्यो।

हाम्रो त्यो सामान्य अपेक्षा र सोचका विपरीत डा. देबकोटाका श्रीमती डा. मधु दिक्षित देबकोटा र छोरीहरुलाई चारजना मान्छेले झ्यानाकुटी गरेर बोक्नु परेन। यसले ती चार महिलाहरुमा सत्यको सामना गर्ने, जीवनको अतिबिषम परिस्थितिमा पनि आफ्नो खुट्टामा अडिग भएर उभिन सक्ने, आत्मबिश्वासी र आत्मनिर्भर क्षमता भएको पुष्टि हुन्छ। उहाँहरुको अदम्य साहसले म जस्ता लाखौं छोरीका आमाहरुलाई प्रेरणा र उत्साह मिलेको छ। त्यसैगरी मेधा, वसुधा, र मञ्जरीजस्ता करोडौं छोरीहरुका लागि पनि आमाबाबाप्रति आफ्नो अधिकार, कर्तव्य र जिम्मेबारीको बोध गराइदिएको छ।

डाक्टर मधु दिक्षित देबकोटाको पारिवारिक बिषयमा मलाई उत्ति धेरै ज्ञान छैन तर उहाँ मेरो गुरुआमा हुनुहुन्छ। यस अर्थमा म पूर्ण विश्वासका साथ भन्न सक्छु, उहाँहरुको त्यो साहस र क्षमता त्यही दिन अकस्मात विकास भएको पक्कै पनि होइन। ती छोरीहरुको जीवन भरको हुर्काइ र उनीहरुका मातापिताले उनीहरुलाई दिएको शिक्षा र दीक्षाको नतिजा हो। साँच्चै नै डा. देबकोटाका छोरीहरु उनका दिंवगत पिताजी र उनका माता डा. मधु दिक्षित देबकोटाले अंश र बंश धान्ने बिश्वास र क्षमता दिएर हुर्काएका छोरीहरु हुन्। उहाँहरुसँग यो पाठ नेपालका सम्पूर्ण आमाबाबुहरुले सिक्न लायक छ।

डाक्टर मधु दिक्षित देबकोटालाई एक गुरुआमाका नाताले मैले महाराजगंजस्थित चिकित्सा बिज्ञान अध्ययन केन्द्रमा जनस्वास्थ्य बिषयमा स्नातक गर्दा चिनेको हुँ। उहां र विन्ज्वाला श्रेष्ठ दुईजना गुरुआमाहरु हुनुहुन्थ्यो जसले म लगायत म जस्ता धेरै बिद्यार्थीहरुलाई सामाजिक तथा लैंगिक विभेदलाई केलाउने बुद्धि, विवेक, र सिपको विजारोपण गरिदिनुभएको थियो। आज उहाँका सशक्त छोरीहरु देख्दा र उहाँ आफैँलाई देख्दा म र म जस्ता सयौं बिद्यार्थीहरुका लागि ठूलो गौरब महसुस भइरहेको छ। जसरी उहाँको भित्री आत्मा रोएको छ, त्यसरी नै उहाँको जीवनमा आइपरेको यस विपदको घडीमा उहाँलाई सम्झिँदा हाम्रो पनि आत्मा निचोरिएर आँसु झर्छ। डा. मधु दिक्षित देबकोटाले हामीलाई कक्षाकोठामा मात्र होइन, उहाँको सिंगो जीवनबाट नै हामीलाई प्रभाबित गरिदिनुभयो।

म कल्पना गर्दछु, आज भन्दा लगभग दुई दशक अगाडि, जब ती छोरीहरु जन्मिएका थिए, त्यो बेला नेपाली समाजमा छोराको चाह कति थियो होला? आजपनि दम्पतिहरु छोरा पाउन हदैसम्मको कोशिश गर्ने गर्दछन्। गर्भबती महिलाले लाखबत्ती बालेको ठाउँको उखु चपाउने, मनकामनामा भाले काट्ने भाकल गर्ने, क्यालेण्डर हेरेर सहबास गर्ने, अर्की श्रीमती बिबाह गर्ने अनेक अनेक उपायहरु गरिन्छ, छोरा पाउन। यसरी गरिने बिभिन्न प्रयासहरु मध्ये एक क्रुर प्रयास चाहिँ गर्भमा रहेको भु्रणको पहिचान गरि छोरीहरुको भ्रुणहत्या गरिनु हो।

यसरी भ्रुणहत्या गुपचुप हुने हुँदा यसको तथ्याङ्क ठ्याक्कै कति हुन्छ भनेर भन्न सकिँदैन। तर संयुक्त राष्ट्रसंघको एक आँकलन अनुसार नेपालमा बर्षेनी करिब १४००० जति छोरी भ्रुणहरुको हत्या हुने गर्दछ  जुन सन् २०१५ को महाभूकम्पमा मृत्यु हुनेको कुल संख्या भन्दा लगभग दोब्बर हो। यसरी यत्रतत्र छोरीहरुको भ्रुणहत्या हुँदै गर्दा उलेख्यरुपमा केही मातापिताहरुले सह्रानीय कदम उठाएका छन्। मलाई लाग्छ, त्यस्तै एक ज्वलन्त उदाहरणीय मातापिता डा. उपेन्द्र देबकोटा र डा. मधु दिक्षित देबकोटा हुन्।

दुवैजना डाक्टर, उहाँहरुले चाहेको भए भ्रुण पहिचान गर्नु कुनै ठूलो कुरा थिएन। तर उहाँहरुले पितृसत्तात्मक नेपाली समाजमा यति राम्रा छोरीहरु जन्माउनु भयो, हुर्काउनु भयो र आज हामी सबैजना पुलकित भएर ती छोरीहरुले काँधमा आफ्नो बाबाको शब बोकेको, दागबत्ती दिएको र काजकिरिया गरेको हेरिरहेका छौं। बिशेषगरेर ती दृष्यहरुले ती आमाबाबाहरुको मनमा विशेष छाप छोड्यो होला जसका छोरीहरुमात्र छन्। त्यस्ता आमाबाबाहरुमध्ये म आफैँ पनि एक भएको हुनाले त्यो दृष्यहरु देख्दा मलाई पनि त्यस्तै मृत्युको रहर लाग्यो।

नेपालजस्तो पितृसत्तात्मक समाजमा पारिवारिक तहमा छोरीहरुलाई शिक्षा, दीक्षा, र पूर्ण आत्मविश्वास दिएर हुर्काए पनि विभिन्न सामाजिक तत्वहरुले उनीहरुको सशक्तीकरणमा बाधा पुर्‍याएको हुन्छ। जस्तो उदाहरणको लागि, म एउटा नेवारी समाजको सदस्य हुँ। म चाहन्छु- मेरो मृत्यु हुँदा मेरी छोरीले मलाई दागबत्ती देओस् तर मेरो मृत्युपश्चात मेरो चाहनाको कुनै अवशेष रहँदैन। नेवारी संस्कारमा मृत्युको परम्परा गुठियारहरुले गरिदिने गर्दछन्।

कसले दागबत्ती दिने भन्ने निर्णय पनि छोरा नभएको खण्डमा गुठियारहरुले नै गर्ने गर्दछन्। त्यो निर्णय गुठी नाइकेको बुद्धि, विवेक, र लैंगिक समानताको चेतनामा भर पर्दछ। त्यस्तो अवस्थामा यो पनि सम्भाबना छ कि उनीहरुले मेरी छोरीलाई दागबत्ती दिनबाट बन्चित पनि गर्न सक्छन्। यतिमात्र होइन, दागबत्तीको सम्बन्ध अंशसँग पनि जोडिएको हुन्छ। छोराहरुबीच पनि कसले दागबत्ती दिने भन्‍ने कुराको संघर्ष भएको हामीले देखेका छौं। जीवनभर आमाबाबालाई वास्तै नगर्ने तर अंशदाबीका लागि म जेठा हुँ, म कान्छा हुँ भनी पाखुरा बजाएर दागबत्ती दिने धेरै छोराहरु पनि यही समाजमा छन्। यस अर्थमा छोरीले दागबत्ती दिएमा छोरीलाई अंश दिनु पर्ला भन्ने त्रासले पनि छोरीहरुलाई त्यो अन्त्येष्टि गर्ने अधिकारबाट बन्चित गरिन्छ।

अन्तमा, हामीलाई थाहा छैन, हाम्रो मृत्यु डा. उपेन्द्र देवकोटाको जस्तो पूर्वसूचना दिएर आउँछ कि आउँदैन। यद्यपि हामी सबैलाई थाहा छ कि एक दिन त त्यो आउँछ नै। मलाई लाग्छ, मृत्युका लागि धेरथोर तयारी सबैजनाले गरिराख्नुपर्दछ। बिशेष गरेर आफ्ना सन्ततिहरुले समाजबाट सहज रुपमा उनीहरुको मानबअधिकार उपभोग गर्न पाउने अवस्था छैन भने त्यस्तो बेलामा अझ थप तयारी गर्नुपर्दछ। यदि कसैको छोरा र छोरी दुबै छ तर छोरीले पनि दागबत्ती देओस् भन्ने इच्छा छ भने आमाबुबाहरुले त्यो कुरा परिवारमा आफु जिउँदै हुँदा स्पष्ट पारिदिनु पर्दछ।

छोरी मात्र हुनेहरुका हकमा त छोरीले नै अंश र बंश धान्लान् भने पनि त्यसको लागि हामीले हाम्रा छोरीहरुलाई सानैदेखि तयारी गराउनुपर्छ। छोरा भएका घरका छोरीहरुको भन्दा छोरा नभएका घरका छोरीहरुको अवस्था फरक हुन्छ। उनीहरुले छोरी हुनुको भूमिका खेल्नुका साथै छोराको भूमिका पनि खेल्नुपर्छ। पितृसत्तात्मक सामाजिक संरचनामा उनीहरुका लागि यो चूनौतीपूर्ण हुनसक्छ।  मैले माथि पेश गरेको उदाहरण जस्तै यदि मेरो छोरा भएको भए दागबत्ती दिँदा उसलाई कसैले रोक्ला कि भनेर मैले सोच्न पर्दैन थियो, तर छोरी भएको कारणले गुठियारहरुले रोक्न सक्छन् भन्ने सम्भाबित चुनौतीहरुको लेखाजोखा मैले गर्नुपर्दछ।

साथै त्यो चूनौतीलाई कसरी समाधान गर्ने भन्ने कदम पनि उठाउनु पर्दछ। डा. उपेन्द्र देबकोटाको निधनपछि म सोचिरहेको छु, म मेरा गुठिका नाइके र गुठियारहरुलाई चाँडै भेट्नेछु र आफ्नो इच्छापत्र जाहेर गरी मेरो मृत्यु भएको खण्डमा मेरो छोरीले नै दागबत्ती दिनुपर्दछ भन्ने प्रस्ट गर्नेछु। यदि मेरो गुठीले मेरो छोरीको अधिकार सुनिश्चित गर्दैन भने म त्यो गुठी नै छोडिदिन्छु र जुन गुठीले लैंगिक समानता सुनिश्चित गर्दछ, त्यही गुठीको सदस्य बन्न जान्छु। मलाई बिश्वास छ, नेपालमा ब्याप्त छोरीहरुमाथि हुने भेदभाब हटाउने जिम्मा प्रमुख रुपमा आमाबाबुहरुको नै हो। जब हामी सबैजना डा. उपेन्द्र देबकोटा तथा डा. मधु दिक्षित देबकोटा जस्तो सचेत भएर आफ्ना छोरीहरुका लागि ठोस कदम चाल्दछौं, तब बिस्तारै देशमा परिवर्तनको लहर आउँछ।

(लेखिका ‘वान पर्सन क्यान मेक अ चेन्ज’ अर्थात ‘ओपीसीएमसी’ शीर्षकमा लैगिंक विभेद न्यूनीकरण र स्वस्थ अन्तरसम्बन्ध प्रवर्द्धनको लागि थालनी गरिएको सामाजिक सञ्जाल अभियानका मुख्य अभियन्ता हुन्।) 

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्