अमेरिकामा पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

अमेरिकाको मेरिल्याण्डमा एक बन्दुकधारीले स्थानीय पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् ।

मेरिल्याण्डको एनापोपिलसमा रहेको क्यापिटल गज्याट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

आक्रमणकारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमण भएका बेला कार्यालयमा धेरै मानिस थिए ।

पत्रिकाका संवाददाता फिल डेविसका अनुसार अवस्था निकै डरलाग्दो थियो । उनले भने, ‘धेरै मानिसलाई गोली लागेको र आफू आफ्नो डेस्कमुनि बसेको तथा आक्रमणकारीले रिलोड गरेको सुन्नु जतिको डरलाग्दो केही हुने रहेनछ ।’

पक्राउ परेका आक्रमणकारीसँग घटनाका बारेमा सोधपुछ भइरहेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले प्रहरीलाई अनुसन्धानमा सहयोग नगरेको र उसले आफ्नो औँठा छाप पनि बिगारेको प्रहरी अधिकारीले सिबिएस न्युजसँग भनेका छन् ।

आक्रमणकारी २० वर्षको हाराहारीको रहेको र प्रहरी समक्ष आफै आत्मसमर्पण गरेको खबरमा उल्लेख गरिएको छ । घटनास्थलबाट १७० जना भन्दा धेरै मानिस सुरक्षित रुपमा बाहिर निस्कन सफल भएका थिए ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्