धान दिवस मनाईँदै, धानको उत्पादन आवश्यकता अनुसार बढ्न सकेन

तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ – असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिनहरु । शुक्रबार असार १५ गते धान दिवस ।

‘धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ । आजको दिन नेपालीहरुले पर्वको रुपमा पनि मनाउने गरेका छन् । यो दिन दही चिउरा खाने चलन छ । यस्तै असार १५ को दिन हिलो छुनै पर्ने मान्यता पनि रहि आएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन सुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन हरेक वर्ष धान दिवस मनाइँदै आएको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल ग्राहस्थ उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल ग्राहस्थ उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

जल, जमिन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमिन खण्डिकरण भई घडेरीकरणमा रूपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरूपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरूको भनाई छ ।

नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२÷५३ लाख मेट्रिक टन रहेको छ । तर गएको वर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो ।

नेपालीहरू दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना दुई अर्बको चामल आयात हुन्छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शङ्कर सापकोटाले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउँछन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको रहेको बताए । विश्वको कुल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एसिया महादेशमा बसोबास गर्छन् ।

एसियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एसियामै पर्छन् ।
त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् ।

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्