रौतहटमा नेपाल प्रहरी र भारतीय अपराधीबिच भिडन्त, एकजनाको मृत्यु

रौतहट – रौतहटमा प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।

स्थानीय राजदेवी नगरपालिका  ४ गडहिया डुमरिया नजिक बागमती नदीको बाँधमा बिहीबार राति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबिच दोहोरो गोली हानाहान भएको हो ।

दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना २५ वर्षीय भारतीय अपराधीको मृत्युु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

प्रहरीको गोली लागेर घाइते भएका निजलाई उपचारका लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले एकथान स्वचालित हतियार एसएमजी, चार थान गोली, म्यागजीन एक थान र पडकेको खोका समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए ।

पछिलो केही दिनदेखि बागमती नदी किनारको भारतीय सिमानासँग जोडिएको उक्त क्षेत्रमा भारतीय अपराधीको चलखेल बढेको विशेष सूचनाका आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय गौरबाट सो ठाँउमा प्रहरीको बिशेष टोली गएको थियो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीनजना अपराधीलाई प्रहरीले चेकजाँच गर्न खोज्दा पछाडि बसेका अपराधीले अचानक एसएमजीबाट फायर खोलेको प्रहरी निरीक्षक मनोज यादवले बताए ।

प्रहरीको जवाफी कारबाहीमा एकजना अपराधी हतियारसहित मोटरसाइकलबाट तल ढलेको र अन्य दुुईजना अपराधी बाँधको बाटो हुँदै भारततर्फ भागेको यादवले जानकारी दिए ।

घटनास्थल जिल्ला सदरमुकामबाट करीव ८ किलोमिटर पूर्वमा पर्दछ ।

असार १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्