मनकारीको सत्कर्म

अनुहारले बोलेका कथाहरु

हरेक अनुहारमा एउटा कथा हुन्छ । आफ्नै कथा । दुःख र खुशी अनि जीवनका विविध पाटाहरुको चित्र अनुहारमै खुल्छ । उसले बोल्छ । अवस्था लगभग उही हो र ठाउँ पनि । प्रतिकुल समयले चुनौती र अवसर जुरायो ।

२०७२ को भूकम्पले तनहुँ जिल्ला भानुनगरपालिका भकुन्थोकका बृद्ध, युवा र बालबालिकाको खुशी हरायो, अन्यत्र जस्तै । भूकम्पले गाउँको एक मात्र विश्व ज्योति प्राथमिक विद्यालयको भवन चर्काइदियो । भवनसँगै स्थानीयको मन ।

दुःखी मन एकातिर थियो । केही आश एकातिर । पीडाले हिम्मत दियो र संयोगले साथ अनि सहयोग ।

उनीहरुको हराएको खुशी र मीठो आस बोकेर ल्याए अमेरिकामा बस्ने नेपालीले । भूकम्पले क्षतिग्रस्त गरेको विश्व ज्योति प्राथमिक विद्यालयको भवन अमेरिकाको टेनेसी राज्यमा बस्ने नेपालीले बनाइ दिएका छन् । पसिना बगाएर, पेट काटेर आर्जेको रकमबाट ।

अहिले भवनसँगै भत्किएको मन पनि ठडिएको छ ।

अनिस नेपाली

कक्षा तीनमा पढ्ने अनिश नेपाली आँखा कम देख्छन् । साथीको हात समाएर घरबाट विद्यालय आउन उनलाई बिस मिनेट जति लाग्छ । नयाँ बनेको भवन कस्तो छ त्यो देख्न उनलाई गाहे छ तर नयाँ भवनमा पढ्न पाउदा उनी दंग छन् ।

कक्षा २ मा पढ्ने अर्जुन केसीको घर स्कुलदेखि १० मिनेट टाढा छ । यो नयाँ स्कुल कस्ले बनाइदियो त्यो त उनलाइ थाहाँ छैन तर उनको खुशी उनको अनुहारमा नजानी नजानी आएको हासोले बताउछ । भन्छन् अब नयाँ घरमा पढ्न पाइने भयो ।

अर्जुन केसी

विद्यालयका प्रधानाध्यापक नारायणबहादुर बस्याल आफैले पनी यही स्कुलमा ४२ सालमा क, ख सिके र पाँच कक्षासम्म पढे । विद्यालयको पूर्व विद्यार्थी भएकाले उनलाई एकप्रकारको आत्मविश्वास थियो स्कुलले पुनर्जन्म पाउने बारे । बस्याल भन्छन् ‘अब कहा र कसरी पढाउने चिन्ता थियो भने अर्को तर्फ नयाँ भवन कसरी बनाउने सकस थियो । भवन त जसरी पनी बनाउनु थियो ।’

विद्यालयका प्रधानाध्यापक नारायण बहादुर बस्याल

जिल्ला शिक्षा कार्यलयले बनाइ दिन्छु भनेको थियो तर बजेट अभावले पछि हट्यो । ‘आफै पढेको स्कुल यक्तिकै छोड्न कहाँ मन लाग्थ्यो’ नारायण भन्छन् ।

२०३४ सालमा स्थापना भएको स्कुल यो पहाडी गाउको शिक्षाको सानो भाडो हो ।

अहिले स्कुलसँग ४ वटा भवन छन् । २ वटा जिल्ला शिक्षा कार्यलयले र १ वटा मध्य मर्स्याङ्दी जलविधुत आयोजनाले बनाइदिएको छ ।

भूकम्पले भत्काएको सबैभन्दा पुरानो भवनको ठाउँमा नयाँ भवन बनाएर अमेरिकामा बस्ने नेपालीले गएको जेठ २९ मा हस्तान्तरण गरेका छन । पहिले ६ कोठाको कच्ची भवन थियो अहिले ४ कोठाको पक्की भवन विद्यालयले पाएको छ । विद्यालयमा ६० जना विद्यार्थी पढ्छन् ।

न उनले हार माने न स्थानियले । भवन बनाउन स्थानीयको पनि सहयोग छ । स्थानीयसँग काध जोड्न आइपुग्यो आमेरिकामा बस्ने नेपालीको संस्था न्यासभिल नेपलिज एसोसियसन । भवन बनाउन करिव २८ लाख लागेकाे छ । संस्थाले करिब २२ लाख रुपैयाँ नगद सहयोग गरेको छ । स्थानीयले २ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान गरेका छन् । दिनरात नभनी ।

एनअारएन एनसीसी युएस  र साेमित वर्ल्ड फाउन्डेशन न्याशभिल  टेनेसी-युएसले पनी एनएनएकाे सहयाेगमा हातेमाले गरे । अमेरिका बाटै । एनअारएन एनसीसी युएसले २ लाख ५० हजार सहयाेग गर्‍याे भने साेमित  वर्ल्ड फाउन्डेशन न्याशभिलले ५ लाख  नगद सहयाेग गर्‍याे । यता भानु नगरपालिका वडा नं. २ काे कार्यालयले १ लाख र स्व. सीता थापा स्मृति काेषले ४० हजार सहयाेग गर्‍याे ।

प्राधानाध्यापक बस्याल भन्छन्-टाढाबाट उहाँहरुले सहयाेग गर्नुभयाे यहाँ अन्य स्थानियले । व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर बाँचे, स्थानीय मेघबहादुर थापा लगायत स्थानीयले खाल्टो खन्ने, बालुवा चाल्नेदेखि उद्घाटन गर्नेसम्ममा सहयोग गरेकाे अझै सम्झिन्छन् बस्याल ।

गाउँमा अधिकांश दलित परिवार बस्छन् । सबैको पेशा ज्याला मजदुरी । हिँडेर लगभग ४५ मिनेट टाढासम्म कुनै स्कुल छैन । यहाँ आधा घण्टासम्म हिँडेर पढ्न आउँछन् । ६० जना विद्यार्थीमा ५० जना विपन्न दलित परिवारका विद्यार्थी पढ्छन् ।

१ वर्ष अघि निमार्ण सुरु भएको भवन बनाउने काम सम्पन्न भएर पढाइ सुरु भएको छ ।

राष्ट्रिय गान गाउदै विद्यार्थीहरु

संयोग र सहयोग


त्यही वडाका सन्तोस थापा नारायणका साथी हुन् । सन्तोस पढाइको सिलसिलामा अमेरिकाको टेनेसी राज्यमा छन् र उनी त्यहाँ सामाजिक संस्था न्यासभिल नेपलिज एसोसिएसन युएसएमा आबद्ध छन् ।

उता अमेरिकामा पनि उक्त संस्थाले भूकम्प पछि सहयोग गर्ने गतिलो ठाउँ खोजिरहेको थियो । भरपर्दो प्रस्ताव र आवश्कता भएको ठाउँमा । सहयोग विद्यालयलाई दिन उनले उक्त संस्थालाई प्रभावित गर्न सके ।

NNA संस्थाका उपाध्यक्ष डा.भरत पोखरेल

संस्थाका उपाध्यक्ष डा.भरत पोखरेल भन्छन् ‘हाम्रो एउटा मात्र शर्त थियो । हामी नगद सहयोग त गर्छौ तर उहाँहरुले के गर्न सक्नुहुन्छ आफ्नो विद्यालयको लागी त्यो कुरा महत्वपुर्ण हुन्छ । जुन काममा स्थानियको भावनात्मक सम्बन्ध जोडिदैन त्यसमा रेखदेख र त्यो जीवन्त स्कुल भन्दा एउटा निर्जीव भवन मात्र बन्न जान्छ, भन्ने हामीले अनुभव लिइ सकेका थियौँ ।’

भवन हस्तान्तरणमा सामेल हुन अमेरिकाबाट भकुन्थोक पुगेका उनले भने ‘यस अघि नेपालमा विभिन्न संस्थामा रहेर सामाजिक क्षत्रमा काम गरेको अनुभवले त्यो निष्कर्षमा पुगेको हुँ । प्रधानाध्यापक र स्थानीयले हामीले सक्ने जती गर्छौ भन्नुभयो प्रस्ताव मनपर्‍यो ।’ संस्थाका अध्यक्ष घनश्याम भट्ट १ वर्ष अगाडि आएर उहाँहरुसँग छलफल गरेपछी निर्माण सुरु भएको थियो ।

NNA संस्थाको सहयोग


अमेरिकाको टेनेसी राज्यमा बस्ने नेपालीले समस्यामा रहेका नेपालीलाई सहयोग गर्नको लागि २०१० मा मुनाफा रहित संस्था न्यासभिल नेपलिज एसोसियसन(NNA) खोले । ‘यस अघि यो सहयोग अमेरिकामा नै सीमित थियो तर अहिले नेपालमा आएका छौँ’ उपाध्यक्ष पोखरेल भन्छन् ‘यो हाम्रो पहिलो काम हो । अव यसले निरन्तरता पाउछ । यस्तै कामहरु गर्दै जाने छौँ ।’

‘विद्यालय बन्यो हस्तान्तरण गर्‍यौँ’, खुशी हुँदै उनले भने ‘हामीले गर्न सक्ने गर्‍यौँ अब संरक्षण गर्ने जिम्मा उहाँहरुको ।’

उनीहरुको दुःख पनि कम त छैन, आवश्यक रकम संकलनमा । न रकम सानो, न मन, न त दुःख । हामीलाई पनि धेरैले सहयोग गर्नुभयो अमेरिकामा रकम संकलनको लागि पोखरेल भन्छन् ‘मन्दिर, मस्जिद, गुरुद्धार तथा चर्चमा गएर रकम संकलन गर्‍यौँ हामीले । कन्सर्टको टिकट बेच्ने देखि समोसा बनाएर बेच्ने काम गर्‍यौँ हामीले’ हल्का मुस्कुराउदै उनले भने ।

अभिभावकसँगै उनीहरुका छोरा छोरीको दुःख पनि सानो छैन । अमेरिकामा भर्खर १२ पास गरेकी सहारा पोख्रेलले पनि संस्थाको यो काममा सक्दो सहयोग गरिन र उनी जस्तै अन्य विद्यार्थाहरुले पनि । उनले आफ्नो अभिभावकसँगै समोसा बनाइन र बेचिन अनि विभिन्न कार्यक्रममा नाच्न पनि भ्याइन् ।

अमेरिकामा एक कार्यक्रममा नाच्दै सहारा पोख्रेल

‘एक कार्यक्रममा नाचेको ५ हजार डलर सहयोग पाएका थियौँ’ उनले सम्झिइन् । सहारा जस्तै आस्था भट्ट, अंशु थापा, सिजल श्रेष्ठ, श्रीती अमित, विमोचना सापकोटा, जयानी रायमाझी लगायतका विद्यार्थीले नेपालमा रहेका आफू जस्तै विद्यार्थीका लागि दिन रात नभनी रकम संकलनमा सहयोग गरे ।

सबै तस्बिर : प्रभात खनाल /देश सञ्चार

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्