फोर्लानको दाबी

रोनाल्डोलाई रोके आधा पोर्चुगल रोकिन्छ

कप्तान तथा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई रोक्न सकेमा उरुग्वेले पोर्चुगलको ५० प्रतिशत चुनौती रोक्न सक्ने पूर्व स्ट्राइकर उरुग्वेका पूर्व स्ट्राइकर डिएगो फोर्लानले बताएका छन् ।

उरुग्वेले रुसमा जारी विश्वकप फुटलबलको अन्तिम १६ मा शनिबार पोर्चुगलको सामना गर्दैछ ।

पोर्चुगलका कप्तान रोनाल्डोले रुसमा जारी विश्वकप फुटबलमा अहिलेसम्म चार गोल गरेका छन् । उनले स्पेनसँगको पहिलो खेलमा ह्याट्रिक गरेका थिए ।

यस्तै उरुग्वे रुसमा जारी विश्वकपमा एउटा मात्रै त्यस्तो टिम हो, जसले अहिलेसम्म गोल खाएको छैन । उसले समूह चरणका तीनै खेल जितेको थियो र त्यसक्रममा उसले गोल हान्यो मात्रै खाएन ।

उरुग्वेका पूर्व स्ट्राइकर फोर्लानले बिबिसीसँग भने, ‘रोनाल्डो लिडर हुन्, उनले गर्ने गरेका गोल र ती गोलका तरिका तथा त्यो कति महत्वपूर्ण छन् भन्ने कुराले उनी लिडर हुन् भन्ने देखाउँछ ।’

स्पेनसँगको खेलको अन्तिम समयमा रोनाल्डोले फ्रि–किक मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । यस्तै मोरक्कोसँगको खेलमा पनि रोनाल्डोले नै विजयी गोल गरेका थिए ।

तर इरानसँगको खेलमा उनले गोल गर्न सकेनन् । पेनाल्टीमा पनि चुके । उनको टिम बराबरीमा रोकियो र समूह बी को उपविजेतामा सीमित बन्यो । यसले गर्दा समूह ए को विजेता उरुग्वेसँग उसको भेट पक्का भएको हो ।

दुई पटकको विश्व विजेता उरुग्वे पोर्चुगलका लागि कडा प्रतिस्पर्धी हो । राष्ट्रिय टिमका लागि ११२ खेलमा ३६ गोल गरेका फोर्लानले उरुग्वे डिफेन्सिभ टिम रहेको र राम्रा डिफेन्डर टिममा रहेको बताए ।

उनले भने, ‘रोनाल्डो उत्कृष्ट खेलाडी हुन् तर म हाम्रो टिमको डिफेन्सका कारण ढुक्क छु । यस्तै टिमले पनि राम्रो गरिरहेको छ ।’

तर पोर्चुगलसँगको खेलमा चनाखो भने हुनु पर्ने उनको भनाई छ । फोर्लानले रोनाल्डोसँगै सन् २००३ देखि २००५ सम्म म्यानचेस्टर युनाइटेडमा सँगै खेलेका थिए । रोनाल्डो स्पोर्टिङ्ग लिस्बोनबाट आएपछि फोर्लानले उनको ट्रान्सलेटरको भूमिका पनि निर्वाह गरेका थिए ।

सन् २०१० को विश्वकपमा फोर्लानले पाँच गोल गरेका थिए र उनले प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पाएका थिए । त्यो बेला उरुग्वे चौथो भएको थियो ।

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्