दयालु रुख : नाटक समीक्षा

आफूलाई मेटाएर पनि दिन नछोड्ने ‘रुख’

काठमाडौँ – एक बालक असजिलो गरी पाइला लतार्दै रुखको नजिक आइपुग्छ । एक्लै छ, दुःखी छ, उससँग खेल्ने साथी छैनन् । नजिकै ठडिएर नियालिरहेको रुखको मन बालकको अवस्थाले कटक्ट खान्छ ।

निराश बालक आफ्नै सुरमा गीत गाउन थाल्छ, रुखले उसँगै गाइदिन्छ । बालकले जब थाहा पाउँछ कि रुखले उसलाई साथ दिएको छ, उ रुखसँग लुटपुटिएर बस्छ । उसको हाँगामा खेल्छ । उसको फल खान्छ ।

लुकामारी खेल्छ, थाकेर रुखँको फेदमा सुत्छ । आफूलाई माया गर्ने साथी पाएकोमा बालक मख्ख छ, र रुख उसलाई काँखमा लिन र माया दिन पाउँदा।

यो लेखक सिल सिल्भरस्टेनले लेखेको बालकथा ‘द गिभिङ ट्रि’ कथा हो । ‘द गिभिङ ट्रि’ लाई सांकेतिक रुपमा नेपालीमा ‘दयालु रुख’ भन्ने गरिन्छ ।

यसरी दयालु रुखले आफ्नो मायाले बालकलाई छपक्क ढाकेको दृष्य टेकुको ‘कौशी’ थिएटरमा देख्न सकिन्छ । असार ९ गतेदेखि हरेक साँझ साढे पाँच बजे मञ्चन भइरहेको छ । जसमा बालकको खुशीका लागि रुखले दिएको बलिदानलाई देखाउन खोजिएको छ ।

रुखको रुपमा ठडिएको पात्र त्यो बालकको अनुहारमा खुशी ल्याउन लालायित छ । सानो भएको बेलामा, वयस्क हुँदै जाँदा र वृद्ध हुँदा पनि । उमेरसँगै फेरिँदै गएको उनको मागलाई पूरा गर्न आफैलाई नङ्ग्याएको कथा हो, ‘दयालु रुख’ ।

‘खुशी….’ जम्मा दुई अक्षरले बनेको यो शब्दको अर्थ ठ्याक्कै यहि भन्ने हुँदैन । ‘युनिभर्सल फ्याक्ट’ वा ‘आन्सर’ जस्तो खुशीको परिभाषा सायद पाउन नसकिएला । तर मानिस वा प्राणीको अस्तित्व यो संसारमा रहुन्जेल विभिन्न रुपमा देखिन्छ खुशी, पाइन्छ खुशी ।

यो मानिसको अनुहार जस्तै हो, अलिअलि एक त अलिअलि अर्कोसँग मिलेको । तर काटिकुटी उस्तै हो भन्न नसकिने खुशी पाइने तरिका पनि हरेकमा फरक हुन्छ । कसैलाई कोहीसँग लिएर त कसैलाई दिएर मिल्छ खुशी ।

सट्टापटमा चल्ने संसारमा एक मुठी सास रहुन्जेल धेरै कुरा लिइन्छ, दिइन्छ । यसरी नै चलेको थियो, चलेको छ र चलिरहन्छ । केही देखिन्छन्, केही अनुभूति हुन्छ मनमा ।

दयालु रुखले यस्तै अवस्थालाई चित्रण गरेको छ । सम्वेदना सजीवलाई बाँचुञ्जेल चाहिने ओखती हो । र लेनदेनको हिसाबमा सबैभन्दा बलियो भइदिन्छ सम्वेदना । माया, ममता, घृणा, इश्र्या, लोभ इत्यादिले जिउने जिजीविषालाई अड्याएर एक गन्तव्यमा पु¥याउँछ र यो एकदिन समाप्त हुन्छ । यति बिचमा प्राण अड्याउने शुत्र खुशीलाई धेरैले धेरै तरिकाले पाइरहेका हुन्छन् ।

५० वर्ष अगाडि अमेरिकन लेखक सिल सिल्भरस्टेनले लेखेको बालकथा पढ्दा जति सामान्य छ । बुझाईमा त्यति नै गरिहो । दयालु रुखलाई मानवसँग तुलना गर्दा रुखले सांकेतिक रुपमा आमाको अवतारलाई बुझाउँछ, र बालक उनको सन्तान ।

आमाले आफ्नो सन्तानको लालनपालनको लागि बेहोर्नु पर्ने भूमिका र हुनु पर्ने परिपक्कतालाई बुझ्न सकिन्छ । यस्तै बालकको भूमिकाले सन्तानले अभिभावकसँग गर्ने अपेक्षालाई देखाएको छ ।

कथालाई प्रकृति र मानव समुदायसँग जोड्ने हो भने मानवको स्वाभावको तितोपनलाई बुझाउँछ । बालकको खुशीको लागि हरपल, हरसंभव तयार हुने रुखले प्रकृतिले मानवको लागि गरिरहेको योगदान र मानव जसले असन्तोकी व्यवहार देखाएर प्रकृतिलाई प्रयोगलाई चित्रण गर्छ । हाम्रै अस्तित्वका लागि निछावर भएको प्रकृतिलाई सम्मान नगर्ने हामी मानिसको प्रवृति हो नाटक ‘दयालु रुख’।

‘दयालु रुख’ हेरिरँहदा धेरै आख्यान र उपदेशको स्मरण भयो । ‘लिन जान्नेले दिन पनि जान्नुपर्छ’ ‘सधैँ हात तल पार्ने हैन, हात माथि पनि पार्नु पर्छ ।’ हाम्रै जीवनमा हामी कतिपल्ट रुख र कतिपल्ट बालक पनि बनेका हुन्छौँ । जीवन चलाउने व्यवहारिक पाटोमा यस्ता परिस्थिति आइरहन्छन् । आफू बालक हुँदा रुखको अवस्थालाई बुझ्ने सन्देश दिने नाटक ‘दयालु रुख’ ले स्नेहको पाठ सिकाउँछ ।

असार ९ गतेदेखि मञ्चन भइरहेको नाटक ‘दयालुु रुखलाई आकांक्षा कार्कीले निर्देशन गरेकी छन् । लगभग ५० मिनेटको नाटकमा हाँसो र रोदनलाई अनुभूति गर्न पाइन्छ । नाटक असार २४ गतेसम्म कौशी थिएटरमा मञ्चन हुनेछ । मञ्चन अवधिको बिच बिचमा हुने मौनतालाई विभिन्न छन्दहरुले, गिटारको संगीतमा भरेका छन् ।

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्