विश्वकप २०१८ : उरुग्वे भर्सेस पोर्चुगल

४६ वर्षपछि हुँदैछ भेट : रोनाल्डोको भरमा पोर्चुगल र गोल नखाएको उरुग्वे

टिममा उनी छन् र पूरै टिमको चर्चा बलियो छ । उनले यो कुरा प्रमाणित पनि गरेका छन्, आफ्ना खेलहरुले । उनकै बलमा पोर्चुगलले रुसमा जारी विश्वकप फुटबलमा अन्तिम १६ को यात्रा तय गरेको छ । उनी अर्थात पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो ।

समूह चरणमा स्पेनसँगको पहिलो खेलमा उनकै ह्याट्रिकमा पोर्चुगलले बराबरी गर्‍यो । मोरक्कोसँगको खेलमा उनैले विजयी गोल गरे । इरानसँगको खेलमा उनी पेनाल्टीमा चुके, टिमले बराबरी गर्‍यो ।

यसरी समूह बी को उपविजेता बनेको दुई वर्षअघिको युरोकप च्याम्पियन पोर्चुगलले शनिबार राति विश्वकपको अन्तिम १६ मा बलियो देश उग्वेको सामना गर्दैछ ।

यो विश्वकपमा उरुग्वे एक मात्र त्यस्तो देश हो, जसले समूह चरणका तीन खेलमा एक गोल पनि खाएको छैन र सबै खेल जितेको छ । लुइस स्वारेज, एडिसन काभानीसहितका खेलाडीले उरुग्वेलाई बलियो बनाएको छ ।

रक्षापंक्ति बलियो रहेको उरुग्वे यो विश्वकपमा निकै लयमा देखिएको छ । पोर्चुगल र उरुग्वेबिचको खेल शनिबार राति पौने १२ बजे सोचीमा हुनेछ ।

यो खेल पूर्व विजेता र पहिलो पटक विश्वकपको सपना देखिरहेको टिमबिचको प्रतिस्पर्धाको रुपमा पनि हेरिएको छ । उरुग्वेले सन् १९३० र १९५० मा विश्वकपको उपाधि जितेको थियो ।

यो खेलमा उरुग्वेका सेन्टर ब्याक जोसे गिमिनेज ढाडको चोटबाट मुक्त भएर मैदान फर्किने सम्भावना छ । यस्तै पोर्चुगलका विङ्गर गेल्सन मार्टिन्स र लेफ्ट–ब्याक राफाएल गुएरिइरो चोटबाट मुक्त भएर मैदान फर्किने तयारीमा छन् । तर डिफेन्सिभ मिडफिल्डर विलियम कारभाल्होले खेल्नेमा भने संका छन् ।

इरानसँगको खेलमा इन्जुरी समयमा गोल खाएर पोर्चुगल समूह बी को उपविजेता बनेकाले उरुग्वेसँग भेट भएको हो ।

दुई टिमको भनाई


उरुग्वेका प्रशिक्षक ओस्कार ताबारेजले अन्तिम १६ को खेल जुनसुकै बेला कठिन बन्न सक्ने भएकाले सचेत हुनु पर्ने बताएका छन् । तत्काल सुधार गर्न सक्ने खुबी हुनु पर्ने उनले बताए ।

उनले भनेका छन्, ‘हामीले रुस विरुद्धको खेलमा गरेको प्रदर्शनपछि तत्काल सकिने जति सुधार गर्नु आवश्यक छ । किनकी अन्तिम १६ का खेल सजिला हुँदैनन् ।’

उनले अघि भनेका छन्, ‘जब हामीले अट्याक गर्छौँ, हामी फेरि त्यस्तै अट्याकका लागि तायर हुनु पर्छ ।’

उरुग्वेका डिफेन्डर सेबास्टियन कोएटसले रोनाल्डोका बारेमा कुरा गर्दै भने, ‘हामी उनलाई उरु कुनै खेलाडीलाई गरिने सम्मान जस्तै गरी सम्मान र आदरको नजरले हेर्छौँ, उनी सुपरस्टार भए पनि । एक खेलाडीलाई मात्रै हेरेर खेलको तयारी हुँदैन ।’

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले उरुग्वे दक्षिण अमेरिकी देश रहेको र त्यहाँको फुटबल आफूहरुले बुझेको बताए ।

उनले भने, ‘उनीहरुले यो विश्वकपमा गोल खाएका छैनन् । उनीहरुले यो वर्षमै गोल खाएका छैनन् । ओस्कार ताबारेज लामो समय राष्ट्रिय टिमको प्रशिक्षक रहेका छन् । यसको अर्थ खेलाडीसँग राम्रो सम्बन्ध छ उनको ।’

हेड–टू–हेड


विश्वकपमा उरुग्वे र पोर्चुगलबिच हुन लागेको यो पहिलो भेट हो । यसअघि उनीहरुबिच विश्वकप भन्दा बाहिर दुई पटक भेट भएको छ । पछिल्लो पटक यी दुई टोली एक अर्कासँग खेलेको भनेको ४६ वर्षअघि हो ।

सन् १९७२ को जुलाई मा रिओ दि जेनेरियोको माराकाना रंगशालमा भएको खेल १–१ को बराबरीमा सकिएको थियो । त्यो भन्दा अघि सन् १९६६ को जुनमा भएको मैत्रीपूर्ण खेलमा भने पोर्चुगल ३–० ले विजयी भएको थियो ।

उरुग्वे


जारी विश्वकपमा उरुग्वे एकमात्र त्यस्तो टिम हो जसले समूह चरणका तीन खेलमा गोल खाएको छैन । तर विश्वकपको अन्तिम १६ मा भने उसको विगत त्यति राम्रो छैन ।

सन् १९८६ मा विश्वकपमा अन्तिम १६ को फरम्याट लागु भए यता उरुग्वे पाँच पटक अन्तिम १६ मा पुगेको अहिलेसहित । तर यसअघिका चार पटकको अनुभव त्यति राम्रो छैन ।

तीन पटक उ बाहिरिएको छ । सन् २०१० मा अघि बढेको उरुग्वे सन् १९८६, १९९० र २०१४ मा भने अन्तिम १६ भन्दा अघि जान सकेन ।

उरुग्वे विश्वकपमा लगातार चार खेलमा जित निकाल्दै दोस्रो पटक यो करामत गर्न चाहन्छ । यसअघि उसले सन् १९३० को विश्वकपमा उसले चार खेल जितेको थियो ।

उसले विश्वकपका सुरुका चार खेलमा गोल नखाएको भनेको पछिलले पटक सन् १९८६ मा हो । अहिले तीन खेलमा उसले गोल खाएको छैन ।

यो विश्वकपमा उरुग्वेले पाँच गोल गरेको छ र ती सबै सेट पिसेसमा भएका गोल हुन् । तीन वटा गोल कर्नर किकबाट भएका छन् । यस्तै एउटा सीधा फ्रि–किकबाट तथा अर्को एउटा फ्रि–किकमै सम्बन्धित भएर गोलमा परिणत भएको हो ।

पोर्चुगल


पोर्चुगलले मुख्य प्रतिस्पर्धामा पछिल्लो समय राम्रो गरिरहेको छ । पेनाल्टी सुटआउट हटाउने हो भने मुख्य प्रतिस्पर्धामा पछिल्ला १७ खेलमा एक पटक मात्रै पराजित भएको छ ।

उसले ८ खेल जितेको छ भने ८ खेलमा बराबरी भएको छ । पछिल्लो पटक उ सीधै पराजित भएको भनेको सन् २०१४ को विश्वकपमा जर्मनीसँग ४–० ले हो ।

तर विश्वकपमा नकआउट चरणका खेलमा उसको विगत गतिलो छैन । नकआउट चरणका पछिल्ला तीन खेलमा उ पराजित भएको छ । त्यसमा उसले मात्रै एक गोल गरेको छ भने पाँच गोल खाएको छ ।

कप्तान क्रिष्टियानो रोनाल्डोले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन् । उनले विश्वकपको नकआउट चरणमा अहिलेसम्म ४२४ मिनेट खेलको छन् र गोल गरेका छैनन् ।

तर यो विश्वकपमा उनले चार गोल गरिसकेका छन् । उनले सोचीको फिस्ट रंगशालामा स्पेनसँगको खेलमा ह्याट्रिक गरेका थिए । यसको अर्थ रोनाल्डोका लागि यो रंगशाला फाप पनि हुन सक्छ ।

विश्वकप र युरोकपमा गरी रोनाल्डोका लागि यो खेल ३८ सहभागिता हुनेछ । उनले बास्टिएन श्वान्स्टिाइगरको कीर्तिमानसँग बराबरी गर्ने छन् ।

प्रशिक्षकका रुपमा सान्तोसको यो मुख्य प्रतिस्पर्धाको नकआउट चरणमा लगातार चौथो सहभागिता हो ।

यसअघि उनले ग्रिसलाई सन् २०१२ को युरोकप र २०१४ को विश्वकपमा नकआउट चरणमा लगेका थिए । यस्तै पोर्चुगललाई सन् २०१६ मा नकआउट चरण मात्रै होइन युरोकपको उपाधि नै दिलाए ।

असार १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्