रोनाल्डोले सन्यासबारे के भने ?

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्यका बारेमा चर्चा गर्न अस्वीकार गरेका छन् । शनिबार राति भएको अन्तिम १६ को खेलमा उरुग्वेसँग २–१ ले पराजित भएपछि पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो ।

बाहिरिएपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन सक्ने अनुमान गरिएको थियो ।

तर रोनाल्डोले भने अहिले नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने संकेत गरेका छन् । उरुग्वेसँगको खेलपछि रोनाल्डोल भने, ‘यो समय खेलाडी वा प्रशिक्षकको भविष्यका बारेमा कुरा गर्ने उपयुक्त समय होइन ।’

उनले अघि भने, ‘हामीसँग उत्कृष्ट समूह, भविष्यलाई हेर्न सक्ने युवा खेलाडी छन् । मेरो विचार टिम बलियो रहिरहने छ ।’

रोनाल्डो कतारमा चार वर्षपछि हुने विश्वकपका बेला ३७ वर्षका हुनेछन् । तर उनले आफ्नो भविष्यका बारेमा केही खुलाएनन् ।

पोर्चुगलका प्रशिक्षक फरनान्डो सान्तोसले यसअघि रोनाल्डोले फुटबलमा अझै धेरै दिन बाँकी रहेको बताएका थिए ।

उनले भने, ‘कप्तान रोनाल्डोले अझै धेरै दिनु छ फुटबलका लागि । सेप्टेम्बरमा प्रतियोगिता हुँदैछ (युइएफए नेशन्स लिग) र हामीसँग रोनाल्डो हुनेछन् भन्ने आश छ । उनले खेलाडीलाई माथि उठ्न सहयोग पक्कै गर्ने छन् ।’

उनले अघि भने, ‘कप्तान त्यहाँ उपस्थित हुनु महत्वपूर्ण हुनेछ र उनी जहिले हामीसँग हुनेछन् ।’

असार १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्