विद्यार्थीको एसईईपछिको गन्तव्‍य

‘सपनाको मलामी पठाएर आजीवन दुःखी नबनाऔ’

केही दिन अगाडि एसईईको परीक्षाफल प्रकाशित भएको छ।अहिले लाखौं विद्यार्थीहरू जीवन एउटा निर्णायक मोडमा रहेका छन्।विद्यार्थीहरु के पढ्ने, के बन्‍ने र जीवनको बाटो के बनाउने भन्ने दुविधा रहदाँ अभिभावक पनि आफ्ना सन्तानको भविष्य कसरी उज्वल बनाउने र कुन बाटोमा हिडाउने भन्‍ने प्रयत्‍नमा छन्।

अहिले विद्यार्थीले सही बाटो छान्‍न सकेनन्  र अभिभावकले पनि सहि बाटो हिडाउन सकेनन् भने जीवन नै अस्तब्यस्त हुनसक्छ। समय र स्रोतको बर्वादि हुन्छ त्यसैले अहिले विवेकपूर्ण निर्णय गर्ने समय हो।आम अभिभावक र विद्यार्थीले निम्नलिखित विषयमा थौरै ध्यान दिने हो भने विवेकपूर्ण निर्णय लिन सघाउ पुग्न सक्छ।

सपनाहरुमा सहमति हरेक अभिभावकको सपना आफ्ना सन्तानको जीन्दगी खुसी र सुखी होस भन्‍ने हुन्छ। अभिभावकले सन्तानलाई आफ्नो ओहदा भन्दा अलिकतिमात्रै भएपनि माथि भएको हेर्न चाहन्छन्।

केहि अभिभावक आफूले जीवनमा पुरा गर्न नसकेका सपना सन्तानले पुरा गरिदिउँन भन्ने पनि चाहन्छन्। यसलाई एक अर्थमा स्वभाविक पनि मान्न सकिएला।

यदि सन्तान र अभिभावकका सपना समान बनाउन सके सपनाले पुरा गर्न निकै सहज हुन्छ। तर अभिभावक र सन्तानका सपना फरक फरक भए एउटाको पनि सपना पुरा नहुन सक्छ। त्यस अवस्थामा अभिभावकले सन्तानका सपनासँग सहमति गरिदिनुपर्छ।अर्थात आजको दिनमा सन्तानलाई स्वतन्त्र भएर खुल्लारुपमा आफ्ना सपना देख्‍न दिनुपर्दछ।स्लिपिङ् ट्याबलेट खुवाएर जवरजस्ती निदाउन लगाएर देखाइएको सपनाले जीवनमा न त सुख नै दिन्छ न न त खुसी प्राप्त नै हुन्छ।

मनोविज्ञान र क्षमताको पहिचान

प्रायजसो अभिभावकहरु आफ्ना सन्तानले एसइईमा ल्याएको अंक वा ग्रेडलाई आधार मानेर आफ्ना सन्तानलाई कुन विषय पढाउने भन्‍ने निर्णय गर्छन। एसइईमा ग्रेड कसरी आयो? सन्तानले कुन विषयमा चासो राख्छ, एसइईमा कम ग्रेड आएको विषय पनि सन्तानको रुची हुन् सक्छ भनेर ख्याल गर्दैनन्।जुन विषयमा बढी ग्रेड आएको छ त्यही विषय पढाइ हुने क्याम्पस खोज्दै हिड्छौं।

धरै अभिभावक सन्तानको मनोविज्ञान के छ भन्‍ने सल्लाह नै गर्दैनन्। छिमेकी र साथीभाईलाई मार्क सीट देखाएर कुन विषय पढाउने भनेर सरसल्लाह गर्ने गर्छन्। हामीले यही समाजमा एसइईमा उत्कृष्ट अंक वा ग्रेड ल्याएर पास भएका विद्यार्थीको पढाई पनि बिग्रिएकका कयौं उदाहरण छन्।

सन्तानको मनोविज्ञान र क्षमताको पहिचान नगरी अभिभावकको एकल निर्णयले गरिदाँ पनि विद्यार्थी कमजोर बनेका हुन् सक्छन्। त्यसैले अभिभावक अवरोध नभएर अवसर बन्‍नतर्फ लाग्नुपर्छ।

लहड भन्दा रहरलाई प्राथमिकता दिनुपर्दछ

प्रायजसो अभिभावक सन्तानको पढाईलाई सामाजिक प्रतिष्ठा र इज्जतको विषय बनाउँछन्।

छिमेकीको छोरा वा छोरीले के पढे आफन्त वा ईष्टमित्रका छोरा वा छोरी के बने त्यसमा बढि ध्यान दिन्छन्। र आफ्ना सन्तानलाई पनि त्यस्तै बनाउन खोज्छन् तर आफ्नो सन्तानको रहर के छ त्यसतर्फ ध्यान दिदैनन्।

अथवा आफ्नो सन्तानलाई उसको रहर अनुसार पढ्न दिदाँ छिमेकीको सन्तान वा इष्टमित्रको सन्तानभन्दा राम्रो गर्न सक्छ भन्ने ख्यालै गर्दैनन्।

धेरै अभिभावकहरु सन्तानको रहर र चाहना गौण राख्दै सन्तानलाई आफ्नो चाहना अनुसार दौढाउँन खोज्छन्। उनीहरु लहडकै पछाडि दौडिन्छन्। खर्चका आधारमा प्रतिष्ठित र उच्च मानिएका पेशाका विषयबस्तु नै जबरजस्ती पढाउने प्रयत्‍न गर्छन्। सन्तानलाई स्वतन्त्र निर्णय लिन दिदैनन्।

स्वतन्त्रता र चाहना विना सफलता हासिल गर्न कठिन हुन्छ भन्ने ख्यालै गदैनन्।

हामी हाम्रा घरका भित्ता सुन्दर तस्बिरले सजाउन चाहन्छौ तर सन्तानलाई तसबिर बनाउने कला सिक्न दिदैनौं। सुमधुर संगीत सुन्‍न चाहन्छौ तर आफ्नो सन्तानलाई संगीतको स सम्मपनि उच्चारण गर्न दिदैनौ।

देशमा राम्रो राजनीतिज्ञ देख्न चाहन्छौ तर आफ्ना सन्तानलाई राजनीतिबाट कयौं कोष टाढा राख्न चाहन्छौ। सन्तानका चाहना हुँदाहुँदै पनि हाम्रा सन्तानलाई रहरभन्दा लहडकै पछि दौडाउँदा दौडाउदै पत्रकार बन्न चाहनेलाई चित्रकारको बाटोमा हिडाइ दिन्छौं चित्रकार बन्नेलाई कथाकारको बाटोमा हिडाईदिन्छौं कथाकार बन्न चाहनेलाई कलाकारको बाटोमा हिडाइ दिन्छौं।

यदि कालोकोट पहिरने सपना बोकेकालाई सेतोकोट पहिर्‍याइदियो भने र सेतोकोट पहिरने सपना बोकेकालाई कालोकोट पहिराइदियो भने एउटा जीन्दगी आजीवन कालो अन्धकार हुन्छ र अर्काको जीन्दगी सदैव सेतो कोट जस्तै रङ्गविहीन बनि दिन सक्छ।

मार्कर बोक्ने सपना बोकेकालाई फिता र स्केल बोकाइदियो र फिता र स्केल बोक्न चाहनेलाई मार्कर बोकाइदियो भने न एउटाले नदीका दुई किनारलाई पुलले जोड्न सक्छ न त सपनाको सुन्दर संसारको नक्सा नै कोर्न सक्छ। यति मात्रै होइन उसले न त अर्कोले विश्वविद्यालयका विद्यार्थीलाई दक्ष नै बनाउन सक्छ। त्यसैले अभिभावकले आफ्ना सन्तानलाई सपनाको जन्ती पठाएर आजीवन हाँसी खुसी बिताउन दिने की सपनाको मलामी पठाएर आजीवन दुःखी बनाउने?

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्