मेस्ट्रो मिडफिल्डर इनिएस्टा

यसरी बिदा लिन्छु, सोचेको होइन

दुई महिनाअघि उनले भनेका थिए, रुस विश्वकप राष्ट्रिय टिमबाट आफ्नो अन्तिम प्रतिस्पर्धा बन्न सक्छ ।

त्यो बेला उनको सपना सायद यहि थियो, ‘एक पटक फेरि त्यो विश्वकपको ट्रफी देशलाई जिताउने माध्यम बन्छु अनि बिदा लिन्छु ।’ तर सोचे जस्तो र देखेको सपनाजस्तो भएन विपना ।

८ वर्षअघि विश्वकपको उपाधि उचाल्दा फाइनलमा विजयी गोल गरेका स्पेनका आन्द्रेस इनिएस्टाले हारबाट अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरे ।

कलात्मक खेलका लागि चर्चित स्पेन र त्यो कलालाई अझ निखारेका इनिएस्टा । रुस विश्वकपमा अब न स्पेनको कला देख्न पाइने छ । त न इनिएस्टाको शालिन अनुहार र त्यस्तै शालिन तर उत्कृष्ट खेल कौशल ।

स्पेन फेरि विश्वकपमा पक्नै देखिने छ । उसले फेरि विश्वकप जित्ने प्रयास गर्नेछ । तर इनिएस्टाका लागि भने खेलाडीका रुपमा रुस विश्वकप नै अन्तिम बनेको छ ।

मस्कोमा आइतबार राति भएको खेलमा रुससँग निर्धारित तथा अतिरिक्त समयमा १–१ को बराबरी भयो । तर टाइब्रेकरमा स्पेन पराजित भयो र अन्तिम १६ बाटै घर फर्किन बाध्य बन्यो ।

उत्कृष्ट खेल प्रदर्शन गरेर पनि स्पेनले जित निकाल्न सकेन, यसको पीडा खेलाडी, समर्थकलाई त पक्कै छ । अझ बढी इनिएस्टालाई रहने भएको छ ।

उनले खेलपछि यो नै राष्ट्रिय टिमबाट अन्तिम खेल बनेको घोषणा गरे । उनले स्पेनबाट १३१ औँ खेल खेलेका थिए आइतबार राति ।
उनले खेलपछि भनेको कुराले सबैलाई पक्कै भावुक बनाउँछ ।

उनले भने, ‘स्पेनका लागि यो मेरो अन्तिम खेल बन्यो । एउटा अद्भूत समयको अन्त्य भयो । कहिले काहिँ आफूले सोचे जस्तो वा चाहे जस्तो वा सपना देखेजस्तो नहुने रहेछ अन्त्य ।’

उनी धेरै खेलमा स्पेनको प्रतिनिधित्व गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । उनीभन्दा अघि इकर कासिलास, सर्जियो रामोस र जाभी हर्नान्डेज रहेका छन् । मेस्ट्रो मिडफिल्डरले स्पेनका लागि १३ गोल गरेका छन् ।

उनले अतिरिक्त समयमा गरेको उत्कृष्ट गोलकै कारण स्पेनले सन् २०१० मा विश्वकपको उपाधि उचालेको थियो । राष्ट्रिय टिमबाट बिदा लिनु पर्दा उनलाई सजिलो भएको छैन ।

उनले भने, ‘यो पीडादायी छ, कठिन छ । यो कठिन समय हो, हामी धेरै अवसरमा अघि गएका छौँ । तर अहिले केही अघि जान सकेनौँ । र यही बेला बिदा लिँदैछु ।’

उनले रुस विश्वकपबाट बाहिरिनु पर्दाको पीडा बारे भने, ‘आलोचना के हुनेछ वा भयो त्यसले असर गर्ने छैन । तर कठिन भनेको हामी अर्को चरणका लागि पाइला बढाउन असफल रह्यौँ । सबथोक प्रयास गर्दा पनि हुन सकेन ।’

व्यक्तिगत रुपमा पनि यसरी बिदा लिन्छु भन्ने नलागेको उनले बताएका छन् । उनले भने, ‘यसरी बिदा लिन्छु, सोचेको होइन । तर जीवनमा यस्तो भइरहन्छ ।’

सन् २००६ मा डेब्यु गरेको इनिएस्टाले स्पेनलाई सन् २००८ र २०१२ मा युरोकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी १२ वर्ष स्पेनको टिममा रहे ।

इनिएस्टाले बार्सिलोनासँगको आफ्नो २२ वर्ष लामो यात्रा गएको मे मा अन्त्य गरेका थिए । उनी अहिले जापानको शीर्ष लिग क्लब भिसेल कोबेबाट खेल्छन् ।

बार्सिलोनाबाट उनले सिनियर लेभलमा ६७४ खेलमा प्रतिनिधित्व गरे र ३२ प्रमुख उपाधि जिते । उनी १२ वर्षको हुँदा बार्सिलोना गएका थिए । स्पेनका प्रशिक्षक फर्नान्डो हिएरोले इनिएस्टा स्पेनको इतिहासमा एक महान खेलाडी रहेको बताए ।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्