सेयर बजार घट्ने क्रम रोकिएन, झिनो रकमको कारोबार

काठमाडौं- न्यून रकमको सेयर खरिद बिक्रि हुने क्रमले साताको दोस्रो कारोबार दिन पनि निरन्तरता पाएको छ। सोमबार दिन भरिमा ४.८२ अंकले नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम २० करोड ४५ लाख रुपैयाँमा सिमित भयो।

कारोबार सुरु भएको १ घण्टामै १० अंकले ओरालो लागेको नेप्से परिसूचक  त्यसपछि सम्हालिएर उकालो लागेको थियो। तर बजारको बृद्धि टिक्न नसक्दा नेप्से परिसूचक आईतबारको तुलनामा ४.८२ अंकले घटेर ११७९.७१ अंकमा पुगेको छ।

साताको दोस्रो कारोबार दिन १ करोड ७५ लाख रुपैयाँको बराबरको सेयर खरिद बिक्रि भएको ग्लोबल आईएमइ बैंक धेरै रकमको सेयर कारोबार गर्ने कम्पनी बन्यो।  समग्र कारोबार रकम २० करोड रुपैयाँ सिमित हुदाँ सोमबार ज्योति विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको पनि १ करोड रुपैयाँ भन्दा बढिको सेयर खरिद बिक्रि भएको छ।

घटेको बजारमा विकास बैंक र होटल उपसूचक क्रमस ०.२७ प्रतिशत र ०.१२ प्रतिशतले उकालो लाग्दा हाईड्रोपावर ०.९३ प्रतिशत, बैंकिङ ०.५३ प्रतिशत, फाइनान्स ०.५ प्रतिशत, इन्स्योरेन्स ०.३६ प्रतिशत, माईक्रोफाइनान्स ०.३४ प्रतिशत, अन्य ०.१७ प्रतिशत र उत्पादनमुलक उपसूचक ०.१७ प्रतिशतले ओरालो लागेको छ।

असार १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्