उत्कृष्ट खेलेर पनि आलोचना

नेइमार अझै सुध्रिएनन्

पाँच पटकको विश्व विजेता ब्राजिल रुसमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० ले हराउँदै ब्राजिलले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

ब्राजिलको जितमा नेइमारको भूमिका महत्वपूर्ण रह्यो । पहिलो हाफमा गोलरहित रहेको खेलमा नेइमारको गोलबाट नै ब्राजिलले दोस्रो हाफमा खेल आफ्नो पक्षमा ल्यायो ।

५१ औँ मिनेटमा नेइमारले गोल गर्दै दिलाएको अग्रता अन्तिम समयमा रोबर्टो फिरमिनोले गोल गरेपछि दोब्बर हुँदै जितमा परिणत भयो । तर यो खेलमा गोल गरेर चम्किए पनि नेइमारको एउटा बानी भने नसुध्रिएको विश्लेषकले आरोप लगाएका छन् । त्यो बानी हो, सानो ट्याकलमा पनि मैदानमा लड्ने र त्यसलाई ठूलो देखाउने वा अभियन गर्ने ।

पहिलो गोल गरेका नेइमारको भूमिका दोस्रो गोलमा पनि महत्वपूर्ण रह्यो । नेइमारले ब्राजिललाई उत्साहित तुल्याए, तर आफ्नो अनावश्यक व्यवहारका कारण खेलको कलालाई उत्कृष्ट हुन नदिएको ब्राजिलियन पत्रिकाहरुले नै लेखेका छन् । ब्राजिलको पत्रिका ग्लोबोले त ‘नेइमार ह्याज चार्मड ब्राजिल, बट एनोइड होल वर्ल्ड’ भन्ने शीर्षकमा समाचार नै छापेको छ ।

अर्जेन्टिनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो घर फर्किएपछि यो विश्वकपमा बाँकी रहेका एक मात्र सुपर स्टार खेलाडी हुन् नेइमार ।

विश्वका महँगा खेलाडी र उनको राम्रो प्रदर्शन, टिमको जितका बाबजुद नेइमार फुटबल प्रेमीमा आफ्नो छापा पार्न असफल देखिएका छन् । त्यसको कारण उनी अनावश्यक ठाउँमा बढी प्रतिक्रिया देखाइरहेका छन् ।

सोमबार रातिको खेल सकिन मात्रै २० मिनेट बाँकी थियो । त्यो बेलासम्म नेइमारले गोल गरिसकेका थिए । मेक्सिकोका फुल–ब्याक मिगुएल लायुनले बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा छोए, तर त्यो बेस्सरी थिएन ।

उनले निकै सावधानी अपनाउँदा पनि छोइएको थियो । तर नेइमारले त्यसलाई ठूलो बनाए । मैदानमा लडे, बेस्सरी कराए । एक छिनपछि उठे । यसले नेइमारको अभियन गर्ने बानी यो खेलमा पनि देखियो ।

नेइमारको यो बानीले सबैलाई अचम्ममा पार्‍यो, उनको टिमका, मेक्सिकन खेलाडी, रेफ्री र उनका सहयोगी, फोर्थ हफिसियल । सबै उनको वरिपरी आए । किनकी उनी नेइमार थिए । उनले मात्रै यस्तो गर्न सक्ने एक जर्मन पत्रकारले बताएका छन् ।

२६ वर्षका नेइमार खेलको म्यान अफ दि म्याच भए । खेल पछि नेइमार अन्तर्वाताका लागि तयार थिए । पत्रकारले त्यो घटनाका बारेमा सोधे । तर ब्राजिलका प्रशिक्षक टिटेले ओभर टेक गरेर भने, ‘उनीहरुले नेइमारलाई कुचेका थिए, मैले त्यो स्क्रिनमा देखेको थिएँ ।’

त्यसपछि नेइमारले थपे, ‘हेर्नुस्, त्यो मलाई अण्डरमाइन गर्ने प्रयास थियो । मलाई आलोचनाको त्यति ख्याल छैन, न प्रशंसाको किनकी यसले व्यवहारलाई प्रभावित पार्न सक्छ । गएका दुई खेलमा मैले प्रेससँग बोलिन किनकी म चाहन्नथेँ । मलाई मात्रै खेल्नु छ, मेरा साथी खेलाडीलाई सहयोग गर्नुछ । टिमलाई सहयोग गर्नुछ ।’

तर मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भने नेइमारको व्यवहार राम्रो उदहारण नरहेको बताएका छन् । उनले भने, ‘यो फुटबलका लागि लाजको कुरा हो, हामीले एक खेलाडीका कारण धेरै समय खेर फालेका छौँ ।’

यो विश्वकपमा नेइमार धेरै रोएको, लडेको र सानो कुरालाई ठूलो देखाउने गरी अभिनय गरेको आरोप लागेको छ । उनले यो विश्वकपमा अहिलेसम्म २३ पटक पोस्ट प्रहार गरेका छन् र त्यसमा १२ वटा सही निशानामा देखिएका छन् ।

उनले १६ पटक गोल गर्ने राम्रो अवसर सिर्जना गरेका छन् । यस्तै उनले ड्रिबल्स ४० पटक गरिसकेका छन् भने उनीमाथि २३ फउल भएका छन् । नेइमारले यो विश्वकपमा दुई गोल गरेका छन् ।

अहिलेसम्म उनले विश्वकपमा गरेको गोलको संख्या ६ पुगेको छ । यसका लागि उनले ३८ पटक प्रयास गरे । मेस्सीलाई ६ गोल गर्न ६७ तथा रोनाल्डोलाई ७४ पटक प्रयास गर्नु गरेको थियो ।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्