बाढी पीडितलाई तत्काल उद्धार र राहत उपलब्ध गराउन कांग्रेसको आग्रह

फाइल तस्बिर

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसले मंगलबार विज्ञप्ति प्रकासित गर्दै प्राकृतिक विपत्को अवस्थामा पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न आग्रह गरेको हो । मंगलबार दिनभर परेको पानीका कारण देशभर ११ जनाको मृत्यु र सयौं विस्थापित भएका छन् ।

कांग्रेसले बाढी र पहिरोमा परी जीवन गुमाएका सम्पूर्ण नागरिकमा श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । घाइते हुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसालगायतका भौतिक पूर्वाधारको यथाशीघ्र पुनःनिर्माणका लागि प्रक्रिया अघि बढाउन पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

केही दिनदेखिको परेको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति हुनाका साथै जनजीवन अस्तव्यस्त भएको छ ।

बाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ ।

विज्ञप्तिमा बाढी र पहिरो प्रभावित सम्बन्धित जिल्लाका कांग्रेस पदाधिकारी भ्रातृ संगठन एवं शुभेच्छुक संस्थाका नेता तथा कार्यकर्तालाई परिचालन गरी उद्धार, राहत र उचित बसोवासको व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्