आइसियूमा एउटा योद्धा

गंगामाया भन्छिन्-अन्तिम सास रहुञ्‍जेल पतिजस्तै न्यायका लागि लड्छु

वीर अस्पतालको क्याविनबाट एकसातादेखि आइसियूमा सारिएकी गोरखा फुजेलकी गंगामाया अधिकारी। उनी छोराको हत्यारालाई कारवाहीको माग गर्दै पुन: अनशन सुरु गरेकी छिन्। तस्बिर-दीपा दाहाल/देश सञ्‍चार

काठमाडौं- छोराको हत्यारालाई कारवाहीको माग गर्दै फेरि अनशन सुरु गरेकी गोरखा फुजेलकी गंगामाया अधिकारीले न्याय पाउने आश मारिसकेको तर पति नन्दप्रसादले जस्तै अन्तिम सास रहेसम्म त्यसका लागि लडिरहने अठोट गरेकी छन्।

वीर अस्पतालको क्याविनबाट एकसातादेखि आइसियूमा सारिएकी गंगामायाको स्वास्थ्य अवस्था चिन्ताजनक छ।

मानव अधिकारको सवालमा कुनै सम्झौता नगर्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो छोराका हत्यारालाई कारवाही दिलाउने आशमा पछिल्लो पटक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गतेदेखि गंगामायाले अस्पतालमै अनशन सुरु गरेकी थिइन्।

गंगामायाले आफू बाँचुञ्जेल न्यायको झिनो आशमा लडिरहने प्रण गर्दै वर्षौदेखिको अनशनले कमजोर बनेको आफ्नो स्वास्थ्यलाई फेरि संकटमा पारेकी छन्।

गंगामायाका १८ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीले उच्च शिक्षा अध्ययन गर्ने वा नेपाली सेनामा भर्ती हुने सपना बटुल्दै थिए।

तर त्यो सपना साकार हुन पाएन, २०६१ साल जेठमा तत्कालीन माओवादी विद्रोहीले अपहरण गरेर उनको हत्या गरिदिए। त्यो बेला मुलुक माओवादीले राज्यविरुद्ध शुरु गरेको विद्रोहबाट नराम्ररी गुज्रिरहेको थियो।

‘काखको बालकको रगत खाएकाहरुले मलाई न्याय दिने छन् भन्ने आश मरिसक्यो जति बेला मेरो सिउँदो सरकारले पुछिदियो’, गंगामायाले असहज अनुभव गर्दै देशसञ्चारसँग भनिन्, ‘त्यही पनि यो शरीर रहेसम्म आफ्नो कर्तव्य पूरा गर्छु।’

२०६३ सालमा तत्कालीन माओवादीको सत्यनिरुपण आयोगबाट  द्वन्द्वकालीन मानवअधिकारका मुद्दाहरु किनारा लगाउने सहमति सहित मुलुक शान्तिप्रक्रियामा प्रवेश गर्‍यो।

गंगामाया र उनका पति नन्दप्रसाद न्याय पाउने आशमा धैर्यतापूर्वक पर्खिरहे। तर त्यो धैर्यताको बाँध फुटेसँगै उनीहरु गोरखाबाट काठमाडौं आए। तर उनीहरुलाई सिंहदरबार पस्नबाट बञ्चित गराइयो।

२०७० साल असोजमा प्रधानमन्त्री निवासको अघिल्तिर उनीहरुले न्यायका लागि भोकहड्ताल शुरु गरे।

तर उनीहरुले उठाएको माग जायज नभएको भनियो र मानसिक सन्तुलन गुमाएको आरोपमा उनीहरुलाई पाटनस्थित मानसिक अस्पताल पुर्‍याइयो।

अस्पतालबाट छुटेपछि फेरि उनीहरुले न्यायको लडाइँ सुरु गरे, आफ्नो भोकहड्ताललाई निरन्तरता दिँदै।  तीन सय ३४ दिन लामो भोकहड्तालपछि २०७१ साल असोज ६ गते ५६ वर्षीय नन्दप्रसादको प्राण वीर अस्पतालको आइसियुमै गयो।

आफ्नो छोराले न्याय नपाएसम्म अन्तिम संस्कार नगर्नू भन्ने नन्दप्रसादको इच्छाअनुसार उनको पार्थिव शरीर अहिले पनि त्रिवि शिक्षण अस्पतालको पोष्ट्मार्टम विभागमै राखिएको छ।

नन्दप्रसादले जीवन गुमाएको केही समयपछि सरकारले कृष्णप्रसादको हत्याराहरुलाई पक्राउ गर्ने प्रतिबद्धता जनायो। त्योसँगै गंगामायाले आफ्नो भोकहडताल तोडेकी थिइन्।

२०७२ साल पुस ६ गते कृष्णप्रसादको हत्याको अभियोग लागेका छविलाल पौडेललाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि सरकारले त्यस्तो प्रतिवद्धता जनाउन बाध्य भएको थियो।

कृष्णप्रसादलाई गोली हानी हत्या गरेको अभियोग लागेका ‘मेन सुटर’ रुद्ध आचार्यलाई पक्राउ गर्न ‘रेडकर्नर नोटिस’ समेत जारी गरिएको थियो।

त्यसपछि गंगामायाको न्याय पाउने आश पलाउनु स्वाभाविक थियो।  तर, ११ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी देवी भण्डारीले ओखलढुंगाका उज्ज्वन श्रेष्ठको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्व माओवादीका सांसद बालकृष्ण ढुंगेललाई असल चालचलन रहेको भन्दै केही महिनामै रिहा गर्ने मन्त्रीपरिषद्को प्रस्तावलाई स्वीकृत गरिन्।

त्यसैदिन अर्थात जेठ १५ देखि ओझेलमा परेको गंगामायाको न्यायको लडाइँ पुनः चर्चामा आएको छ। तर उनको शरीरका हरेक अंग कमजोर बन्दै छन्। मनोवल खस्किँदै छ।

आइसियुमा उपचारार्थ गंगमाया अधिकारी। तस्बिर: दीपा दाहाल

मुस्किलले एन्टिबायोटिक र रक्तचाप बढाउने औषधि खाइरहेकी गंगामायाको स्वास्थ्यमा जटिल किसिमका स्वास्थ्य समस्या थपिदैँछन्।  सरकारको बालकृष्ण ढुंगेललाई माफी दिने निर्णयले न्याय र मानवअधिकारमाथि राजनीतिक आग्रह हावी हुने प्रष्ट सन्देश दिएको थियो।
सायद त्यो राम्ररी बुझेकी छन् गंगामायाले। ‘न्याय दिने मानिस नेपालमा जन्मेकै रहेनछन्। न्याय नदिई ओछ्यानमै फाँसी दिँदैछन् मलाई। खुल्लामञ्चमा फाँसी दिएको भए संसारले थाहा पाउँथे’, गंगामायाले मधुरो स्वरमा भनिन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा गंगामायाले न्याय पाउनु पर्ने वकालत गर्दै आएका मानवअधिकारवादी चरण प्रसाईँ र अधिवक्ता सुरेन्द्र भण्डारी गंगामायाको संघर्ष र मुलुकको न्यायप्रणालीलाई लिएर भावुक बने। उनीहरुले गंगामायाको जीवन रक्षाका लागि सरकारले तत्काल कदम चाल्नु पर्ने आग्रह समेत गरे।

‘एक महिलालाई सरकारको अघोषित हिरासतमा राखिएको छ। उहाँको अवस्था नाजुक छ। तर उहाँबारे जानकारी गराउन खोज्दा अहिलेका प्रधानमन्त्रीले हामीलाई भेट्नै मान्नु हुन्न’, प्रसाईले भने, ‘जसले हामीलाई निकै दुखी बनाएको छ। न्यायका लागि एउटा नागरिकको ज्यान धरापमा परेको कुरा प्रधानमन्त्रीले सुन्नै चाहनु हुन्न।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि जन्मिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकातिर गंगामायालाई न्याय दिलाउने सवालमा उदासीन रहँदै आएको छ भने अर्कोतिर पूर्वसभासद बालकृष्ण ढुंगेललाई दिइएको माफीलाई ‘सामान्य घटना’ घटनाकारुपमा बचाउ गर्दै आएको छ।

मानवअधिकारवादी प्रसाईले प्रधानमन्त्री अध्यक्ष केपी ओलीले नेकपाको अध्यक्ष हुनु भन्दा पहिले आफूहरुलाई भेट्न समय गरेको तर अहिले समय नदिएको गुनासो गरे।

अधिवक्ता भण्डारीले न्याय नपाएरै कसैको जीवन संकटमा पर्नु नेपालको मानवअधिकारको क्षेत्रका लागि लज्जास्पद भएको बताए। गंगामायालाई न्याय नदिँदा हुने क्षतिको जिम्मा यही सरकारले लिनु पर्ने भन्दै उनले आक्रोश व्यक्त गरे।

असार १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्