विश्वकप २०१८ : क्वाटरफाइनल समिकरण

विश्वकप सपनामा बाँकी रहेका टिमहरु

विश्वकप फुटबलको उपाधि उचाल्ने सपना देखेर रुस यात्रा तय गरेका ३२ देशमध्य अब त्यो सपनाको यात्रामा ८ देश मात्रै बाँकी छन् ।

अन्तिम १६ अन्तर्गत मंगलबार भएका दुई खेलपछि अन्तिम ८ अर्थात क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ र समिकरण पनि । अब विश्वकपको उपाधिका लागि आफ्नो जिउ–ज्यान लगाउन तयारी गर्दै छन्, ८ देश ।

रुस विश्वकप धेरै अर्थमा अचम्ममा पार्ने भएको छ । सबैभन्दा अचम्म लाग्ने कुरा विश्वकप सुरु हुनुअघि उपाधिका लागि दाबेदारका रुपमा हेरिएका धेरै टिम कि समूह चरण नभए अन्तिम १६ बाटै घर फर्किएका छन् ।

अन्तिम ८ मा पुग्ने टोलीमा केही नसोचिएका छन् भने केही सोचिएका टिम त छन् तर उनीहरुले यसका लागि आंकलन गरिए भन्दा धेरै संघर्ष गर्नु पर्‍यो ।

क्वाटरफाइनलमा इंग्ल्याण्ड, स्वीडेन, कोस्टारिका, रुस, उरुग्वे, फ्रान्स, ब्राजिल र बेल्जियम पुगेका छन् ।

अन्तिम १६ मा उरुग्वेले दुई वर्षअघिको युरोकप विजेता पोर्चुगललाई २–१ ले हराएर अघि बढेको हो । उरुग्वेसँगको हारसँगै विश्व फुटबलका महान खेलाडी पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको टिम यसपटक पनि विश्वकप सपना अधुरो छोडेर घर फिर्न बाध्य भयो ।

यस्तै फ्रान्सले अर्का महान खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई पाखा लगाएर अन्तिम ८ मा स्थान पक्का गरेको हो । फ्रान्ससँगको ४–३ को हारसँगै यो समयका मात्रै नभएर सर्वकालीन उत्कृष्ट खेलाडीका रुपमा हेरिएका मेस्सी विश्वकप बिहीन हुने पक्का भएको छ ।

अर्का स्टार खेलाडी नेइमारको टिम भने अघि बढ्न सफल भयो । ब्राजिलले मेक्सिकोलाई अन्तिम १६ मा २–० ले पन्छाउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो । यो जितले यो समयका स्टार खेलाडी मध्ये एक नेइमार रुस विश्वकपमा बाँकी रहे ।

यस्तै एसियाली देश जापानको क्वाटरफाइनल सपना चकनाचुर पार्दै युरोपेली देश र यो विश्वकपमा राम्रो गरिरहेको बेल्जियम अन्तिम ८ मा आएको छ । बेल्जियमले जापानलाई ३–२ ले पाखा लगाएको हो ।

यता विश्वकप खेल्ने ३२ देश मध्ये बरियतामा सबैभन्दा पुछारमा रहेको आयोजक रुसले जारी विश्वकपमा सबैलाई चकित पार्दै आएको छ । अन्तिम १६ मा उसले ८ वर्षअघिको विश्व विजेता स्पेनलाई पाखा लगायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरी भएपछि टाइब्रेकरमा रुसले स्पेनलाई ४–३ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

यसैगरी क्रोएसिया र डेनमार्कबिचको खेलमा पनि टाइब्रेकरबाटै निर्णय लिनु पर्‍यो । निर्धारित र अतिरिक्त समयको खेलमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउट भयो । त्यसमा क्रोएसियाले डेनमार्कको चुनौती ३–२ ले पार गर्‍यो । स्वीट्जरल्याण्डलाई १–० ले स्तब्ध पार्दै स्वीडेनले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।

यसैगरी दक्षिण अमेरिकी देश कोलम्बियाको सपना युरोपेली देश इंग्ल्याण्डले चकनाचुर पारेको छ । निर्धारित र थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

त्यसमा ग्यारेथ साउथ गेटको टिमले चार वर्षअघिका सर्वाधिक गोलकर्ता जेम्स रोड्रिग्वेज रहेको टिम कोलम्बियालाई ४–३ ले हरायो । चोटका कारण रोड्रिग्वेज मंगलबार राति भएको इंग्ल्याण्डसँगको खेलमा मैदानमा थिएनन् ।

क्वाटरफाइनलमा कसको प्रतिस्पर्धी को ?


उरुग्वे भर्सेस फ्रान्स (असार २२ गते, बेलुका पौने ८ बजे)

ब्राजिल भर्सेस बेल्जियम (असार २२ गते, राति पौने १२ बजे)

स्वीडेन भर्सेस इंग्ल्याण्ड (असार २३ गते, बेलुका पौने ८ बजे)

रुस भर्सेस क्रोएसिया (असार २३ गते, राति पौने १२ बजे)

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्