उपत्यकाको १४३ स्थानमा अस्थायी पार्किङको व्यवस्था

काठमाडौँ – ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ ।

काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो ।

महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन काठमाडौँ, भक्तपुर र ललितपुरमा अस्थायीरुपमा सवारी पार्किङको व्यवस्था मिलाइएको बताए । बस स्टपमा बोर्ड राख्ने, फराकिलो बाटोमा पार्किङ गर्ने, साँघुरो बाटोका सवारी हटाउने लगायतका कामलाई प्राथमिकता दिएको उनले बताए ।

महाशाखाले भोटाहिटी, जमल, पुरानो बसपार्क, सुन्धारा गोश्वारा हुलाक गेट, खिचापोखरी, धर्मपथ, शंकरदेव गेट, ठमेल सञ्चयकोष गेट, दरबारमार्ग पाठशाला, कृष्णपाउरोटी पश्चिम, एयरपोर्ट अगाडि, अन्तराष्ट्रिय सम्मेलन केन्द्रस्थित पानी ट्याङ्की अगाडि, कोटेश्वर ट्राफिक अगाडि, विभिन्न अस्पताल अगाडि, लोकन्थली, कौशलटार, सातदोबाटो, एकान्तकुनालगायतका ६० स्थानमा ३९७ ट्याक्सी पार्किङ गर्न मिल्नेगरी स्थान छुट्याएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम उपत्यकामा ट्याक्सी पार्किङका लागि विसं २०६९ मा नै अध्ययन गरिसकिएको र सोहीअनुसार अहिले महाशाखा र महानगरपालिकाको सक्रियतामा स्थान छुट्याएर राम्रो कामको थालनी भएको बताए ।

‘शुरुमा ट्याक्सी पार्किङका लागि स्थान छुट्याए पनि बाटो विस्तारका कारण हटेको थियो अहिले पुनः स्थान छुट्याएर राम्रो काम भएको छ’, उनले भने ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्