नेपालगञ्‍ज-गृह मन्त्रालयले लागू औषध नियन्त्रणका लागि नेपालगञ्‍जलाई ‘फोकस’ गरेको छ। मन्त्रालयले बुधबार नेपालगञ्जमा ‘लागु औषध नियन्त्रण सम्बन्धमा सरकारी कर्मचारीहरुको लागि प्रशिक्षण’ कार्यक्रम गरेर लागू औषध रोकथाम, चेतना र पुनस्र्थापनाका लागि विशेष समय निकाल्न प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुको ध्यानाकर्षण गराएको हो।

प्रतिवर्ष ११.३६ प्रतिशतका दरले बढिरहेको र नेपालमा हाल डेढ लाख लागू औषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्याङ्क छ। गृह मन्त्रालयका उपसचिव प्रेमलाल लामिछानेले लागू औषध र यसको नियन्त्रण सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै लागु औषध प्रयोगकर्ताहरु सात प्रतिशत अपराधमा हिस्सेदार रहेको बताए ।

उपसचिव लामिछानेले बाँके ‘टप फाइभ’मा परेकाले यसको रोकथाममा विशेष ध्यान दिन यहाँका अधिकारीहरुलाई आग्रह गरे। सीमामा अझै कडाई गर्ने नीति सरकारले लिएकोले २/४ दिनमै जिल्लामा पत्र आइपुग्‍ने बताए ।

उपसचिव लामिछानेले जिल्लामा लागु औषध नियन्त्रणका गतिविधि अलि बढी चलाउन, हप्तामा कम्तीमा दुई पटक समुदाय/विद्यालयमा गएर चेतनामूलक कार्यक्रम गर्न, रिहाव सेन्टरको अनुगमन गर्न आग्रह गरे । उनले लागू औषधमा अहिलेसम्म भरियामात्रै समातिएको मिडियाबाजी भइरहेकाले वास्तविक मालिककहाँ पुग्न प्रहरी अधिकृतहरुको ध्यानाकर्षण गराए ।

नेपालमा दुई सय उपचार तथा पुनस्र्थापना केन्द्र छन् । बाँकेमा पाँच वटा छन् । सबै एनजिओले चलाएका पुनस्र्थापना केन्द्र हुन् । लागु औषधको डरलाग्दो स्थिति भइसक्दा राज्यले भने आवश्यक पुनस्र्थापना केन्द्र खोल्न सकेको छैन ।

गृह मन्त्रालयले धरान र पोखरामा पुनस्र्थापना खेल्ने तयारी गरेको छ । नेपालगञ्जमा पनि प्रदेश र स्थानीय निकायहरुसँग सरसल्लाह गरेर सरकारी पुनस्र्थापना खोल्नका लागि उपसचिव लामिछानेले प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिए। डेढ लाख लागु औषध प्रयोगकर्ता रहेको नेपालमा अहिलेसम्म एक हजार दुई सय जनाले मात्रै पुनस्र्थापना केन्द्रको सेवा लिएका छन् ।

बाँकेमा लागु औषध प्रयोगकर्ता÷कारोबारी कति छन् यकिन तथ्यांक छैन । सम्बद्ध संघ संस्थाहरुले चार हजार हाराहारीमा रहेको बताउँछन् । बाँकेको कारागार र प्रहरी चौकीमा रहेका थुनुवा बन्दीहरुमा लागु औषधका धेरै रहेका छन्।

गृह मन्त्रालयले उत्पादन हुने स्थानैमा हिट गर्ने, नाकामा कडाई गर्ने, चेतनामूलक कार्यक्रम गर्ने र उपचार तथा पुनस्र्थापनामा जोड दिने खालका कार्ययोजना बनाएको छ । लागू औषधले आर्थिक, सामाजिक, स्वास्थ्य, शान्ति सुरक्षा, कानून पालनामा असर पुर्‍याउने गर्दछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले लागु औषध रोकथामका लागि चलाएका विभिन्न अभियानका साथै चेतनामूलक कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।

लागु औषध प्रयोगकर्ताहरुमा देखिने विभिन्न स्वास्थ्य समस्याहरुका बारेमा डा. मोहन बेल्बासेको प्रस्तुती रहेको थियो। कार्यक्रम सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्