नारायणगढ–मुग्लिन सडकखण्ड ११ घण्टा पछि सञ्चालनमा

फाइल फोटो

चितवन-नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि बुधबर दिउँसो १६:३५ बजेबाट सडक सञ्चालनमा आएको छ ।

बिहान ८:३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दुईतर्फी सवारी आवागमन हुने गरी सडक खुलाइएको हो।

सो सडकखण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सो सडकको टोपे खोलामा बिहान ५:३० बजे र कालीखोलामा ८:३० बजे पहिरो खसेको थियो। दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको हो।

मुग्लिनबाट ३.१२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला ३.३ किलोमिटर दूरीमा रहेको छ। पहिरोले पूरै सडक ढाकेको थियो। ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ।

यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको हो। पहिरो पन्छाएसँगै बिहानदेखि नै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्