डा. केसीको विषयमा गृहमन्त्री थापा र सांसदबीच यस्तो सवालजवाफ

गृहमन्त्री रामबहादुर थापा 'बादल'। फाइल तस्विर

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले कसैलाई पनि अनशन बस्न र विरोधका कार्यक्रम गर्न रोक नलगाइएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले निषेधित क्षेत्र घोषणा गरेर सरकारले निरंकुश शैली प्रर्दशन गरेको भन्दै सरकारको खरो आलोचना गरेपछि मन्त्री थापाले जवाफ दिँदै विरोधका कार्यक्रम गर्न कसैलाई पनि अवरोध नगरिएको बताएका हुन्।

विशेष गरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले माइतिघर मण्डला, रत्नपार्कलगायका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको र गोविन्द केसीलाई धरपकड गरेको भन्दै आपत्ति जनाएका थिए। बुधाबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले निषेधाज्ञा जारी गर्ने, केसीका माग र गंगामाया अधिकारीलाई बेवास्ता गर्ने सरकारको रवैयाप्रति कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो।

निर्णयअनुसार कांग्रेस सांसदहरु भरतकुमार शाह, भीमसेनदास प्रधान, मीनबहादुर विश्वकर्मा, र राजेन्द्र केसी, डिला संग्रौलालगायतले सरकारको निषेधित क्षेत्र घोषणा गर्ने, केसीमाथि गरिएको धरपकड गैर लोकतान्त्रिक चरित्र भएको आरोप लगाएका थिए।

त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक एवं डा. बाबुराम भट्टराईले पनि सरकारले निषेधित क्षेत्र घोषणा गरेर संविधानको प्रस्तावनामै उल्लेख भएको ‘समाजवाद उन्मुख र लोकतान्त्रिक’ व्यवस्थाको उपहास गरेको उल्लेख गरे।

जवाफमा गृहन्त्री थापाले लोकतान्त्रिक विधि र सुशासनमार्फत डा. केसी र गंगामाया अधिकारीको मागलाई सम्बोधन गर्ने बताए। गृहमन्त्रीले केसीले दबाबका भरमा चिकित्सा ऐन पारित गराउन खोजेर अधिनायकवादी चरित्र देखाएको भन्दै आक्रोश पोखे।

उनले डा. केसीको अधिकारलाई दमन तथा कुण्ठित नगरेको भन्दै लोकतन्त्रका नाममा जहाँसुकै अनशन गर्ने र विरोध गर्ने अधिकार कसैलाई पनि नभएको जवाफ दिए। थापाले लोकतन्त्रको जननी मानिएको बेलायतमा समेत विरोध गर्ने निश्चित स्थान तोकिएको उदाहरण दिँदै यस्ता निर्णयले नागरिकको जनजीवनलाई सहज र विकास निर्माणमा भएको अवरोध हटेको दाबी गरे।

गृहमन्त्री थापाले गंगामायाले उठाएको विषय विशेष राजनीतिक परिस्थितिको उपज भएकाले त्यसलाई राजनीतिक ढंगले नै सम्बोधन गर्नुपर्ने बताए। उनले प्रतिनिधिसभामा भने, ‘जनयुद्धका विषयका मुद्दाका विषय सहमतिका गरेर अगाडि बढेका छौं। विषयलाई अतिरञ्जित तबरले उठाएर राजनीतिक अस्थिरता पैदा गर्ने खेल त भइराखेको छैन?’

गृहमन्त्री थापाले प्राकृतिक विपतीमा परेकाहरुको राहत तथा उद्धारमा सरकार चनाखो भइरहको बताए । उनले अहिलेसम्म बाढी पहिरोबाट १८ जिल्लामा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको, आठ जना घाइते र दुई जना बेपत्ता भएको जानकारी दिए ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्