फसेका बालकको स्वास्थ्य खतरामुक्त-थाइल्याण्ड

बैंकक-थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन्।

यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा ती बालकलाई पहिलो पटक स्पष्टसँग टेलिभिजनमा देखिएको र उनीहरुलाई खानेकुरा पनि पुर्‍याइएको जानकारी दिएको छ।

उनीहरुको उद्धारको कार्य जारी रहेको तर निकै जोखिम रहेको भन्दै सकुशल उद्धारका लागि आवश्यक साधन र जनशक्ति उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ।

सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गएको दश दिनदेखि सोही गुफामा हराइरहेका थिए। उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए।

विदेशबाट कुशल गोताखोर, उद्धार कार्यमा खट्ने व्यक्ति र विशेषज्ञहरु झिकाएर काम गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्। थाई सेनाका अधिकारीहरुले पनि यसका लागि तालिम लिइरहेका छन्।

सो गुफामा फसेका स्कुले बालकहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक तातो खानेकुरा र औषधि पाएको समाचारमा जनाइएको छ।

गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्‍याउन एकजना चिकित्सक र नर्ससहित सातजना गोताखोर गुफाको भित्री भाग उनीहरु फसेको ठाउँसम्म पुगेका थिए।

उनीहरू हराएको नौ दिनपछि हिजो जीवितै फेला परेको सूचना सार्वजनिक भएको थियो। ‘आजको सूचना पनि सकारात्मक नै छ र उनीहरुको स्वास्थ्य अवस्था पनि राम्रो छ, उनीहरुलाई कुनै स्वास्थ्य जटिलता छैन,’ एक अधिकारीले भने।

उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका छन्। ‘शून्य जोखिम’ को रणनीतिबाट उनीहरुलाई बचाइने पनि उनीहरुले बताएका छन्।

त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आश्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

ती बालकहरु जीवितै रहेको खबरले देशभरी खुशीयाली छाएको छ। उनीहरुका आमाबुबा र आफन्तले गुफा नजिकैको क्षेत्रमा प्रार्थना र आजापूजा गरिरहेका बताइएको छ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्