सोनाली बेन्द्रेलाई भएको ‘हाइ ग्रेड क्यान्सर’ के हो?

भारतीय अभिनेत्री सोनाली बेन्द्रेले सामाजिक सञ्जालबाट आफूलाई क्यान्सर भएको खबर सार्वजनिक गरेकी छिन्। बेन्द्रेले ट्विटर र इन्स्टाग्राम मार्फत यो खबर सार्वजनिक गरेकी हुन्। उनी उपचारको लागि न्युयोर्क गइसकेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेअनुसार उनलाई ‘हाइ–ग्रेड क्यान्सर’ भएको र फैलिएको अवस्था छ।

उनले भनेको ‘हाई ग्रेड क्यान्सर’ के हो त?

मानिसको शरीर असंख्य कोषिकाले बनेको हुन्छ। यही कोषिकाको अनियन्त्रित वृद्धि हुने अवस्था क्यान्सर हो। मानिसको शरीरमा कपाल र नङ बाहेक सबै अंगमा क्यान्सर हुन सक्छन्। क्यान्सरको उपचार सफतलाको आधारमा यसलाई ग्रेडमा विभाजन गर्ने गरिन्छ, जसमा धेरै खतरनाक क्यान्सरलाई हाइग्रेड भनिन्छ।

शरीरका विभन्न अंगमा हुने क्यान्सर भन्दा हड्डी र मांशपेशीमा हुने क्यान्सर ‘हाइ ग्रेड’ को हुन्छन्। धेरैजसो शरीरको सफ्ट टिस्यूमा क्यान्सर भएमा ‘हाई ग्रेड क्यान्सर’ भन्न सकिन्छ। उपचारचारमा क्रमैसँग कम खतरनाक मानिने क्यान्सरहरुलाई–

१) हाई ग्रेड क्यान्सर
२) इन्टरमिडेट क्यान्सर
३) लो ग्रेड क्यान्सर

हुन त क्यान्सर कुन अंगमा लागेको छ भन्नेमा पनि निर्भर हुन्छ। सोनालीले आफूलाई कुन अंगमा क्यान्सर भएको खुलाएकी छैनन्। कति जोखिम भन्ने कुरा क्यान्सरको प्रकृति र अवस्थाबाट पनि प्रस्ट हुन्छ। तर हाइ ग्रेड भन्ने बित्तिकै यसलाई खतरनाक अवस्था भनेर बुझ्नपर्ने अंकोलोजिस्ट डाक्टर मदन कुमार पियाले बताए।

सोनालीले आफ्नो स्टेटसमा ‘हाइ ग्रेड क्यान्सर’ सँगै अरु कुरा पनि लेखेकीछिन्। सोनालीले ‘हाई ग्रेड क्यान्सर’ ‘मेटास्टाइज्ड’ भएको भनिएको छ। यसको अर्थ क्यान्सरको चरण हो। अंकोलोजिस्ट डा. मदन कुमार पिया भन्छन्, ‘मेडिकल भाषामा ‘मेटास्टाइज्ड’ भनेको क्यान्सर चौथो चरणमा पुगेको भनेर बुझ्नुपर्छ।’ ‘मेटास्टाइज्ड’ को शाब्दिक अर्थ फैलनु हो, सोनानलीको स्टेटसलाई केन्द्रित गर्दा क्यान्सर उनको शरीरभरि फैलिएको छ।

क्यान्सर चरणहरु

१. पहिलो चरण
२. दोस्रो चरण
३. तेस्रो चरण
४. चौथो चरण

क्यान्सर विभिन्न चरणको हुन्छ। शरीरमा क्यान्सर कति मात्रामा फैलिएको छ भन्ने आधारमा यसको चरण छुट्याइन्छ। क्यान्सरको पहिलो चरण भनेको जुन अंगमा लागेको हो, त्यही मात्र क्यान्सर हुनु हो। दोस्रो र तेस्रो चरणमा क्यान्सर भएको अंगभन्दा बाहिर फैलन थालेको अवस्था हुन्छ।

बेन्द्रेको क्यान्सर अन्तिम चरणमा पुगेको छ,

क्यान्सरको सबैभन्दा अन्तिम अवस्था भनेको चौथो चरण हो। यो अवस्थामा बिरामीको शरीरभरि क्यान्सर फैलिएको हुन्छ। क्यान्सर बिरामीको उपचारको लागि यो अवस्था त्यति सकारात्मक होइन। यो चरणमा पुगेको क्यान्सरको उपचार सजिलो हुँदैन। तर असम्भव भने होइन। यो अवस्थामा बिरामीले खानपिनमा ध्यान दिने, जीवनशैलि परिवर्तन गर्ने, वैकल्पिक उपचार र स्वास्थ्य आएका परिवर्तनलाई ध्यान दिनु महत्वपूर्ण हुन्छ।

विशेषज्ञका अनुसार  क्यान्सर ‘मेटास्टाइज्ड’ भएको अवस्थालाई क्यान्सरको अन्तिम चरणमा पुगेको मानिन्छ। यसको उपचार संभव भने छ। कहाँ कसरी उपचार गर्ने पहिला डाक्टरले क्यान्सरको चरण पत्ता लगाएपछिमात्र थाहा हुन्छ।

को हुन् सोनाली बेन्द्रे?

४३ वर्षकी भारतीय अभिनेत्री सोनाली बेन्द्रेको जन्म भारतको मुम्बईमा भएको हो। उनले हिन्दीसँगै तलेगु, तामिल, मराठी र कन्नड भाषाका चलचित्रमा काम गरेकी छिन्। उनले अभिनय यात्रा सुरु गर्नु अगाडि ‘स्टार डस्ट ट्यालेन्ट सर्च’ को बिजेता भइन्। यसैबाट उनको मोडलिङ करियर सुरु भएको हो।

सोनालीले सन् १९९४ मा ‘आग’ चलचित्रमा पहिलोपटक अभिनय गरेकी हुन्। चलचित्रका नायक गोविन्दा थिए। त्यसपछि उनी दिलजले, सरफरोज, जख्म, डुब्लिकेट, हम साथ साथ हे, अनाहत लगायत थुपै चलचित्रमा देखिइन्।

अभिनयसँगै उनी राम्रो नृत्य गर्ने भनेर पनि परिचित छिन्। गद्दर, सपूत, बम्बे, लज्जा र मेजर साब चलचित्रमा उनले नाचेर सबैको मन जितेकी छिन्।

सन् २००३ मा उनले शाहरुख खान अभिनित चलचित्र ‘कल हो ना हो’ मा डा. प्रियाको अभिनय गरेकी थिइन् जसमा प्रिति जिन्टा र शेफ अलि खानले पनि अभिनय गरेका थिए। उनले थिएटरमा हुने नाटकमा पनि अभिनय गरेकी छन्। सन् १९९६ मा ‘पपका किङ्ग’ मानिने गायक तथा कलाकार माइकल ज्याक्सन भारतमा आउँदा उनले स्वागत गर्दै नाचेकी थिइन्। उनले झण्डै ५० ओटा चलचित्रमा अभिनय गरेकी छन्।

उनले सन् २०१३ देखि अहिले सम्म ‘इन्डियाज वेस्ट ड्रामेवाज’ मा निर्णायक बनेर काम गरिरहेकी छिन्। उनले विभिन्न समयमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि पाएकी छिन्।

सोनालीको परिवार

१९७५ को जनावरी १ मा सोनालीको जन्म सानो परिवारमा भयो। सोनाली बाबा, आमा र भाइसँग हुर्किइन्। ठूलो भएपछि उनको भेट भयो गोल्डी बेहलसँग। उनी चलचित्र निर्माता हुन्। उनीहरु झण्डै १० वर्ष प्रेम सम्बन्धमा रहे र अन्तत सन् २००२ मा विवाह गरे। अहिले सोनाली र गोल्डीको छोरा छ। उसको नाम रनवीर हो।

अहिले ‘इन्डियाज वेस्ट ड्रामेवाज’ मा निर्णायकको भूमिका खेलिरहेकी सोनालीलाई क्यान्सर भएको खबर सार्वजनिक भएको छ। उनी आफैँले यो सन्देश सार्वजनिक गरेकी हुन्। उनी आफैँले चिकित्सकको निगरानीमा बसेको र जीवनको लागि संघर्ष गर्न तयार भएको बताएकी छन्। सँगै उनले लेखेकी छन्, ‘म यो युद्ध होसपूर्वक लडिरहेको छु, मेरो पछाडि मेरो परिवार र शुभचिन्तक मेरो शक्ति बनेर उभिइरहेका छन्।’

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्