प्रदेश ४ को नाम गण्डकी निश्चित

पोखरा-प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले प्रदेश ४ को नाम गण्डकी राख्ने निर्णय गरेको छ। ३९ सांसद रहेको उक्त दलसहित १५ सांसद रहेको कांग्रेस र ३ सांसद रहेको जनमोर्चा पनि उक्त नामको पक्षमा देखिएका छन् ।
प्रदेशको नामबारे पार्टीको धारणा बनाउन नेकपा संसदीय दलको बैठक बुधबार बसेको थियो।

त्यसअघि एक साता सम्म नेकपाका सांसदले नामबारे छलफल गरेका थिए । बुधबारको बैठकले प्रदेशको नाम गण्डकी राख्ने निर्णय सर्वसम्मत पारित गरेको जानकारी मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुबले दिए।

उक्त बैठकले नेकपा प्रदेश संसदीय दलको विधान पनि पारित गरेको छ । नेकपाले नामको टुंगो नलगाउँदा मंगलबार निर्धारित संसद बैठक स्थगित भएको थियो । मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको
थियो । १८ असारको बैठकले प्रदेश राजधानी पोखरा भनेर टुंगो लागिसकेको हुँदा बिहीबारको बैठकमा नामबारेको छलफल सुरु हुने भएको छ।नामबारे सांसदहरुले छलफलमा भाग लिएपछि टुंगो लगाउने दलहरुको योजना छ । प्रदेशको नाम गण्डकी—तमुवान राख्नुपर्ने धारणा राखेको
पार्टी नयाँ शक्तिसँग २ सांसद छन् । अरु सबै दल गण्डकीका पक्षमा रहेको हुँदा उक्त नाम दुईतिहाईभन्दा बढी मतले पारित हुने
देखिएको छ ।

प्रदेश सभाले चैत १२ गते गठन गरेको ‘प्रदेशको राजधानी र नामांकन समिति’ले बुझाएको प्रतिवेदन प्रदेश सभामा १० असारमा टेबुल भइसकेको छ। प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान—मगराँत, गोरखा र धौलागिरि नााम राख्न सुझाव छ ।

प्रदेश नामकरणबारे संविधानको धारा २ सय ९५ ले व्यवस्था गरेको छ । उक्त धाराको उपधारामा प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको
सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुने उल्लेख छ ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्