उपमाहनगरपालिकाका मेयरविरुद्ध युवाहरुको आक्रोस

जनकपुरमा नेविसंघ आवद्ध युवाहरुले सडकमै धान रोपे

जनकपुर उपमाहनगरपालिकाका मेयर लालकिशोर साहको विरोध स्वरुप सडकमा धान रोप्दै नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरु।उपमहानगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नेविसंघले उक्त विरोध स्वरुप हिलाम्मे सडकमै धान रोपेका हुन्। तस्बिर- प्रतिभा झा/देश सञ्‍चार

जनकपुरधाम-नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले बुधबार जनकपुरको सडकमै धान रोपेका छन्।

जनकपुर उपमाहनगरपालिकाका मेयर लालकिशोर साहको विरोध गर्दै नेविसंघले सडकमा धान रोपेर सांकेतिक विरोध गरेका हुन्।

बर्षाले जनकपुर सडकमा हिलाम्‍मे भएर सर्वसाधारणलाई हिडडुल गर्न अप्ठ्यारो भए पनि उपमहानगरपालिकाले भने कुनै चासो नदेखाएको भन्दै नेविसंघले उक्त विरोध स्वरुप हिलाम्मे सडकमै धान रोपेका थिए।

शहरको मूख्य मुख्य सडकको अवस्था अति नै गम्भीर रहेको, स सानो बाटोमा बर्षाको पानी सँगै नालाको पानी जमेको, घरघरमा पानी समेत पसेपनि स्थानीय निकायले चासो नदेखाएर हामी प्रदर्शनमा उत्रिन बाध्य भएको नेविसंघका धनुषा अध्यक्ष सुजित मिश्रले बताए। उनले भने,’वर्षाले सडक पुरै हिलाम्‍मे भइसक्‍यो। त्यही पनि उपमहानगरपालिका कानमा तेल हालेर बसेको छ। सर्वसाधारणले भोगिरहेको सास्तीलाई सुनुवाइ नै गर्दैन। त्‍यसकारण हामी यही हिलाम्‍मे स८कमा धान रोप्‍न बाध्‍य भयौ।’

यता, नेविसंघ जनकपुर उपमहानगर कमिटीका अध्यक्ष सुमनकुमार ठाकुरको नेतृत्वमा शिवचोकमा धान रोपेका विद्यार्थीहरुले यो आफुहरुको सांकेतिक विरोध रहेको र तत्कालै समस्या पहिचान गरी समाधान नगरे नेविसंघले कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने बताए।

एकिकृत विकास परियोजना अन्तर्गत निमार्ण भई रहेको सडक पूर्ण नहुँदा जताततै हिलोनै हिलो भएकोले नगर अध्यक्ष सुमनन ठाकुरसहित जिल्ला अध्यक्ष सुजीत मिश्रको उपस्थितिमा रवि शर्मा, माया कुमारी, परवेज आलम, राजीव मंडल, सलीम साफी, सोहैल राईन र राजेश साह लगायतका युवाहरुले सडकमा धान रोपेका छन्।

निर्माणाधीन रहेको जनकपुरमा शहर क्षेत्रको मुख्य मुख्य सडकमा हिड्ने अवस्था छैन भने जनकपुरको मुख्य चोक मध्ये शिव चोक वरपर हिडडुल गर्नेलाई लडेर चोट पटक लागेको स्थानीयको गुनासो छ।

असार २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्