सगरमाथा जित्ने छोरीहरु – ४

… अनि सगरमाथाले उनलाई स्वीकार गर्‍यो

… अनि सगरमाथाले उनलाई स्वीकार गर्‍यो

जताततै सेतो हिँउ, असाध्यै चिसो। सगरमाथाको यात्राको लागि लोबुचेँबाट सगरमाथा बेसक्याम्पको लागि हिँड्दा यस्तै अनुभव भएको थियो कल्पना महर्जनलाई। गोरक्छेप, ५२०० मिटर उचाइमा छ। बेस क्याम्प पुग्नुभन्दा दुई घण्टा अगाडि उनलाई एकदमै सुख्खा खोकी लागेको थियो। हिँड्न गाह्रो भएको थियो। खाना खाएपछि सबै साथी बेसक्याम्पको यात्राको लागि निस्कन तयार भए। त्यतिबेला कल्पनालाई बेसक्याम्पको लागि हिँड्ने हिम्मत नै आएन। ‘फुर्वा तेन्जिङ शेर्पाले तिमीलाई गाह्रो छ भनी तिमी यहाँ आराम गर भन्नुभयो, म बसेँ, साथीहरु निस्के’, महर्जनले सम्झिइन्, ‘रातभरि मलाई एकदमै गाह्रो भयो, एक थर्मस तातो पानी पिएर सक्काएँ।’

विज्ञापन

उनलाई त्यतिले मात्र पुगेन, पानी प्यास अझै धेरै लागेर उनी तल किचनमा हेर्न गइन्, कोही थिएन। फर्केर भोलिपल्ट बिहान मानिस उठ्ने समयसम्म कुरिन्। भोलिपल्ट बिहान मानिस उठेपछि तातोपानी र चकलेट खाइन्, बेस क्याम्पमा पूजा हुँदै थियो तर जाने आँट नआएपछि  उनकी ‘गाइड’ फूर्वा कल्पनालाई आराम गर भनेर गइन्। कोठामा कल्पना एक्लै थिइन्।

गाह्रो हुन कम भएन। त्यसपछि उनलाई थाहा भयो, शरीरमा अक्सिजनको मात्रा कम भएको छ। होटलको साहुजीले अक्सिजन नाप्दा लेबल ५० मा पुगेको देखियो। ‘दाइले हत्तपत्त अक्सिजन लगाइदिनुभयो र आत्तिएर शेर्पालाई फोन गरिदिनुभयो।’ त्यहाँबाट सोनम शेर्पा र फुर्वा आएर उनलाई घोडामा राखेर हिमालयन रेस्क्यू सेन्टरको मेडिकल पोइन्टमा लगिदिनुुभयो।

चेकजाँचको क्रममा थाहा भयो, उनको फोक्सोमा पानी जमेको थियो। पत्तै नपाई हिमालको चिसो उनको छातीभित्र गडिसकेछ, चाँडो निकै नहुने गरी। ‘त्यतिबेला मलाई पुरानो कुरा याद आयो, सन् २०१४ मा मेरापिक उक्लदै गर्दा समस्या भएर रेस्क्यू गरिएको थियो।’ उनको यात्रा सफल हुन सकेन। अलिकतिले बाँचेकी थिइन्। कल्पनालाई त्यतिबेला लाग्यो, ‘के मेरो यात्रा यतिमै सकिन्छ?’ यो कल्पनाले पाएको दोस्रो जीवन थियो, ‘अब के फेरि त्यही अवस्थामा पुगेको हो त?’  डाक्टरले एक हप्ता अस्पतालमा नै बस्नुपर्छ भने।

आत्तिइन् कल्पना, ‘साथीहरु बेस क्याम्प पुगिसके, म यहाँ एक हप्ता बसेँ भने चुचुरोमा पुग्न ढिला हुन्छ।’ र, मनैमनमा अठोट गरिन् र डाक्टरलाई भनिन्, ‘म तीन दिनमा निको हुन्छु।’ उनलाई थाहा थियो, यो भन्दा धेरै अगाडि जानु छ। डाक्टरको उत्तर थियो, ‘परिस्थितिमा भर पर्छ।’

त्यसपछि उनले अरुबेला भन्दा धेरै खाना खाइन्, सुप खाइन्, डाक्टरले सुझाएको कुरा पनि मानिन्। किनकि उनलाई चाँडै नै निको हुनु थियो। भोलिपल्ट साँझ शरिरको अक्सिजन लेबल नाप्दा ७० पुग्यो। डाक्टर छक्क परे। तर फोक्सोमा जमेको पानी अलिकति पनि सुकेको थिएन। परिवारसँग कुरा भयो, सासुुले घरको बारेमा चिन्ता गर्नु पर्दैन, जे लक्ष्य लिएर गएको त्यो पूरा गर भनिन्, त्यसले ढाडस दियो। छोरासँग कुरा गर भनेर सासूले फोन दिनुभयो, ‘सासुसँग कुरा भयो, छोरासँग कुरा गर्दा बोल्न नै सकिन।’ उनले भनिन्, ‘छोराको प्रश्नले सारै मन दुखेर आयो, उसले पहिलो बोलीमै सोध्यो, मामु टपमा पुगेको हो?’

साह्रै पिन्च भयो मनमा, रुन आयो एक्कासी। उनले नाबालक छोरा, सहयोगी सासुको वचन भटाभट सम्झन थालिन्। आफूलाई अप्रत्यक्ष सहयोग गर्ने सहयोगीको आशा याद आयो, के यो व्यर्थै जान्छ त?

डाक्टरले पनि उनलाई हौसाए, फोक्सोमा जमेको पानी सुकेपछि नाम्चे जाने निर्णय गरिन्। खोकी निको भएको थिएन। ‘नाम्चेमा तीन दिन आराम गरेँ।’

‘नाम्चेमा नसोचेको घटना भयो। हरिसिद्धिमा हर्मन बेकरीमा काम गर्नुभएको चार जना दाइहरुले थाहा पाउनु भएछ।’ ललितपुरको केटी सगरमाथा चढ्न आएकी, बिरामी भएर आराम गरिरहेकी छिन् भन्ने थाहा पाएपछि उनी बसेकै होटलमा फोन आयो र भेट्न बोलाए। सुरुमा जान मन थिएन। जब उनी गइन्, ‘त्यहाँको वार्म वेलकमले मलाई धेरै खुसी बनायो र अनुभूति गरायो कि मेरो कामसँग कतिको खुसी जोडिएको छ।’

नाम्चेबाट सुरु भयो सगरमाथाको बेस क्याम्प यात्रा, त्यतिबेला साथीहरु तेस्रो क्याम्पको यात्राको लागि हिँडेका थिए। खुम्बु आइसफलमा लिन गइन्। उनी पनि क्याम्पमा जुत्ता लगाएर हिड्न अभ्यास गरेकी थिइन्। साथीहरुले क्याम्प १, २ को यात्राका कठिनाइ सुनाए, उनले भित्रभित्रै आफूलाई तयार बनाइन्। र, साथी फर्केको भोलिपल्ट बिहान साढे दुई बजे हिँडिन्। साथीले भनेका थिए, गाह्रो बाटो हिँड्न नसके शेर्पाले छोडेर जान्छ, त्यसैले कल्पनाले शेर्पाको पाइला पाइला पछ्याइन्। गाह्रो बाटोमा हिँड्दा अझै गाह्रो हुन्छ छ भन्ने सोचे। तर क्याम्प १ आइपुग्यो जस्तो नै लागेन, उनको इच्छाशक्तिले उनलाई अझै अगाडि लैजान प्रेरित गरिरहेको थियो।

हिमालमा गएपछि उनले धेरै कुरा सिकिन्। ‘एउटा महत्वपूर्ण कुरा भनेको हाम्रो शरीरलाई हामी निर्देशन गर्न सक्छौँ’, उनी भन्छिन्, ‘हामी हाम्रो शरीरलाई शारिरिक रुपमा निष्क्रिय बनाइरहेका छौँ, गाह्रो भयो भनेर प्रयास गर्दैनौँ। स्कुटरमा अफिस जान्छौँ तर हामीलाई गाह्रो भइरहेको हुन्छ। तर चाहेमा स्वास्थ्यले पनि त्यही अनुसार एडजस्ट गर्छ मात्र मनमा नियन्त्रण हुनुपर्‍यो।

पहिलो यात्राबाट पुनर्जन्म भयो


यात्रा सुरु हुन्छ तर टुङ्गिन्छ अथवा बीचमा रोकिन्छ त्यो अनिश्चित छ। सन् २०१४ मा पनि सगरमाथा उक्लने आँट गरेकी कल्पना दुर्घटनामा परिकी थिइन्। यो अनिश्चितताको यात्रा यात्रामा मात्र सिमित रहन्छ अथवा जीवनको आयुसँग पनि जोडिन्छ त्यो उनले जान्न चाहिनन्। त्यो बेलामा ७ दिन कोमामा रहेकी थिइन् र बल्ल बल्ल ठीक भयो ।

ठीक भएपछि सुमेरु हस्पिटलका डाक्टर कमलले उनलाई अब यो प्रयास नगर्नु भनेका थिए। उनको जवाफ थियो, हामी कहिले नमर्ने मान्छे हो र? जुन प्रयासको म लागि परेको हो, त्यो म पुरा गरेरै छोड्छु।’ जीवनको केहि ग्यारेन्टी छैन, स्कुटरमा यात्रा गरिन्छ। यति धेरै दुर्घटना हुन्छ। उनलाई लाग्यो यो पुनर्जन्म अपूरो काम पूरा गर्नलाई नै भयो। उनले सोच्दै सोचिनन्, ‘म मरेँ भने के हुन्छ?’ उनले यात्रा तय गरिन्।

तर यो पटकमा त्यस्तो भएन। उनलाई सगरमाथाले स्वीकार्‍यो। ‘सगरमाथा जोकोहीले पनि ‘ट्राई’ गरेको हुन्छ। तर पूरा गर्ने सबै हुँदैनन्। सगरमाथा प्रकृति हो र प्रकृतिले हामीलाई स्वीकार्‍यो।’ उनीले सफल अरोहण गरिन्।

सगरमाथा किन?


उनी ललितपुरका एेतिहासिक गाउँलाई उपयुक्त पर्यटन क्षेत्रको रुपमा चिनाउन चाहन्थिन्। यसको लागि उनलाई एउटा नाम पनि चाहिएको थियो।

सगरमाथा आरोहण उनलाई परिपक्व महिलाको पहिचान बनाउने माध्यम बन्यो। उनलाई परिस्थितिले केहि गर्नुपर्छ भन्ने सिकायो र यो परिस्थितिले उनलाई सगरमाथाको यात्रा सम्म पुर्‍यायो।

घरमा कसैलाई थाहा थिएन


सगरमाथा आरोहण गर्ने महिला टोली कल्पनासम्म उनको अनुभव सुन्न पुगेका थिए। कुरै कुरामा जाने हो त भन्ने कुरा आयो, ‘जाम् न त भन्ने लाग्यो। घरमा नभनी तालिम लिन जान थालेँ।’ बुहारी, पाँच वर्षको छोराकी आमा। जागिर पनि खाइरहेकी छिन्। घरमा सगरमाथा चढ्ने महिला टोलीलाई ‘ओरिएन्टेसन दिन लागेको’ भन्नेसम्म मात्र जानकारी थियो। टुरिजमको पत्रकार भएकोले सम्बिन्धित निकायसँग सम्पर्क गराइदिने भनेर उनले ढाँटेकी थिइन्।

यो उनको दोस्रो प्रयास थियो, पहिलो पटक त्यति गाह्रो भएन। दोस्रोपटक सजिलो भएन। किनभने पहिलो पटक असफल भएपछि आफन्त, परिवार सबैले थाहा पाए, हिमाल के हो? यो यात्रा कति कठिन छ। जाउँ भन्ने अवस्था नभएकोले ढाँटिन्।

सधैँ श्रीमती सगरमाथा आरोहीसँग व्यस्त भएकाले श्रीमानले सोधेका पनि हुन्। उनले झुटले मनाइन्। झुट बोल्दाबोल्दै रक क्लाइम्बिङ, वाल क्लाइम्बिङ सबै सकिइसक्यो। रोशा बस्नेत, प्रियालंक्ष्मी कार्की, देउराली चाम्लिङ र रोजिता बुद्धाचार्यसँग बसेको फोटो सार्वजनिक भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो महिला पत्रकार सगरमाथा आरोही टोलीलाई शुभकामना दिएको समाचार बाहिर आएपछि घरमा थाहा भयो। यो नोभेम्बरको कुरा हो। जाने बेलासम्म पनि बोलचाल भएन। ‘म सम्बन्ध जोगाउने प्रयासमा थिएँ, कुरा गर्दा झगडा होला भनेर म चुप लागेँ।’

‘दोलखामा हिमाल चढ्ने अभ्यास गर्न जाँदा सासूलाई ‘म एक महिना आउँदिन’ भनेँ। हिमाल चढन् जान लागेको भनिन।’

उनले धुलिखेलमा पुगेपछि एउटा सन्देश पठाइन्। ‘मैले तपाईँको अपमान गरेको होइन। म सक्छु भन्ने लागेको छ। सन् २०१४ मा असफल भएको ट्यागलाई रिमुभ गर्नू पर्ने छ।’ उनले दोलखामा अभ्यास आरोहण सफल भएपछि फोन गरिन्। त्यो भन्दा अगाडि आएका सबै म्यासेज, फोनलाई उनले जवाफ दिइनन्।

म निर्दयी आमा होइन


सुत्केरी भएको तीन महिनामा कल्पनाले रक क्लाइम्बिङको प्रतियोगिता जितिन्। उनलाई घरमा यस्को लागि अनुमति थिएन। तर उनले गरिन्। धेरैले निर्दयी आमा भने, भन्छन् पनि। कामको लागि धेरैजसो समय घरभन्दा बाहिर हुँदा छोराको लागि समय खोई? यो धेरैले गर्ने प्रश्न हो। ‘मलाई दुधेँ छोरामो माया नलाग्ने होइन, तर यसको मतलब अब मैले केही गर्नु हुँदैन भन्ने होइन।’ उनले आफ्नो छोरालाई कहिले पनि कमजोरीको रुपमा लिइनन्। उनले भनिन्, ‘उसलाई जब मैले गर्न लागेको कुरा थाहा हुन्छ, तब उसले नजानेर पनि मलाई मोटिभेट गर्छ। उसको हेरचाहको लागि मेरो भन्दा धेरै राम्रो आमा हुनुहुन्छ।’ उनी आफ्नो छोरालाई पनि ‘एक्टिभ’ बनाउन चाहन्छिन्। उनले गरको कामबाट छोराले प्रेरणा लिओस् भन्ठािन्छन्।

सासू र बुहारीको एक अर्कामा विश्‍वास


सासूलाई भाग्यसँग तुलना गर्ने हो भने कल्पना आफूलाई भाग्यमानी ठान्छिन्। ‘मेरो सासू श्रीमान् भन्दा पनि सपोर्टिभ।’ उनले केही जानकारी नदिई काम गर्दा रिस उठ्छ होला, तर उनी सासुलाई तनाव होस् भन्ने चाहन्नन्। ‘सासु र बुहारीको झगडा’ जुन कथाको रुपमा बाहिर आएको छ, त्यो उनीहरुको हकमा लागू हुँदैन। ‘सासु बुहारीको बीचमा अन्डरस्टान्डिङ राख्नको लागि बुहारीले अलि धेरै कन्ट्रिब्युट गर्नुपर्छ जस्तो लाग्छ।’ सासुको त्यो बेलाको समय र अहिलेको समयलाई बुझाउन जरुरी छ।

सासुले सधैँ आमा बनेर उभिनुभएको छ भने कल्पनाले आफ्नो बुहारीको धर्म हरसम्भव निर्वाह गरेकी छन्। ‘घरमा काम हुँदा, खेती गर्दा म अफिस बिदा लिएर बस्छु।’ उनी भन्छिन्, ‘सबैभन्दा ठूलो समस्या सासूलाई विश्वास नगर्दा आउने हो, मलाई मेरो सासुमाथि ठूलो विश्वास छ।’

पत्रकारिता र जीवन


उनी पत्रकारिताको विद्यार्थी होइन, गल्ती नगरी प्रहरी हिरासतमा परेका ठूलाबुवालाई छुटाउन सफल भएपछि उनको पत्रकारिता यात्रा सुरु भयो। उनी अलि जिद्दी छिन्। राम्रो कामको लागि ज्यान दिएर लागि पर्छिन् र जसरी पनि पूरा गर्छिन् । यतिबेला आफ्नो प्रयासले ठूलोबुवालाई छुटाउन सफल भएपछि उनी पत्रकार भइन्।

पत्रकारिताको सुरुवाती दिनमा उनी साइकलमा हिँड्थिन्, गाउँमा उनलाई बिग्रेकी केटी भन्थे, तर ठूलो बुबालाई जेलमुक्त गरेपछि उनलाई तिनैले ‘छोरी भनेको यस्तो हुनुपर्छ’ भने।

उनी आफ्नो करियरमा धेरे सिरियस छिन्। उनलाई केही पाउने इच्छाशक्ति छ, त्यसैले उनले जति काम गरेपनि थाकेको अनुभव गरिनन्। इच्छा भएपछि थकान कम हुन्छ। उनी भन्छिन्,‘जहाँ इच्छा त्यहाँ उपाय।’

सगरमाथाको चुचुरोमा न कुनै मूर्ति छ, न कुनै मन्दिर। कथामा सुनेको भगवान भन्दा पनि प्रकृतिको शक्ति उनले महसुस गरिन् र त्यसले आफूलाई त्यहाँ तानेको अनुभव गरिन्। उनी त्यसको आशिर्वाद लिन गएकी हुन्।

चुचुरोमा पुग्दा अक्सिजन परिवर्तन गर्ने समयमा उनले पासाङ् ल्हामु शेर्पालाई सम्झिइन्। मे २३ को बिहान उनीहरु चुचुरोमा पुगे र फर्के।

घर फर्कँदा मौसम अलि अनुकुल थिएन। आउने समय भन्दा धेरै ढिला भयो। घरका मान्छे आत्तिएका थिए। उनले सानो छोरालाई सम्झिइन्। कल्पनाका छोरा कसैलाई पर्खनै सक्दैन, दुखी हुन्छ। आमा आउने भनेको दुई दिनसम्म नआइपुग्दा उसलाई कस्तो लाग्यो होला भन्ने मात्र कल्पनाले सोचिन्। मंगलबार ५ बजे एयरपोर्टमा आइपुग्दा सबैले स्वागत गरे। उनलाई छोराले गरेको स्वागतले सबैभन्दा मन छोयो, ‘आफैँले वेलकम ब्याक होम मामु, लेखेको ग्रीटिङ कार्ड बनाएको रहेछ।’ उनले अहिले पनि त्यसलाई सुरक्षित राखेकी छिन्।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू