रोनाल्डो उभिए नेइमारको पक्षमा, भने–रेफ्रीले सुरक्षा दिन सकेनन्

ब्राजिलका लेजेण्ड रोनाल्डोले नेइमारको बचाउ गरेका छन् । नेइमारमाथि रुसमा जारी विश्वकप फुटबलमा विपक्षी खेलाडीले गरेको सामान्य ट्याकलमा पनि असामान्य प्रतिक्रिया देखाएको भन्ने आरोप लागेको छ ।

तर रोनाल्डोले भने नेइमारको बचाउ गर्दै रेफ्रीहरुमाथि नै उनको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । नेइमारले ‘नाटक’ नगरेको बताउँदै रोनाल्डोले विश्वकपमा रेफ्रीहरुले नै उनलाई मैदानमा हुने अनावश्यक ट्याकलबाट जोगाउन वा बचाउन नसकेको बताएका हुन् ।

नेइमारको सामाजिक सञ्जालमा विभिन्न मेमे बनाएर ट्रोल गरिएका छन् । सन् २००२ मा विश्वकप जितेका रोनाल्डोले नेइमारमाथि लागेका आरोप सबै मिथ्या रहेको भन्दै रेफ्रीकै कमजारी देखिएको बताए ।

बार्सिलोना, इन्टर मिलान तथा रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले बुधबार पत्रकारसँग भने, ‘नेइमारमाथि भएका सबै आलोचनाको कुनै तुक छैन । नेइमारविरुद्ध भएका सबै आलोचनाको विपक्षमा छु । रेफ्रीहरुले नेइमारलाई चाहिने जति सुरक्षा दिन नसके जस्तो लाग्छ ।’

नेइमारले मेक्सिकोसँगको अन्तिम १६ अन्तर्गतको खेलमा पहिलो गोल गरे भने अन्तिममा रोबर्टो फिरमिनोलाई गोलका लागि पास मिलाए । सोमबार रातिको खेलमा मेक्सिकोका फुल–ब्याक मिगुएल लायुनले बल नियन्त्रणमा लिने क्रममा नेइमारको गोलीगाँठोमा छोए, तर त्यो बेस्सरी थिएन ।

उनले निकै सावधानी अपनाउँदा पनि छोइएको थियो । तर नेइमारले त्यसलाई ठूलो बनाए । मैदानमा लडे, बेस्सरी कराए । एक छिनपछि उठे । यसले नेइमारको अभियन गर्ने बानी यो खेलमा पनि देखियो । त्यसपछि नेइमारको थप आलोचना भइरहेका बेला रोनाल्डो उनको पक्षमा उभिएका हुन् ।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्