८ समर्थकको नजरमा ८ देश

विश्वकपको उपाधि कसले–किन जित्छ ?

रुसमा जारी विश्वकप फुटबलको उपाधि यात्रामा रहेका टिमको संख्या साँघुरिएको छ । समूह चरण र अन्तिम १६ को खेलपछि उपाधिको सपाना जीवित राख्न सफल भएका टिमको संख्या ८ छ ।

ब्राजिल, बेल्जियम, क्रोएसिया, इंग्ल्याण्ड, फ्रान्स, रुस, स्वीडेन र उरुग्वे अन्तिम १६ मा रहेका आफ्नो प्रतिस्पर्धीलाई पाखा लगाउँदै क्वाटरफाइनलमा आएका छन् । आठै टिम अघि बढ्नका लागि भरपुर प्रयासमा छन् र त्यसका लागि तयारी पनि गरिरहेका छन् ।

यस्तै विभिन्न अड्कलहरु भएका छन् । फ्यानहरुका पनि विश्वकपको उपाधि उचाल्ने सम्भावित टिमका बारेमा आफ्नै धारणा छन् । यस्तै ८ देशमध्ये कसले उचाल्छ होला छ उपाधि, जानौँ यी आठ समर्थकका कुरा ।

लुइस डी क्लिपेले

बेल्जियम

यो विश्वकपमा बेल्जियमले राम्रो गरिरहेको छ । रोबर्टो मार्टिनेजले टिमलाई राम्रो बनाएका छन् । उनले प्रतिबद्धता जनाए अनुसारनै टिमको लय देखिएको छ । समूह चरणका खेल राम्रा थिए ।

तर अन्तिम १६ मा जापानसँगको खेलले बेल्जियमले के गर्न सक्छ भन्ने देखाएको छ । उसले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप जित्न सक्ने सम्भावना देखाएको छ ।

पेड्रो फर्नान्डेस

ब्राजिल

ब्राजिलले अहिलेसम्म उनीहरुबाट आश नगरेको कुरा अहिलेसम्म गरेको छैन । नेइमारको व्यवहारको आलोचना भइरहेको छ, तर उनको खेल कौशल निकै उत्कृष्ट पनि छ । ब्राजिलले पछिल्ला २५ खेलमा मात्रै ६ गोल खाएको छ ।

ब्राजिलको खेलबाट म प्रभावित भएको छ । कप्तान थिएगो सिल्भा चार वर्षअघि घरेलु मैदानमा बेहोरेको खराब अनुभव बिर्सेर नयाँ उचाइ लिने ध्यानमा देखिएका छन् ।

फिलिप कोन्टिन्हो, गाब्रिएल जिसस, पाउलिन्हो, कासेमिरो तथा रोबर्टो फिरमिनोजस्ता खेलाडी रहेकाले पनि आश जागेको छ ।

लुका इमेजिक

क्रोएसिया

समूह चरणमा भएको खेलबाट प्रभावित भएको छ । नाइजेरियामाथिको जित राम्रो थियो । तर त्यो भन्दा उत्कृष्ट दोस्रो खेलमा अर्जेन्टिनालाई सखाप पार्नु थियो । आइसल्याण्डसँगको खेलमा पनि राम्रो देखियो ।

तर अन्तिम १६ मा डेनमार्कसँगको खेलमा त्यस्तो देखिएन । फोक गुमेको देखियो । तर लकको कुरा नै भन्नु पर्छ, अन्तिम ८ मा आइएको छ । अब लुका मोड्रिक, एन्टे रिबिकजस्ता खेलाडीको आडमा उपाधिका लागि ध्यान दिनुपर्छ ।

ज्याक रोइ

इंग्ल्याण्ड

आश गरेभन्दा धेरै राम्रो प्रदर्शन इंग्ल्याण्डले गरिरहेको छ । खेलाडीले विश्वास गर्ने वातावरण बनाएका छन् । आश जगाएका छन् । यसको सबै श्रेय प्रशिक्षक ग्यारेथ साउथगेटलाई जान्छ ।

समूह चरणमा राम्रो देखियो । अन्तिम १६ मा कोलम्बियाको चुनौती पार गरेकाले अब उपाधिको सपना देख्न सकिने अवस्थामा आए जस्तो लागेको छ । ह्यारी केन आफैमा राम्रा खेलाडी छन् भने उनीको नेतृत्वमा रहेको टिमका खेलाडी पनि उत्कृष्ट छन् ।

म्याक्सिम लेसाउनिएर

फ्रान्स

अहिलेको फ्रान्सेली टिम साँच्किै उत्कृष्ट र काउन्टर–अट्याकिङ्ग देखिएको छ । क्षमतावान खेलाडी छन् भने अप्ठ्यारो अवस्था ह्याण्डल गर्न सक्ने खुबी पनि ।

फ्रान्सले टिम खेल खेलिरहेको छ, जुन कुरा विश्वकप सुरुहुने बेला प्रश्न गर्नु पर्ने अवस्थामा थियो । पउल पोग्बा, एन्टोनी ग्रिजम्यान, एन’गोलो कान्टे, बेन्जामिन पाभार्ड, केलियन एमबाप्पेसहितका खेलाडीले विश्वकप दिलाउने क्षमता राख्छन् । हामीले नै जित्ने छौँ भन्ने विश्वास छ ।

इलिया साकोलोभ

रुस

समूह चरण पार गरिन्छ जस्तो लागेको थियो । तर त्यस्तो विश्वासका साथ तय हुनेछ यो यात्रा भन्ने लागेको थिएन । समूह चरणका खेल राम्रा देखिए । अन्तिम १६ मा स्पेनमाथिको जित ‘लक’ थियो होला । तर अब त त्यो जितले धेरै चुनौती सहन सक्ने बनाएको छ रुसी टिमलाई ।

मोरिस एन्डेर्सन

स्वीडेन

स्वीडेनको टिमले राम्रो खेलिरहेको छ । आकर्षक फुटबल त खेलेको छैन तर राम्रो गरिरहेको छ । व्यवस्थापन राम्रो भएका स्वीडिस टिम विश्वकप जित्ने खालको देखिएको छ । डिफेन्स राम्रो रहेकाले पनि आश जागेको हो ।

नटालिया टासिनो

उरुग्वे

हाम्रो टिम यो प्रतियोगितामा निकै तयार देखिएको छ । टिमवर्कले राम्रो गरिरहेको छ । खेलाडीहरु एकअर्काका सहयोगी देखिएका छन् । एडिसन काभानी र लुइस स्वारेज बिचको तालमेल तथा बलियो रक्षापंक्तिका कारण आश लागेको छ ।

स्रोत : द गार्डियन

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्