देउवाका नियुक्ति उल्ट्याउने ओली सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

काठमाडौँ- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा गत भदौ १४ गतेदेखि फागुन २ गतेसम्म भएका राजनीतिक नियुक्तिहरु खारेज गर्ने ओली सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएको छ।

बुधबार राति मन्त्रिपरिषद बैठकले देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि बिहीबार वक्तव्य जारी गर्दै   कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट आपत्ति जनाएका हुन्।

‘मन्त्रिपरिषदले गरेको निर्णयमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएका विभिन्न मन्त्रालय अन्तर्गतका प्राधिकरण, संस्थान, कम्पनी, वोर्ड, बैंक र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेज भएको भनिएको छ। शेरबहादुर देउवा जननिर्वाचित व्यवस्थापिका संसदबाटै निर्वाचित प्रधानमन्त्री भएको, उहाँको मन्त्रीपरिषदले आचारसंहिताका बेलामा भएको आवश्यक नियुक्ति पनि निर्वाचन आयोगको सहमतिमा भएको हो। कानुनसम्मत् तरिकाबाट निश्चित अवधिका लागि गरिएको नियुक्ति बदर गरिनु कानूनी व्यवस्थाको खिलापमा भएकोले सरकारको यो निर्णयको नेपाली कांग्रेस निन्दा गर्दछ,’ शर्माले जारी गरेको वक्तव्यमा उल्लेख छ।

कांग्रेसले सरकारको यो निर्णय तत्काल फिर्ता लिनसमेत सरकारसँग आग्रह गरेको छ। यसबारे जानकारी दिन कांग्रेसले बिहीबार दिउँसो पार्टी कार्यालयमा पत्रकारसम्मेलनसमेत गर्न लागेको जानकारी शर्माले दिएका छन्।

असार २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्