फ्राइड चिकेन पठाइदिनुस् है !

गुफामा फसेका १२ बालकको चिठ्ठी अभिभावकलाई, भने–चिन्ता नलिनुस्

थाइल्याण्डको एक गुफामा फसेका बालकले अभिभावकलाई चिठ्ठी लेखर चिन्ता नगर्न भनेका छन् । झण्डै दुई हप्तादेखि गुफामा फसेका बालकले आफ्ना अभिभावकलाई चिठ्ठी लेखेर भनेका छन्, ‘चिन्ता नलिनुस्… हामी सबै बलिया छौँ ।’

हस्तलिखित चिठ्ठीमा उनीहरुले खानाका लागि आग्रह गरेका छन् । उनीहरुले फ्राइड चिकेन पठाइदिन भनेका छन् ।

उनले चिठ्ठीमा लेखेका छन्, ‘शिक्षक, हामीलाई धेरै होमवर्क  नदिनु होला ।’ यस्तै बालकहरुसँगै गुफामा रहेका फुटबल प्रशिक्षकले छुट्टै चिठ्ठी लेखेर बालकका अभिभावकसँग माफी मागेका छन् ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका छन् ।

२५ वर्षका फुटबल प्रशिक्षक एकापोल चान्टावोङ्गले बालकका अभिभावकलाई सम्बोधन गर्दै लेखेका छन्, ‘सबै बालकका प्यारा अभिभावक, अहिले सबै ठिक छन् । उद्धारकर्मीले हामीसँग राम्रो व्यवहार गरिरहेका छन् ।

सबै छात्रको मैले सकेसम्म राम्रो ख्याल गर्ने प्रतिबद्धता जनाउँछु । सहयोग गर्न आउने सबैलाई धन्यबाद । म सबै बालकका अभिभावकसँग माफी पनि माग्न चाहन्छु ।’

गुफामा फसेका र उनीहरुका परिवारका सदस्यबिच भएको यो पहिलो सञ्चार हो । यो हप्ताको सुरुमा उनीहरु फसेको ठाउँमा टेलिफोन लाइन लैजाने प्रयास गरिएको थियो । तर सफल भएको थिएन ।

यसैबिच गुफामा पानी पसेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । फसेका बालकले पौडी खेल्न नजानेका कारण उद्धार गर्न नसकिएको सरकारी अधिकारीले बताएका छन् । गुफामा फसेका उनीहरुलाई गएको सोमबार बेपत्ता भएको नवौँ दिनमा खोजीकर्ताले भेट्टाएका थिए ।

उनीहरुलाई अहिले गुफामै खाना तथा औषधिको व्यवस्था त गरिएको छ तर गुफामा बर्खाको पानी भरिएकाले उद्धार गर्न सकिएको छैन । उनीहरुलाई उद्धार गर्न गएका थाइ नौसेनाका एक उद्धारकर्मीको ज्यान गएको छ ।

गुफामा जम्मा भएको पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ तर निस्कन मिल्ने गरी पानी घटेको छैन । फसेका बालकले पौडी खेल्न नजानेका लागि उनीहरुलाई उद्धार गर्न पनि सकिएको छैन ।

१२ बालक र उनीहरुका फुटबल प्रशिक्षक गएको जुन २३ मा प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए । चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए ।

उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि उद्धारकर्मीले सम्भावित विकल्प बारे छलफल गरिरहेका छन् ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्