नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । नगरप्रमुख डा. धवल शमशेर राणाले १३ बुँदे घोषणा पत्र जारी गर्दै नगरलाई खुल्ला दिसामुक्त घोषणा गरे ।

खुल्ला ठाउँमा दिसा पिसाब नगर्ने, शौचालयका सेफ्टी ट्याङ्की नालीमा नमिसाउने, खुल्ला ठाउँमा दिसा गरेको पाइएमा ५ सयदेखि पाँच हजारसम्म जरिवाना गर्दै सार्वजनिक गर्नेदेखि खाना खानुअघि र पछि तथा फोहोर छोएपछि हात धुुनुपर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा आफ्ना पशुलाई छाडा नछोड्ने, नगरमा निगरानी समूह गठन गर्ने उल्लेख गरिएको छ । मेयर डा. राणाले नगरमा अझै दश प्रतिशतलाई अझै सुधार गर्न आवश्यक रहेको बताए । उनले घुम्ती शौचालय बनाउन बाँकी रहेको बताए ।

खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा न्यून उपस्थिति रहेको थियो । मेयर डा. राणाले त्यो उपस्थितिलाई खुल्ला दिसामुक्त घोषणा गर्न भएको चुनौतीसँग जोडे । ‘सबैलाई बोलाएको हो, आउनु भएन । यसले पनि हामीले कति चुनौती व्यहोरेर नगरलाई खुल्ला दिसामुक्त घोषणा गरेका छौं भन्ने देखाएको छ, मेयर डा. राणाले भने ।

प्रदेश सांसद मो. याकुव अन्सारीले नगरलाई सफाईमा अगाडि बढाउनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले धेरै चुनौतीको सामना गरेर नगरलाई खुल्ला दिसामुक्त घोषणा गरेको बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिका घोषित भन्दा तीन वर्षपछि खुल्ला दिसामुक्त भएको छ । २०७२ फाल्गुन मसान्तमै नगरलाई खुल्ला दिसामुक्त घोषणा गर्ने भनिएको थियो । नगरले ढिलाई गर्दा जिल्ला नै खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन । जिल्लाका सबै ठाउँमा खुल्ला दिसामुक्त घोषणा भइसकेको छ ।

नगरपालिकाका फोकलपर्सन ओबीराज आचार्यले नगरमा २३ हजार ३ सय २८ घरमा शौचालय बनेको बताए । नगरपालिकाले चेतना नभएर या अटेरी गरेर शौचालय बनाउन नमान्नेलाई प्रहरी प्रशासन लगाएर तह लगाएको थियो । बाहिर दिसा गर्नेलाई पक्राउ गर्दै थुन्न थालेपछि कतिपय स्थानीयले बाध्य भएर शौचालय बनाएका थिए ।

नगरपालिका घोषणा भइसकेकाले अब जिल्लालाई खुल्ला दिसामुक्त घोषणा हुने नगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताए ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्