अलकत्रा उद्योगमा युवा संघको तालाबन्दी

झापा- झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्रा उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ ।

युवा संघले गुणस्तरहीन अलकत्रा उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर निर्माण गरिएका सडक केही समयमै भत्कीन थालेका छन्’, युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भने , “गुणस्तरहीन भएको थाहा पाएपछि हामीले तालाबन्दी गरेका हौँ ।”

शिव निर्माण सेवाले उत्पादन गरेको अलकत्रा प्रयोग गरिएका सबैजसो कालोपत्रे गुणस्तरहीन भएको युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले बताए । उनले विकास निर्माणको काममा गुणस्तरहीन वस्तुको प्रयोग गर्न नमिल्ने बताए ।

जिल्लाको विभिन्न स्थानमा निर्माण भएका सडक गुणस्तरहीन भएको भन्दै स्थानीयबासीले गुनासो गरेपछि युवा संघले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा शिवसताक्षीको धरमपुर–पाराबारी ९ किलोमटर सडक, कनकाई नगरपालिकास्थित लक्ष्मीपुर चोकमा सडक फराकिलो बनाइएको ठाउँ र अर्जुनधाराको जयपुरमा १ किलोमिटर कालोपत्रेको अवस्था गुणस्तरहीन भेटिएको केन्द्रीय सदस्य सापकोटाले बताए ।

यता, उद्योगका सञ्चालक डा.दिपककुमार सिंहले आफ्नो उद्योगबाट उत्पादन भएको अलकत्रा गुणस्तरहीन नभएको दाबी गरे ।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्