डा. केसीको मागको समर्थन गर्दै सरकारविरुद्ध उत्रे जनकपुरका युवा

जनकपुरधाम- डा. गोविन्द केसीको समर्थनमा जनकपुरका स्थानीय युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन्।

चिकित्सा शिक्षामा सुधार, गरिबको पहुँचमा शिक्षा लगायतका माग राखेर लगातार १४ औं पटक अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा शनिवार साँझ समृद्ध नेपाल नामक संस्था सहित जनकपुरका युवाहरु सरकार विरुद्ध सडकमा उत्रेका हुन्।

युवाहरुले डा. गोविन्द केसी र संकटकालीन अवस्थामा हत्या गरिएको छोरालाई न्याय दिलाउन गत केही वर्षदेखि निरन्तर अनशनरत गोरखाकी गंगामाया अधिकारीको माग पूरा गर भन्दै सरकारको विरोधमा नारावाजी गरेका छन्।

लगातार सत्याग्रहमा बसेका डा. केसीको मागलाई वेवास्ता गर्दै सरकार निरंकुश बन्न पुगेको भन्दै लोकतन्त्रमा आएरपनि जनताको आफ्नो कुरा राख्ने स्वतन्त्रता नरहेको र आवाज उठाएपनि कुनै सुनवाई नहुने नगरेकोले सचेत युवाहरुले आज प्रर्दशन गर्न बाध्य भएको समाजिक अभियन्ता राकेश विक्रम साहले बताए ।

उनले भने, ‘देशमा विभिन्न वेतिथिहरु रहेको छ तर अहिले जुन समसमायिक विषय हो, त्यो हो डा. केसी र गंगामायाको माग । स्वास्थप्रतिको छाडापनको सुधार गर्न डा. केसी लगातार ६र७ वर्षदेखी अनशन बस्दै आएका छन् । यस्तै, छोराको लागी अनशन बसेर ३ सय ६२औं दिन श्रिमान गुमाएकी गंगामाया अधिकारी अझैपनि अनशनमै छिन् । तर सरकार रतिभरी पनि सुनेको छैन ।’

यता, विरोध कार्यक्रमको नेतृत्व गरेका समृद्ध नेपालका संयोजक आदित्य नेपालले हामीले डा. केसीको मागमा समर्थन गर्दै सरकारको ध्यानाकर्षण गराउन सांकेतिक विरोध गरेको बताएका छन् । ‘जानकी मन्दिरको छेउमा तत्काल सांकेतिक विरोधमा उत्रेका छौँ तर अझैपनि सरकारले डां केसी र गंगामायाको मागलाई वेवास्ता गरियो भने हामी संर्घषमै उत्रिन्छौँ,’ उनले चेतावनी दिए।

असार २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्