अन्तिम चारको यात्रा–निकै उत्कृष्ट अनुभव

इंग्ल्याण्ड सन् १९९० पछि पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुग्नु उत्कृष्ट अनुभव रहेको प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् ।

क्वाटरफाइनलमा स्वीडेनलाई २–० ले पाखा लगाउँदै साउथगेटको टिम इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

शनिबार राति भएको खेलमा ह्यारी मागुइरी र डेल अलीको गोलबाट इंग्ल्याण्डले स्वीडेनलाई हरायो र उ अब फाइनल भन्दा एक खेलमात्रै पर रहेको छ ।

इंग्ल्याण्डले सेमिफाइनलमा आउँदो बुधबार मस्कोमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । रुसलाई टाइब्रेकरमा हराउँदै क्रोएसियाले अन्तिम चारमा इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो ।

शनिबार रातिको खेलपछि प्रशिक्षक साउथगेटले भने, ‘मलाई आश छ कि घरमा रहेका सबैले आजको रात रमाइलो माने किनकी यस्तो सधैँ हुँदैन ।’

इंग्ल्याण्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेयता फाइनल यात्रा तय गरेको छैन । त्यसपछि उनीहरु अन्तिम चारमा पुगेको यो तेस्रो पटक हो ।

इंग्ल्याण्डले अन्तिम १६ मा कोलम्बियालाई टाइब्रेकरमा हराउँदै क्वाटरफाइनलमा आएको थियो ।

साउथगेटले भने, ‘अन्तिम १६ को खेलमा कोलम्बियासँग अतिरिक्त समयको खेल र त्यसपछिको पेनाल्टीका कारण यो खेल फरक हुने भन्ने थाहा थियो । यो खेलमा हाम्रो सबै शक्ति र भावना समेटिएको थियो ।’

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्