‘हामीसँग उत्कृष्ट खेलाडी थिएनन्, तर टिम थियो’

रुसका प्रशिक्षक स्टानिस्लाभ चेरचेस्वभले विश्वकप फुटबलको क्वाटरफाइनलमा पराजित भएपछि पनि टिमका खेलाडीको प्रशंसा गरेका छन् ।

आफ्नो टिमले राम्रो फुटबल खेलेको र त्यसको प्रतिफल अहिलेको भन्दा पनि राम्रो हुनु पर्ने भए पनि यहाँसम्मको यात्राका लागि खेलाडीको भूमिका र टिममाथिको विश्वास महत्वपूर्ण रहेको प्रशिक्षक चेरचेस्वभले बताएका छन् ।

आयोजक रुस शनिबार राति भएको खेलमा क्रोएसियासँग टाइब्रेकरमा ४–३ ले पराजित भयो । रुस सोभियत युनियन भंग भएपछि पहिलो पटक विश्वकप फुटबलको क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो ।

रुसले अन्तिम १६ मा स्पेनलाई टाइब्रेकरमा हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो । त्यसपछि विश्वकपमा रुसको आश बढेको थियो र रुसी फ्यानले पनि उपाधिको सपना देख्न थालेका थिए ।

क्वाटरफाइनलमा पनि रुसले क्रोएसियालाई कडा चुनौती दियो । तर टाइब्रेकरमा उसको फैलिँदै गरेको सपनामा अहिलेका लागि पूर्ण बिराम लाग्यो ।

विश्वकप अघिसम्म गम्भीर आलोचना खेपेका प्रशिक्षक चेरचेस्वभ विश्वकपका खेलमा टिमले जित निकाल्दै अघि बढेपछि राष्ट्रिय हिरोका रुपमा उदायका थिए । क्रोएसियासँगको हारले घरेलु टोलीलाई मुटु नै कुँड्याउने अनुभवत दिएको छ । तर प्रशिक्षक चेरचेस्वभले खेलाडीलाई ट्रिब्युट दिन भने छोडेनन् ।

उनले भनेका छन्, ‘हामी पराजित भयौँ, यो लाजको कुरा हो, मलाई लाग्छ हामी यो भन्दा राम्रो नतिजाका लागि योग्य थियौँ । हामीले राम्रा खेलाडीको साथमा राम्रो खेल्यौँ र राम्रो योजनाका साथ । तर गोल खायौँ, गोल खानु हुँदैनथ्यो, के गर्नु फुटबलमा यस्तै हो ।’

राष्ट्रिय टोलीका पूर्व गोलरक्षक पनि रहेका ५४ वर्षका चेरचेस्वभले खेलाडीलाई मात्रै नभएर समर्थन र साथका लागि सबै फ्यानलाई पनि धन्यबाद दिएका छन् । रुसले आफ्ना पाँचवटा खेल विभिन्न चार रंगशालामा खेलेको थियो ।

प्रशिक्षक चेरचेस्वभले भने, ‘म खेलाडीप्रति आभारी छु… सबै समर्थकलाई साथका लागि धेरै धन्यबाद, हामी यहाँसम्म आइपुग्नुमा उहाँहरुको भूमिका ठूलो छ ।’

क्रोएसियासँगको खेलमा धेरै अवसर आएको र त्यसलाई आफूहरुले चाहिने जति उपयोग गर्न नसकेको प्रशिक्षक चेरचेस्वभले स्वीकार गरेका छन् । तर ती अवसरहरुकै कारण पनि गल्ती भएको हुन सक्ने उनले बताए ।

हारका बाबजुद पनि आफूहरु फुटबललाई जीवित राख्नका लागि तल्लिन रहने उनको भनाई छ ।

उनले भने, ‘अरु टिममा जस्तो हामीसँग स्टार खेलाडी थिएनन् होला, तर हामीसँग राम्रो टिम थियो र हरेक खेलमा राम्रो गर्ने प्रयास भइरनै रह्यो, त्यसका लागि सबैप्रति आभारी छु ।’

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्