राज्यद्वारा अपहरणको शैलीमा संस्कृत विश्वविद्यालयका उपकुलपतिको विदेश भ्रमण रद्द

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीको आदेशमा क्यानडाको भ्यानकुभरमा हुन लागेको विश्व संस्कृति सम्मेलनमा जान लागेका नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालाको यात्रा अन्तिम समयमा प्रहरी लगाएर रद्द गराइएको छ ।

डा. कोइरालालाई केही समय प्रहरी नियन्त्रणमा राखी अन्तिम समयमा यात्रा रद्द गराइएको हो । शनिबार बेलुका करिब ६ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगी चेक–इन गर्न लागेको अवस्थामा प्रहरीले सम्बन्धित एयरलाइन्स कम्पनीका कर्मचारीलाई डा. कोइरालाको चेक–इन नगर्न आदेश दिएको थियो ।

त्यस लगत्तै डा. कोइरालालाई डिआइजी कमल घर्तीले नियन्त्रणमा लिए र आफ्नै गाडीमा राखी प्रधानमन्त्री निवास बालुवाटार लगे, प्रधानमन्त्री तथा कुलपछि केपी ओलीको आदेशको हवाला दिँदै ।

‘मलाई एक घण्टासम्म कुराइयो । डिआइजी बिदा भए । र पछि प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवरले, आज प्रधानमन्त्री व्यस्त भएकोले भोलि ३ बजे मात्रै भेट सम्भव हुन्छ, भन्ने जानकारी दिनुभयो’ डा. कोइरालाले देश सञ्चारसँग भने, ‘मलाई अपराधीको व्यवहार गरियो । र अपमानित गरियो ।’

बेलुका ८ बजेको उडानमा उनको बुकिङ्ग रद्द गरिएपछि उनलाई सामान लिन आउनु भनियो र यसरी प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेपमा विमानस्थलबाटै एउटा प्राज्ञको आधिकारिक यात्रा सरकारी अपहरणको शैलीमा टुंगियो ।

१७ औँ विश्व संस्कृत सम्मेलनमा सहभागिताका लागि शिक्षा मन्त्रालयले गएको पुसमा नै अनुमोदन गर्दै ३५ लाख बजेट छुट्याएको थियो ।

ओली सरकार आएपछि अर्थ मन्त्रालयबाट त्यो रकम धेरै भएको र त्यसलाई १० लाख गर्ने मौखिक जनाउ दिए पनि औपचारिकता दिइएको थिएन ।

सन् २०२४ मा नेपालले १९ औँ विश्व संस्कृति सम्मेलनको आयोजना गर्दैछ । अहिलेको यो सम्मेलनमा त्यसको तयारी बारे पनि केही छलफल गर्ने एजेण्डा भएको कोइरालाले बताए ।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्