एक करोड १२ लाखसहित वीरगञ्जबाट एकजना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक करोड १२ लाख रुपैयाँसहित वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार १८ वर्षका युवकलाई पक्राउ गरेको हो ।

आफ्नै घरमा एक करोड १२ लाख रकम लुकाएर राखेको अवस्थामा वीरगञ्ज–१२ रानिघाटका राहुल केशरी पक्राउ परेका हुन् ।

हुण्डी कारोबार गरेको रकम लुकाएर राखेको विशेष सूचनाका आधारमा उनलाई रकमसहित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य थापाले जानकारी दिए ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ । प्रहरी नायव उपरीक्षक थापाले श्रोत नदेखाएर कसैले पनि १० लाख भन्दा बढी रकम घरैमा राखेको भए पनि त्यसलाई अबैध मान्ने गरिएको बताए ।

पक्राउ परेका युवक केशरीले उक्त रकम आफूलाई भारतीयहरुले राख्न दिएको प्रारम्भिक बयान दिएको पनि थापाले जानकारी दिए ।

प्रहरीका अनुसार १८ वर्षका राहुल वीरगञ्जमा रहेको एक पुनर्स्थापना केन्द्रमा काम गर्दै आएका व्यक्ति हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्