साहाराको खोजीमा मृतक मजदुरका छोराहरु

नि:शब्‍द अनुहार, एकहोरो आँखाबाट आँसु, अन्धकार भविष्‍य !

जोमसोम लोमाङ्थान बाटो निर्माणका लागि मजदुरी गर्न गएका मृतक जितमायाका छोराहरुलाई सान्त्वना दिदै कक्षाका शिक्षक। तस्बिर-जमुनाबर्षा शर्मा/देश सञ्‍चार

पोखरा- थाहा छैन जिन्दगीको कुन प्रहर अन्तिम हुन्छ? कुन बोलीले सारा जिन्दगीको अभिव्यक्ति दिएर बिलाउँछ? त्यस्तै एउटा आवाजसँगै विलिन भयो विवश र विशेषणको आमा बुबाको ममता र अभिभावकत्व। गत हप्ता मात्रै आमा जीतमाया र बुबा मौसमले जेठो छोरा विवशलाई ‘राम्रोसँग पढ्नु, भाईको ख्याल गर्नू, नआत्तिकन बस्नू’ भनेर फोनमा भनेका थिए।

त्यो नै उनीहरुको छोरालाई अन्तिम बोली बन्यो। विवश जत्ति आमा बुबाले भनेका शब्द सम्झन्छ, उत्ति उनी भक्कानिदै आँखाबाट आशुको मुल फुटाउँछन्। कुनै सपना छैन, यतिबेला न त कुनै उद्देश्य चारैतिर अन्धकार देखिरहेका उनी एकोहोरो शोकको आँशुमा डुबिरहेका छन्।

पोखराको नयाँ बजारमा बस्दै आएका घर्ती दम्पत्तिले यसअघि एक छोरालाई गाडीको ठक्करबाट गुमाइसकेका थिए। दुई छोराको उज्जवल भविष्यकालागि चिन्तित उनीहरु वैशाख महिनामा जोमसोम लोमाङ्थान बाटो निर्माणका लागि मजदुरी गर्न पुगेका थिए।

दुई हप्ताअघि मौसम घर्ती गएका थिए भने त्यसपछि जीत मायाले भाईकी छोरीलाई दाङबाट बोलाएर दुई छोराको साथ लगाएर पनि आफू पनि मजदुरीका लागि गएकी थिइन्। जीत मायाकी भाईकी छोरीले पोखरामा ११ कक्षा पढ्दैछिन्। यतिबेला उनी परीक्षा सकेर दाङ गएकी छिन्।

छिमेकी आशकुमारी घलेले दुई बालकको हेरचाह गर्दै आएकी छिन् । ‘जितमायाले केहि पहिले फोन गर्न टाढा जानु पर्ने चार्ज पनि हुँदैन । कुरा गर्न पनि गाह्रो छ। छोराहरुको ख्याल गरिदिनु भनेकी थिइन्।’ आशकुमारीले अन्तिम बोलिका शब्दहरु सम्झीइन् उनका आँखा आँशुले भरिए । ‘के भनेर सम्झाउने खै ?

‘यस्तो विपत कसैलाई नपरोस्’


यस अघि सेती नदिमा बालुवा चालेर जिविकोपार्जन गर्दै आएका घर्ती दम्पत्ति बर्षायामका कारण सहज नभएपछि विरुवा कन्स्टक्सन प्रालि मार्फत मजदुरी गर्न मुस्ताङ पुगेका थिए।

आर्थिक विपन्‍नताले आँखाका दुई नानीको उज्जवल भविष्यको लागि विकट बस्तीमा मजदुरी गर्न पुगेका घर्ती दम्पत्ति दैवको लीलामा परे। रोल्पा थवाङका घर्ती कहिले पोखरा आए, थाहा छैन।

आर्थिक विपन्‍नताले जिविको पार्जनका लागि भौतारिरहेका उनीहरु पोखरा नयाँ बजारमा भने विगत ७ वर्षदेखि बस्दै आएको छिमेकी बताउँछन्। तीन वर्ष मलेशिया बसेर फर्किएका मौसमले अबका बाँकी जीवन परिवारको साथमा संघर्ष गरेरै बिताउन चाहान्थे।

१२ वर्षीय जेठो छोरा विवश नयाँ बजार स्थित मैत्री चिल्ड्रनमा कक्षा ७ मा पढ्छन् भने सानो ६ वर्षिय छोरा विशेषण कक्षा एकमा अध्ययनरत छन्। घटनाबारे जानकारी पाएर मर्माहत बनेका विवशका कक्षा शिक्षक गणेश परियारले विवशलाई काखमा लिएर सान्त्वना दिइरहेका छन्। वरिपरीका छिमेकीले पनि सम्झाइरहेका छन्।

विवशकी फुपु डल्ली कुमारी घर्ती रोल्पाबाट पोखरा आएकी छिन्। दुई भदाको अन्धकार भविष्यले उनलाई निकै पिरोलेको छ। एकातिर भाई बुहारीको अकल्पनिय निधन र अर्कोतिर दुई भदाको अन्धकारयुक्त भविष्य। डल्ली माया घर्ती दुई नाबालकको साहारा बन्‍न चाहान्छिन् तर आफ्नो कमाई नभएको आर्थिक परनिर्भरताले उनले निर्णय गर्न सकेकी छैनन्।‘श्रीमान्‌को इशाराा चल्नुपर्छ। मेरो कमाइ छैन, सौता छे, के गरौ?’ विवश र विशेषणको संरक्षकत्व कसरी ग्रहण गरेर उनीहरुको भविष्य सुरक्षित गर्ने डल्लिमाया झन् चिन्तित छन्।

विवश र विशेषणको कक्षा १० सम्मको अध्ययन निशुल्क गर्ने निर्णय विद्यालय प्रशासनले गरिसकेको छ। विद्यालयका संचालक झपट रानाभाटले यो दुखद घटनाले विद्यालय परिवार विक्षिप्त भएको भन्दै कक्षा १० सम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेको छ यद्यपि विवश र विशेषणको पालन पोषणको भने समस्या देखिएको बताए।

स्कुलका मेघावी छात्र हुन् विवश र विशेषण अतिरिक्त क्रियाकलापमा समेत विवश पुरस्कृत हुँदै आएका छन्। रानाभाटले भने ‘विवश र विशेषणको बर्तमानको अन्धकारबाट भविष्यको उज्यालोमा डोर्‍याउने विद्यालय प्रशासनले सक्दो पहल गर्नेछ।’

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्