अनुमति नलिई जान लागेकाले उपकुलपतिलाई रोक्यौँ: गृहमन्त्री

काठमाडौँ-  सराष्ट्रिय सभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले अपमानको शैलीमा संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको कदमको बचाउ गर्दै सरकारको अनुमति नलिइ विदेश जान लागेकाले उनलाई रोकेको दाबी गरेका छन्।

आइतबार राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसदहरुले उपकुलपति कोइरालालाई क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा नियन्त्रणमा लिएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको बताएपछि गृहमन्त्री थापाले जबाफ दिएका हुन्।

थापाले अनुमतिबिना नै कोइराला विदेश उड्न लागेको थाहा पाएपछि उनलाई विमानस्थलबाटै रोक्न बाध्य हुनुपरेको स्पष्टीकरणसमेत दिए।  उपकुलपति कोइरालाको नेतृत्वमा सात सदस्यीय टोली शनिबार क्यानडातर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा पुर्‍याएको थियो। कोइरालालाई रोकिए पनि बाँकी छ जना भने क्यानडा उडेका थिए।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्