प्रधानमन्त्री तथा कुलपति ओलीको अक्षम्य चरित्र

मुलुकको सर्वोच्च कार्यकारीको ‘चरित्र’बारेको टिप्पणी अत्यन्त दुखद विषय हो, सञ्चार माध्यमकै लागि पनि। तर, जब प्रधानमन्त्रीको नाम र उनको सरकारी आवास एउटा प्रतिष्ठित नागरिक र विश्वविद्यालयका उपकुलपतिको आवागमनमा अवरोध पुर्‍याउन प्रयोग हुन्छ, त्यो पनि ‘अपहरण’ शैलीमा, त्योभन्दा निन्दनीय, आपत्तिजनक तथा खेदजनक विषय मुलुकका लागि अर्को हुन सक्दैन।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सञ्चारमन्त्री गोकुल बास्कोटाले यो विषयमा राष्ट्रियसभामा दिएको अभिव्यक्तिले उनीहरु प्रजातान्त्रिक व्यवस्थाका मन्त्री नभएर विवेक बन्धक राखेका दुई आदेशपालकका रुपमा प्रस्तुत भएका छन्।

यो विषय र त्यसले चर्काउने विवादले अन्तत:  केपी ओलीलाई एउटा असहिष्णु र अप्राजातान्त्रिक व्यक्ति अनि गैरजवाफदेही शासकका रुपमा स्थापित गर्नेछ, यदि उनले तत्काल यसमा क्षमायाचना गरेनन् भने।

क्यानडाको भ्यानकुभरमा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा नेपाली टोलीको नेतृत्व गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलमा खटिएका प्रहरीले ‘चेकइन’ बाट रोकेनन् मात्र, डीआइजी कमलबहादुर डीटीले प्रधानमन्त्री तथा कुलपतिको हवाला दिँदै उनलाई बालुवाटार पुर्‍याउँछन्, आफ्नो नियन्त्रणमा।

के प्रधानमन्त्री पदमा आसीन व्यक्ति विश्वविद्यालयको कुलपतिको पदेन जिम्मेवारी र त्यसमा जोडिएको गरिमा, मर्यादाको भार खप्न र अविचलित रुपमा त्यसलाई प्रदर्शित गर्न लायक हुन्छन्?

विमान छुट्ने पक्का भएपछि प्रधानमन्त्री निवासमा उनलाई राखिएको कोठाबाट मुक्त गरिन्छ, प्रधानमन्त्री व्यस्त भएकाले अर्को दिन भेट्ने सन्देशका साथ।

यो समग्र प्रकरण नियोजित थियो। तर, यसको अत्यन्त दुखद पक्ष के हो भने कुलपतिको पदमा आसीन व्यक्तिले आफ्नो शक्ति र सामर्थ्यको यो शैलीमा दुरुपयोग गर्नु। यसले एउटा अर्को प्रश्नमा विचार गर्न जरुरी छ, के प्रधानमन्त्री पदमा आसीन व्यक्ति विश्वविद्यालयको कुलपतिको पदेन जिम्मेवारी र त्यसमा जोडिएको गरिमा, मर्यादाको भार खप्न र अविचलित रुपमा त्यसलाई प्रदर्शित गर्न लायक हुन्छन् त? यो प्रश्नमा निर्णय सम्भवत: ओली स्वयंले उनीभन्दा केही बुझ्ने व्यक्तिहरु यो मुलुकमा छन् जस्तो उनलाई लाग्छ भने उपयुक्त छलफलपछि निर्णय लिनु आवश्यक भएको छ।

यो निर्णयले अन्य उपकुलपतिहरु तर्सिने छैनन्, बरु प्रधानमन्त्री या कुलपतिप्रतिको उनीहरुको सम्मान हराउनेछ। अनि प्राज्ञहरुको स्वतन्त्र आवागमन,  भ्रमणबाट नेपालका प्रधानमन्त्री किन तर्सिँदै छन्, त्यसको बढी चासो उत्पन्न हुनेछ।

प्रधानमन्त्रीको सरकारी निवास एउटा प्राज्ञको अपमानका लागि प्रयोगले प्रधानमन्त्रीले आफ्नै हैसियत र सम्मान गुमाउने वातावरण पनि सिर्जना गरेका छन्।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्