भेरी अञ्‍चल अस्पताललाई प्रदेश स्तरीय बनाउन सम्भाव्‍यता अध्ययन

नेपालगञ्‍ज -नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउनका लागि सभ्याब्यता अध्ययन थालिएको छ ।सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा, प्रदेश नम्बर ५, बुटवलले बाँकेको नेपालगञ्ज, दाङको तुलसीपुर र रुपन्देहीको बुटवलमा प्रदेशस्तीय अस्पताल स्थापनाका लागि सम्भाब्यता अध्ययन गरिरहेको छ।

यी ठाउँमा नयाँ अस्पताल खोल्नु भन्दा भइरहेका अस्पताललाई स्तरीय उन्नति गरेर प्रदेशस्तरीय बनाउने निष्कर्षमा पुगेका सामाजिक विकास मन्त्री सुदर्शन बरालले सम्भाब्यता अध्ययनका लागि ओम्रकाश न्यौपाने, गणेश भट्टराईको टोलीलाई खटाएको छ। टोलीले आइतबार नेपालगञ्जमा भेरी अञ्चल अस्पतालको सेवा सुविधा, भौतिक पूर्वाधार, जनशक्तिका बारेमा बुझेको छ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रमेश केसी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्का, भेरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा, डाक्टरहरु राजन पाण्डे, कृष्णप्रसाद आचार्य, नरैनापुर गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद साहले भेरीको स्तर उन्नति गर्नुपर्नेमा जोड दिए।

वि.सं. १९२० मा स्थापना भएको भेरी अञ्चल अस्पतालको बीर अस्पतालको जत्तिकै पुरानो इतिहास भएपनि जति हुनुपर्ने हो त्यति विकास हुन सकेको छैन । भेरीको क्षमता एक सय ५० बेडको छ। सय बेड सरकार र ५० बेड अस्पताल विकास समितिले पूर्ति गरिरहेको छ । मेसु डा. थापाले ५० वर्षअघि अस्पताल जुन गतिमा थियो, अहिले पनि त्यही अवस्थामा रहेको बताए।

प्रमुख जिल्ला अधिकारी केसीले प्रदेशको अस्पताल बनाउन के के मापदण्ड हुनुपर्ने हो स्पष्ट पार्न आग्रह गरे। भेरी अञ्चल अस्पतालले ५, ६ र ७ नम्बर प्रदेशका बिरामीलाई सेवा दिइरहेको छ। यस क्षेत्रका ५० लाख जनताको भरोस भेरी अञ्चल अस्पताल बनेको छ। क्षेत्रीय, उपक्षेत्रीय अस्पतालहरुबाट भेरीमा बिरामी रिफर हुने गर्दछन्।

प्रदेश सरकारले प्रदेशस्तरीय अस्पतालका लागि प्रथम वर्षका लागि दुई करोड दश लाख रकम छुट्याएको छ । यति बजेटले अस्पतालहरुको स्तर उन्नतिमा खासै काम हुने देखिदैन। महाशाखाका जनस्वास्थ्य निरीक्षक न्यौपानेले मन्त्री बरालले भने अनुसार नेपालगञ्ज, तुलसीपुर र बुटवलका अस्पतालको सम्भाब्यता अध्ययन थालेको बताए।

‘हामी पहिला नेपालगञ्ज आयौं । तुलसीपुर बुटवलमा जान्छौं, तीनै ठाउँको अध्ययन गरेपछि त्यहाँका सरोकारवाला व्यक्तिले भनेको कुरा जस्तातस्तै मन्त्रीसमक्ष पुर्‍याउँछौं, न्यौपानेले भने।

नेपालगञ्जका जनप्रतिनिधि, प्रशासक, डाक्टरहरुले तिनै ठाउँको अस्पतालको स्तर उन्नति गरेर एक ठाउँमा दुई÷तीन वटा विशेषज्ञ सेवा प्रदान गर्न सुझाव दिए । भेरीलाई सरकारले सिकलसेलको उपचार केन्द्रको रुपमा विकास गरिरहेको छ। मेसु डा. थापाले भेरीलाई तत्काल पाँच सय बेडको अस्पतालका रुपमा घोषणा गर्न माग गरे । केही दिनअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादव आउदा पनि यही माग राखिएको थियो।

वर्षमा पाँच हजार डेलिभरी
भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा वर्षमा करिव पाँच हजार सुत्केरी हुने गरेका छन्। मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर बनेको भेरीमा वर्षमा साधारण तीन हजार ६ सय, अप्रेसनबाट ८ सय ७८ र जटिल पाँच सय सुत्केरी हुने गरेको मेसु डा.प्रकाशबहादुर थापाले जानकारी दिए।

मेसु डा. थापाका अनुसार, अरु अस्पतालहरुले केही सीप नलागेपछि सुत्केरी हुन भेरीमा पठाउने गरिन्छ। ‘भेरी सरकारी अस्पताल पर्‍यो लिन्‍न भन्‍न पाइन्‍न, जटिल अवस्थाका सुत्केरीका केसहरु हामीकहाँ आउने गर्दछन्, डा. थापाले भने।

अस्पतालमा धेरै विशेषज्ञ सेवा सञ्चालन रहेपनि भौतिक पूर्वाधारको कमी रहेको थापाले बताए।३८ जना कन्सल्टेन्ट, ३१ जना नर्स, विकास समितिबाट १५ जना डाक्टर र २६ जना नर्स राखिएका छन्।

दिनप्रति दिन विशेषज्ञ सेवाहरु थपिदै गएका छन्।भेरीमा दिनमा १० वटासम्म पोष्टमार्टम हुन्छन्।लाशलाई राख्ने फ्रिज भने एउटा पनि छैन।

असार २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्